बुधबार, भाद्र ३ गते २०८३

कृषि उद्यममा साना किसान सहकारीः उत्पादनदेखि बजारीकरणसम्मको योगदान


चैत्र ६, २०८२ शुक्रबार
कृषि उद्यममा साना किसान   सहकारीः उत्पादनदेखि बजारीकरणसम्मको योगदान

 

चितवन । सहकारी संस्थाहरुले सदस्य र समुदायको उन्नतिको लागि  योगदान पु¥याउँदै आएका छन् । त्यसैमध्येको एक ज्वलन्त उदाहरण हो, चितवनको राप्ति नगरपालिका–२ पिप्लेमा रहेको साना किसान कृषि सहकारी संस्था । 

आफ्नो कार्यक्षेत्रभित्रका वासिन्दालाई सहकारीमा आवद्ध गराई उनीहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा यो संस्थाले उल्लेख योगदान गरेको छ । आयआर्जनका स–साना क्षेत्रमा ऋण लगानी गरी संस्थाले सदस्यहरुलाई आर्थिक रुपमा सबल बनाउँदै आएको छ । विशेषतः सदस्यहरुले संस्थाबाट ऋण लिएर कृषि, पशुपालन, तरकारी खेती ,गाई तथा भंैसी र  कुुखुरा पालन गरी राम्रो आम्दानी गर्दै आएका छन् । सदस्यहरुले कृषि कर्ममार्फत् मुलुकलाई आत्मनिर्भर बनाउन थोरै भएपनि टेवा दिएका छन् ।

साना किसान कृषि सहकारीमा सदस्य बनेका प्रेम बहादुर खुलालले तरकारी खेती गर्दै आएका छन् । उनले करिब १२ ÷१३ बर्ष अगाडिदेखि कृषि कर्म गर्दै आएको भए पनि विगत ४ बर्ष अगाडिबाट भने ‘खुलाल कृषि फर्म’ दर्ता गरी व्यवसायिक रुपमा कृषि कर्म गर्दै आएका छन् । सुरुमा काँक्रोे, भिन्डी खेती गरेका खुलालले र अहिले गोलभेडा खेती गर्दै आएको बताए । खुलालले २२ कठ्ठामा तरकारी खेती गर्दै आएको र वर्षमा ३ पटकसम्म गोलभेडा उत्पादन गर्छन् । ४ लाख ५० हजार लगानी गरेका उनले यस बर्ष गोलभेडाको राम्रो मूल्य आएकाले खर्च कटाएर ८ लाख माथि आम्दानी गर्न सकेको सुनाए । बजार भाउ एजेन्टले नै तोक्ने र हेटौंडा र नारायणघाटमा नै गोलभेडाको खपत हुने गरेको उनले बताए । यस बर्ष साढे ६ कठ्ठा जमिनमा खरबुजा खेती समेत सुरु गरेको भन्दै उत्पादित कृषि उपजको राम्रो मूल्य आए काम गर्न जागर लाग्ने उनको भनाई छ । 

साना कृषि सहकारीमा एक घर एक सदस्य बन्न पाइने भएकाले श्रीमति संस्थाको सदस्य बनेको र बिना धितो ५ लाख ऋण लिएर कृषि कर्म गर्दै आएको उनले बताए । संस्थाले साना किसानहरुलाई माथि उठाउन सहज रुपमा वित्तीय सेवा साथै कृषिका लागि आवश्यक पर्ने मलखाद समयमा उपलब्ध गराउने र बजारको उचित व्यवस्था गर्ने सके उत्पादनमा वृद्धि गर्न सकिने खुलालको भनाई छ । २०६५ सालमा साना किसानले कृषि तालिम दिएको र त्यही तालिमबाट अभिप्रेरित भएर कृषि पेशामा लागेको उनले सुनाए । संस्थाबाट अनुदानमा रासायनिक मल, विउ र प्राविधिक सहयोग प्राप्त गरे साना किसानले कृषि उत्पादन बढाउन सक्ने उनले सुनाए । कागजी आधारमा अनुदान दिने भन्दा पनि फिल्डमा नै पुगेर वास्तविक कृषि कर्म गर्नेहरुलाई अनुदानको व्यवस्था मिलाउनु पर्नेमा उनको जोड छ । २०५८ सालमा वैदेशिक रोजगारमा गएका खुलालले ३ बर्षको विदेश बसाईपछि स्वदेशमा नै केही गर्ने सोच बनाए । सुरुमा साना किसान सहकारी मार्फत् ६० हजार विना धितो ऋण लिएर कृषि कर्म सुरु गरेका खुलालले दुई दशक समय यसै पेशामा बिताइसकेका छन् । 

