शनिबार, आश्विन १७ गते २०८३

क्यान्सरसँग तीन वर्षदेखि लडिरहेकी सहकारीकर्मी श्रेष्ठका लागि सहयोगको अपिल


आश्विन १६, २०८३ शुक्रबार
क्यान्सरसँग तीन वर्षदेखि लडिरहेकी सहकारीकर्मी श्रेष्ठका लागि सहयोगको अपिल

 

काठमाडौं । विगत तीन वर्षदेखि क्यान्सरसँग साहसपूर्वक लडिरहेकी सृजना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष बिमला श्रेष्ठको थप उपचारका लागि सहयोगको अपिल गरिएको छ। इन्द्रसरोवर गाउँपालिका–१, मार्खु निवासी श्रेष्ठको पछिल्लो स्वास्थ्य परीक्षणमा क्यान्सर कोलोनसम्म फैलिएको देखिएपछि थप उपचार आवश्यक परेको भन्दै सहकारी क्षेत्र तथा सर्वसाधारणसँग सहयोगका लागि आग्रह गरिएको हो।

सन् २०२४ मार्चदेखि श्रेष्ठमा पाठेघर तथा अन्डाशयको क्यान्सर देखिएपछि नेपाल क्यान्सर अस्पतालमा ठूलो शल्यक्रिया गरिएको थियो। त्यसपछि उनको १२ पटकसम्म कडा केमोथेरापी गरिएको थियो। उपचारपछि स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको अपेक्षा गरिएको भए पनि पछिल्लो परीक्षणले कोलोनमा समेत क्यान्सर फैलिएको देखाएको परिवारले जनाएको छ।

चिकित्सकको सल्लाहअनुसार अब भारतको राजीव गान्धी क्यान्सर हस्पिटलबाट औषधि ल्याएर नेपालमै थप ६ वटा विशेष केमोथेरापी दिनुपर्नेछ। उपचारसँगै नियमित स्वास्थ्य परीक्षणका लागि भारत आवतजावत गर्नुपर्ने अवस्था रहेको बताइएको छ। लामो समयदेखि भइरहेको उपचारका कारण परिवारको सम्पूर्ण बचत सकिइसकेको र थप उपचारको खर्च जुटाउन कठिन भएको जनाइएको छ।

लामो उपचारका क्रममा आर्थिक कठिनाइमा परेको परिवारले थप उपचारका लागि सहकारी क्षेत्र र आमसमुदायबाट प्राप्त हुने सहयोगले उपचार निरन्तरता दिन ठूलो राहत पुग्ने जनाएको छ। इच्छुक व्यक्ति तथा संस्थालाई परिवार वा सम्बन्धित सहकारी संस्थासँग समन्वय गरी वा दिइएको क्युआर कोडबाट प्रत्यक्ष रुपमा श्रेष्ठको बैंक खातामा रकम जम्मा गरी उपचारमा सहयोग पुर्‍याउन अपील गरिएको छ ।