शनिबार, आश्विन १७ गते २०८३

सहकारी सञ्चालकको कालोसूची जाँच अनिवार्य, कर्जा सूचना केन्द्रमा यसरी दिनुस् आवेदन


आश्विन १६, २०८३ शुक्रबार
सहकारी सञ्चालकको कालोसूची जाँच अनिवार्य, कर्जा सूचना केन्द्रमा यसरी दिनुस्  आवेदन

काठमाडौं । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाका सञ्चालक तथा पदाधिकारीको कालोसूची जाँच गरेर मात्रै फिट एण्ड प्रपर टेष्ट प्रक्रिया अघि बढाइने भएको छ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको सूचनाअनुसार सहकारी संस्थाले आफ्ना सञ्चालक समितिका पदाधिकारीहरू कालोसूचीमा परे–नपरेको जाँचका लागि कर्जा सूचना केन्द्रमा विवरण पठाउनुपर्ने भएको हो।

कालोसूची जाँचका लागि सहकारीले कर्जा सूचना केन्द्रलाई सम्बोधन गरी निवेदन दिनुपर्नेछ। निवेदनमा प्रत्येक सञ्चालकको नाम, बाबुको नाम, बाजेको नाम, नागरिकता नम्बर र नागरिकता जारी भएको जिल्ला खुलाउनुपर्नेछ। त्यससँगै सञ्चालक तथा पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि र कालोसूची जाँचबापतको शुल्क बुझाएको रसिदसमेत पेश गर्नुपर्ने केन्द्रद्वारा जारी सूचनामा उल्लेख छ। कर्जा सूचना केन्द्रले कालोसूची जाँचका लागि प्रति व्यक्ति ३३९ रुपैयाँ शुल्क तोकेको छ।

प्राधिकरणले सहकारीको इजाजतपत्र तथा नवीकरण प्रक्रियामा सञ्चालकको योग्यता, अनुभव, कानुनी तथा वित्तीय पृष्ठभूमिसँगै कालोसूचीको अवस्थासमेत परीक्षण गर्ने व्यवस्था गरेको छ। यसका लागि प्रहरी प्रतिवेदन र कर्जा सूचना केन्द्रबाट प्रमाणित विवरणसमेत नियमनसम्बन्धी प्रणालीमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

karja suchana format.jpeg