श्रीमति राधिका खुलाल समुह नं. १३३ कि सदस्य हुन् । उनीहरु दुबै जना मिलेर कृषि कर्म गरिराखेका छन् । सहकारीको सानो सहयोगबाट कृषि कर्म सुरु गरेका खुलाल दम्पत्तिले अहिलेसम्म आइपुग्दा राम्रो प्रगति गरेका छन् । 

त्यसैगरी सोही संस्थाका अर्का सदस्य राज कुमार सुवेदी बाख्रा पालन गर्दै आएका छन् । साना किसानको सदस्य बनेकी श्रीमति सुनिता सुवेदीले उक्त संस्थाबाट २ लाख ऋण लिएर बाख्रा पालन गर्दै आएको बताइन् । साना किसानले ऋणका साथै तालिम समेत प्रदान गरको राज कुमार बताउँछन् । बाख्रा पालनबाट एकडेढ बर्षमा मात्रै आम्दानी हुने भएकाले ऋणको ब्याज केही सस्तो भए सहज हुने उनको भनाई छ । उन्नत जातका बाख्रापालन गर्न दाना महँगो भएको र खर्च कटाएर आम्दानी कम हुने भएकाले कृषकका लागि सहुलियत ब्याजदरमा ऋण दिनुपर्नेमा उनको जोड छ । ५० वटा बाख्रापालन गर्दै आएका उनले साना किसानकै कारण आफुले बाख्रापालन सुरु गरेको बताए । विगत १० बर्षदेखि बाख्रा पालन गर्दै आएको र यसबाट जिविकोपार्जन राम्रो भएको उनले सुनाए । 

सरकारले निःशुल्क औषधी उपलब्ध गराउने भनेपनि भेटनरीहरुले निःशुल्क केही पनि नदिएको उनले गुनासो गरे । “खसी बोका बिरामी हुन्छ औषधी दिन्छन् कि भनेर गयो तर दिदैनन्, बाहिर पसलमा किन्नु भन्छन्, एक पटकमा १२÷१५ सय खर्च हुन्छ ।” सरकारले भेटनरीबाट औषधी दिने भनेपनि नपाएकोमा उनको दुखेसो छ । वडामा प्राविधिक कर्मचारी व्यवस्था भए पनि औषधी नाम मात्र लेखिदिने तर कुनै दवाईमुलो नपाउँदा समस्या भएको सुवेदीको भनाई छ । नगरपालिकाले बीमाको सुरु गरेको भए पनि त्यसको प्रभावकारिता माथि प्रश्न उठ्ने गरेको छ । प्राविधिक सेवा उपलब्ध भए कृषकको लागत कम भई नाफामा वृद्धि हुने उनको विश्वास छ । पिपिआर र सिपिआरको खोप दिए पनि कसरी व्यवसायलाई बढाउन सकिन्छ भन्नेर बेला बेलामा खोरमा नै आएर हेरिदिने र सरसल्लाह दिन उनको माग छ । 

पिप्ले २ का किसान नर बहादुर राई साना किसानमा सदस्य बनेको ५ बर्ष भयो । उनले ८ वटा गाइपालन गरी दैनिक ४० लिटर दूध उत्पादन गर्दै आएका छन् । उनले उत्पादन गरेको दुध डेरीमा विक्री गर्नेगर्छन् । साना किसान सहकारी संस्थामा ऋण लिएर यो व्यवसाय गर्दै आएको उनले सुनाए । साना किसानबाट तरकारी खेती, गाई तथा बंगुरपालन एवं वैदेशिक रोजगारको लागि ऋण लिएको उनले सुनाए । दुग्ध व्यवसायबाट घरखर्च चलाइ केहि रकम बचत गर्न सकिने उनको भनाई छ । विगत ३ बर्षदेखि गाई पालन सुरु गरेका राईले आफ्नै घरमा बसेर विदेशकै सरह आम्दानी गरिरहेको सुनाए । 

अर्का सदस्य हेम बहादुर खनालले पनि साना किसान सहकारीबाट ऋण लिएर पोल्ट्री व्यवसाय गर्दै आएका छन् । विगत ९ बर्षदेखि सो व्यवसाय गर्दै आएका खनालले संस्थाबाट १५ लाख ऋण लिएर व्यवसाय सुरु गरेको थिए । संस्थाबाट लिएको ऋण चुक्ता गरिसकेको बताउने खनालले १५ सय कुखुरा पाल्दा राम्रो मुुल्य आयो भने ५÷६ लाखसम्म कमाउन सकिने बताए । दुई सय भन्दा माथि रेट हुँदा नाफा कमाउन सकिने भन्दै उनले त्यो भन्दा कम मुल्यमा विक्री हुँदा भने घाटा हुने उल्लेख गरे । साना किसानले कुखुराको दाना सप्लाई र औषधी उपचारको व्यवस्था मिलाई दिन सके कृषकलाई सहुलियत हुने उनको भनाई छ । नीजि व्यापारीसँग भन्दा संस्थासँग काम गर्न सहज र बढी लाभ लिन सकिने भएकाले पोल्ट्री व्यवसायीका लागि आवश्यक सहजिकरण मिलाइदिन संस्थासँग उनको अनुरोध छ । 

सोही क्षेत्रमा बसोबार गर्ने डिल्लीराम राई ५ बर्षदेखि पशुपालनको काम गर्दै आएका छन् । दैनिक ८० लिटर दुध विक्री गर्दै आएका राई पेशाबाट सन्तुष्ट छन । गाईभैसी दुबै पालन गर्दै आएका उनले साना किसानबाट ऋण लिएर पशुपालन र मौरी पालन गरेका छन् । उनले त्यसका लागि ३५ लाख ऋण लिएका छन् । साना किसानको ऋण सहयोगले व्यवसाय राम्रो गर्न सकेको उनले सुनाए । कृषि कर्मबाट पनि राम्रो आम्दानी गर्न सकिने भए पनि फ्याटमा एकरुपता नहुँदा दूधको रेटमा तलमाथि हुने गरेको उनको गुनासो छ । साना किसानले ऋणका अलवा अनुदानको समेत व्यवस्था मिलाइदिन उनकोे माग छ । पशुपालनमा वृद्धि गर्न चाहेको र त्यसका लागि गोठ थप्ने र पशु वृद्धि गर्ने योजना उनको छ । संस्थाले धान रोप्न समेत सहयोग गरेको र अन्य धेरै सुविधा दिएको भए पनि गोठ निर्माणका लागि कतैबाट अनुदान मिलाइदिए व्यवसाय वृद्धि गर्ने योजनामा उनी छन् । 

पिप्ले ३ का सदस्य कृष्णप्रसाद पाठकले साना किसानबाट ऋण लिएर बेकरी व्यवसाय भर्खरै सुरु गरेका छन् । गत असारबाट व्यवसाय सुरु गरेको र २ करोडको हारहारीमा लगानी गरेका उनले उद्योगबाट ब्रेड, केक, बिस्कुट, पप ,टोष्ट, दुनोट उत्पादन गरी बजारमा विक्री गर्ने गरेका छन् । १६ जनालाई प्रत्यक्ष रोजगारी दिएका पाठकले हेटौंडादेखि अमरापुरीसम्म आफ्ना उत्पादन विक्री गर्दै आएका छन् । सुरुवाती अवस्था भएकाले नाफा कमाउन नसकेपनि घाटा भने नरहेको उनले जनाए । १५ बर्ष सम्म सहकारी संस्थाका जागिर खाएका उनले आफ्नै व्यवसाय गरौं भन्ने सोचले यो उद्योग स्थापना गरेको बताए । “दाईले बेकरी लाइनमा काम गरेको ३५ बर्ष भन्दा बढी भयो ।  दाजुभाई मिलेर व्यवसाय सुरु गरेका हौं । साना किसानबाट २० लाख रुपैयाँ ऋण लिएका छौं । संस्थाले व्यवसाय गर्ने सदस्यहरुलाई न्युनतम ब्याजदरमा अधिकतम ऋण लगानी गरे काम गर्न सहज हुने थियो ।” अरु बैंकमा ९ प्रतिशत ब्याजदरमा ऋण पाइने भएकाले त्यो भन्दा कम ब्याजदरमा साना किसानले ऋण लगानी गरे अरु थुप्रै व्यवसायी बजारमा थपिने उनको बुझाई छ । यसले आर्थिक क्रियाकलाप वृद्धि हुने र संस्थाको पुँजी परिचालन भई स्थानीयस्तरमा नै रोजगारी सृजना हुने उनले बताए ।

मुख्य प्रवन्ध चन्द्रराज ओलीले कार्यक्षेत्र भित्रका सदस्यहरुलाई आर्थिक रुपमा सबल बनाउन संस्थाले कृषि तथा उत्पादनमुलक क्षेत्रमा ऋण लगानी गर्दै आएको बताए ।  ४९१ समुह मार्फत २ हजार ३ सय सदस्यलाई संस्थाले सेवा दिँदै आएको उनले जानकारी दिए । संस्थाको राप्ती नगरपालिकाको १, २ र ३ गरी तीन  वडा कार्यक्षेत्र रहेको र विशेषत सदस्यहरुको आय आर्जन हुने क्षेत्रमा सहुलियत ब्याजदरमा ऋण लगानी गर्दै आएको उनको भनाई छ । पशुपालन, तरकारी खेत, दुग्ध व्यवसाय र उद्यम व्यवसायमा नै संस्थाको बढी लगानी रहेको भन्दै उनले हिजाको  दिनमा खरको छाना भएका सदस्यको आज टिन र पक्की घर बनाउन सफल भएको बताए । संस्थाबाट लिएको ऋणलाई सही सदुपयोग गरी सदस्यहरुले आर्थिक रुपमा समृद्धि हासिल गर्न सकेका हुन् । आर्थिक रुपमा मात्र नभई सदस्यहरुको चेतनाको स्तर समेत वृद्धि भएको छ ।

सदस्यहरुको आय आर्जनमा वृद्धि भएपछि छोराछोरीलाई राम्रो शिक्षा दिक्षा समेत दिन थालेको उनले सुनाए । ‘हिजोको दिनमा साहुमहाजनबाट ३६ प्रतिशत ब्याजदरमा ऋण  लिनुपथ्यो, सहकारीले १० प्रतशित ब्याजमा नै ऋण दिन्छ, समयमा ऋणको साँवा ब्याज भुक्तानी गर्ने सदस्यलाई संरक्षित पुँजी फिर्ता कोषबाट पनि दिन्छ, संस्थाका कारण सदस्यलाई धेरै सहुलियत मिलेको छ ।’ उनले भने ।  संस्थाले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी सदस्यलाई वित्तीय चेतना दिएका कारण उनीहरुमा वित्तीय सचेतना समेत बढेको छ । नाफालाई भन्दा पनि सदस्यको समृद्धिलाई पहिलो प्राथमिकता दिएको र संस्थाको सेवाबाट उनीहरु सन्तुष्ट रहेको उनको भनाई छ । 

 संस्थाको सुरुवात 

806bdbf7-8da2-4888-8ebd-1dfc4eb01619.jpeg

२०५२ सालमा स्थापना भएको संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका सदस्यहरुको जीवनमा व्यापक परिवर्तन ल्याउन सफल भएको छ । हिजो केहि पनि नभएका विपन्न वर्गका मानिसलाई घरदैलो अभियानमार्फत् सदस्य बनाएर उनीहरुकै आर्थिक सामाजिक रुपान्तरण गर्न सकेको छ । दुरदराजका जनतालाई संस्थामा सदस्य बनाई उनीहरुको जीवनमा ठुलो परिवर्तन ल्याउन सकेको संस्थाको दावी छ । हिजोको दिनमा बिहान बेलुकाको गाँस जुटाउन समेत हम्मे हुने सदस्यहरुको साना किसान सहकारीकै कारण आज सम्पन्नतामा पुगेका छन् ।

संस्थामा आवद्ध ९० प्रतिशत सदस्यको जीवनस्तर परिवर्तन भएको अध्यक्ष गुरुङको भनाई छ । संस्थाको कार्यक्षेत्रभित्र धान खेती, तोरी खेती र दुग्ध उत्पादनका साथै बाख्रा पालनका लागि प्रचुर सम्भावना भएको उनले बताए । सरकारले तोकेको समर्थन मुल्य पाउने हो भने ती पेशाबाट किसानले राम्रो लाभ लिन सक्ने उनको भनाई  छ । प्रशस्तै बनजंगल र राप्ती खोलाको क्षेत्र भएकोले कृषि र पशुपालनको लागि सम्भावना अधिक रहेको उनले सुनाए । वडाबाट प्राविधिक सहयोग मिलेको भन्दै उनले नगरपालिकाबाट भने भनेजति सहयोग नपाएको गुनासो गरे ।

संस्थाको शेयर पुँजी ३ करोड १३ लाख,जगेडा कोष ५ करोड, जोखिम कोष ३ करोड २० लाख, बचत ४८ करोड ५० लाख र ऋण लगानी ४५ करोड ५० लाख रहेको छ । कुल सदस्य मध्ये १२ सय सदस्यले संस्थाबाट ऋण लिएर उद्यम व्यवसायका साथै विभिन्न कार्य गर्दै आएका छन् । सामुहिक जमानीमा ३ लाख र धितोमा ३० लाखसम्म संस्थाले ऋण लगानी गर्दै आएको छ । 

अध्यक्ष आफैं प्रेरणाको स्रोत 

63fdac20-5a33-4566-aca4-4c79babe58f0.jpeg

संस्थाका अध्यक्ष  कृष्ण गुरुङ आफै सदस्यहरुका लागि प्रेरणाको स्रोत रहेका छन् । उनी सदस्यहरुलाई मात्र कृषि गर्न भन्दैनन् आफै पनि कृषि कर्ममा सक्रिय छन् ।  उनले विगत १२ बर्षदेखि माछा पालन र कुखुरा पालन गर्दै आएका छन् । यस वर्षदेखि नयाँ व्यवसाय केरा खेती सुरु गरेको उनले बताए । सय घार मौरी, भैसी र गाई पालन गर्दै आएका गुरुङले गत वर्ष ५ टन मह संकलन गरेका थिए । गाई पालन मार्फत् दुग्ध व्यवसायमा श्रीमतिले सघाउने गरेकी छिन् । माछा, मौरी र पोल्ट्रीजन्य व्यवसायबाट गुरुङले खर्च कटाएर वार्षिक १२ देखि १५ लाख रुपैयाँ अम्दानी गर्ने गरेका छन् । आफुलाई किसान भन्न रुचाउने अध्यक्ष गुरुङ आफैले काम गरेर अरुलाई पनि कृषि कर्म गर्न उत्प्रेरित गर्नुपर्छ भन्ने मान्यता राख्छन् ।

आफु नगर्ने तर अरुलाई मात्र अह्राउनु नेतृत्व नभएको उनको बुझाई छ । कर्ममाथि विश्वास गरेकै कारण यो संस्थाको अध्यक्ष हुन आइपुगेको उनको प्रतिक्रिया छ । २०७९ को निर्वाचनबाट संस्थाको अध्यक्ष बनेका उनी तीन कार्यकाल सञ्चालक समिति र एक कार्यकाल उपाध्यक्ष बने । स्थापना कालदेखि सो सहकारीका सदस्य बनेका गुरुङको समुह नं. ६९ हो । आफ्नो भविष्य निर्माणको सुत्रधार नै साना किसान भएको उनले बताए । सुरुमा १० लाख कठ्ठा जग्गा धितो राखेर ५ लाख ऋण नपत्याउएको साना किसान सहकारीले आफ्नो मेहनत, लगनशीलता र कर्म देखेर पछि बोलाएर नै ऋण लगानी गरेको उनले स्मरण गरे । आज संस्थाकै कारण जीवनमा कायापलट गर्न सकेकोमा उनी गर्व गर्छन् । संस्थासँगको ऋणको कारोबारका कारण व्यवसायको वृद्धि गर्न सकेको उनको भनाई छ । व्यवसायबाट १० कठ्ठा जग्गा किन सफल भएको उनले सुनाए । भविष्य यही संस्थामा जोडिएर उज्ज्वल भएको भन्न गुरुङ धक मान्दैनन् । 

कृषिमा आधुनिकीकरणको थालनी 

संस्थाले पराम्परागत कृषिबाट मात्रै आर्थिक क्रान्ति गर्न सम्भव छैन भन्ने मान्यताकासाथ आधुनिकीकरणको सुरुवात गरेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको लागत साझेदारीमा चारपाङग्रे धान रोप्ने मेसिन खरिद गरेको छ । गत बर्ष संस्थाले सदस्यहरुलाई टे« मा विउ राख्ने तरिका सिकाई धान उत्पादनमा वृद्धि ल्याउन सघाएको थियो । यस बर्ष भने ५० विगा खेतको लागि संस्थाले नै सामुदायिक नर्सरी राखी मेसिनमार्फत सदस्यको धान रोपिदिने भएको छ । संस्थाले धान रोपिदिने र कृषक आफैंले धान कटानी गरी विक्री गर्नेछन् । चैते धानका लागि आवश्यक पर्ने रासयनिक मलको अभाव हुन नदिन संस्थाले यस अघि नै मलको जोहो गरिसकेको छ ।

संस्थाका आफ्नै परियोजना

संस्थाले सदस्यलाई मात्रै उद्यमी बनाएको छैन आफैंले समेत विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ । अध्यक्ष कृष्ण गुरुङका अनुसार संस्थाले २ सय घार जति मौरीपालन गरेको छ । त्यसैगरी तोरी मिल सञ्चालन गरी किसानले उत्पादन गरेको  तोरीलाई उचित मुल्य प्रदान गर्दै आएको छ । यसले गर्दौ बिचौलियाको अन्त्य भएको र उनीहरुले भन्दा प्रति कुइन्टल ५ सय बढी दिएर खरिद गर्ने गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।संस्थाले उत्पादन गरेको तेल सहुलियत मुल्यमा विक्रीवितरण गर्ने गरेको भन्दै उनले बजारको भन्दा ५० रुपैयामा कम मुल्यमा बेच्ने गरेको सुनाए । संस्थाले नाफा भन्दा सेवाको भावनाले काम गर्दै आएको छ ।

संस्थाले सहकारी राइस मिल सञ्चालनको लागि भवन निर्माण गरिरहेको छ । कार्यक्षेत्र भित्रका सदस्यहरुले उक्त मिलमार्फत धान कुटानीपिसानी गर्न पाउनेछन् । त्यस बापत सदस्यले धानको भुस भने संस्थालाई दिनुपर्ने हुन्छ । विद्युत र सवारी चालकको लागत भुसमार्फत् कभर हुने संस्थाको विश्वास छ । त्यसका साथै संस्थाले कोसेली घर निर्माण गर्दैछ । सदस्यहरुलाई अन्तरसमुह मार्फत् कृषि उत्पादनमा लगाउने त्यसका लागि तालिम दिने संस्थाको योजना छ । सदस्यले उत्पादन गरेका कृषि उपजहरुलाई कोसेली घरमार्फत् विक्री गर्ने संस्थाको लक्ष्य छ । नयाँ बर्षदेखि कोसेली घर सञ्चालनमा ल्याइसक्ने तयारी संस्थाको छ । संस्था आफैले पनि कृषि वस्तुको उत्पादन गरी त्यसको ग्रेडिङ तथा लेवलिङ गरी विक्री गर्नेे योजना बनाएको छ । 

संस्थाले सबै पेशा, व्यवसायी, उद्यमी र किसानको डाटा संकलन गरिराखेको छ । डाटा संकलनपछि कुन व्यवसायलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भनेर संस्थाले योजना बनाउने छ ।  मलखाद र विउ उपलब्ध गराउनुका साथै कृषक सदस्यलाई कृषि विमा र प्राबिधिक सुविधा समेत उपलब्ध गराउँदै आएको छ । संस्था बचत ऋणमा केन्द्रीत नभई उदेश्य अनुसार कृषि उत्पादनमा वृद्धिमा लागिपरेको उनको भनाई छ । बचत ऋण सहकारी र कृषि सहकारीबिच आकाश जमिनको भिन्नता रहेको भन्दै उनले कृषि सहकारीले सरकारको तीन खम्बे अर्थनीतिलाई टेवा पुर्याउँदै आएको दावी गरे । कुनै पनि साना किसान कृषि सहकारीमा अहिलेसम्म वित्तीय समस्या नआएको र वित्तीय अनुशासनमा संस्था चलेको उनको भनाई छ।

कृषिमा आधारित संस्था भएकाले सदस्यले धान, तोरी, मकै, तरकारी, दूध उत्पादन गर्दै आएको भएपनि राज्यले तोकेको समर्थन मुल्यको आधा मात्र मुल्य पाउने गरेको उनको दुखेसो छ । “सरकारले धानको मुल्य २८०० तोके पनि किसानले आधामा मात्रा मुल्य पाउने गरेका छन् । यसमा सरकारको ध्यान जानुपर्यो । दूध, तरकारी, केरा र माछाको मुल्य एउटा तोकिन्छ, तर किसानले आधा मात्रा मुल्य पाउँछन्,” उनले भने ।