बर्दियाको ठाकुरबाबा नगरपालिका भुरीगाउँमा रहेको सिको बचत तथा ऋण सहकारी संस्था लि. (सिको साकोस) को नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाले सदस्यहरुको सहजतालाई ध्यानमा राखी ७ स्थानमा इकाइगत साधारणसभा सम्पन्न गरेको हो । सभाले अध्यक्ष दामोदर अधिकारीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, महासचिव प्रकाशकुमार आचार्यद्वारा प्रस्तुत प्रगति प्रतिवेदन तथा आगामी वर्षको नीति तथा कार्यक्रम र कोषाध्यक्ष पार्वती खरालद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२।८३ को आर्थिक प्रतिवेदन तथा चालु आर्थिक वर्ष २०८३।८४ को प्रस्तावित बजेट एवं अनुमानित लक्ष्य पारित गरेको छ ।
२०७५ सालमा सिको, कोशेली र लक्ष्मी सहकारी एकीकरण भइ सिको साकोसको नाममा वित्तीय कारोबार गर्दै आएको अध्यक्ष अधिकारीले सभामा बताए । उनले सहकारी मार्फत् आम सदस्यहरुको आर्थिक सामाजिक तथा साँस्कृतिक रुपान्तरणमा संस्था क्रियाशील रहेको र कार्यक्षेत्रभित्रका अधिकांश महिलाहरुलाई सदस्य बनाई उनीहरुलाई स्वरोजगार बनाउने काममा संस्था लागिपरेको सभामा बताए ।
गत आर्थिक वर्ष असार मसान्तसम्म संस्थामा १० हजार ६ सय शेयर सदस्य आवद्ध रहेको र उनीहरुमार्फत् ४ करोड ९६ लाख शेयरपुँजी, ४४ करोड ८१ लाख बचत संकलन गरी ३७ करोड ९१ लाख ऋण लगानी गरेको उनले जानकारी दिए । संस्थाको जगेडा कोष २ करोड ६० लाख पुगेको छ भने त्यस अवधिमा कुल वासलात ५४ करोड माथि पुर्याउन संस्था सफल भएको छ ।

नयाँ सञ्चालक समिति चयन
सभाले दामोदर अधिकारीको अध्यक्षतामा ४ वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति पनि चयन गरेको छ । संस्थाको उपाध्यक्षमा उदय बहादुर खत्री र कोषाध्यक्षमा शंकर रोकाया निर्वाचित भएका छन् । सञ्चालक समिति सदस्यमा तारा चौधरी, तुलसी सुवेदी, गोपीलाल थारु, लक्ष्मण कुमार गौली, र कविता चौधरी निर्वाचित भएका छन् भने । लेखा सुपरीवेक्षण समिति संयोजक जीवन कुमार शाही र सदस्यहरुमा विनोद कुमार गौतम र सिमा थारु निर्वाचित भएको निर्वाचन उपसमिति संयोजक नवराज ढुंगानाले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष अधिकारीले संस्थालाई सबल, पारदर्शी र भरोसायोग्य अवस्थामा पु¥याउन सहयोग गर्ने शेयर सदस्यको सक्रिय सहभागिता, रचनात्मक सुझाव र अटुट विश्वासप्रति हार्दिक आभार व्यक्त गरेका छन् । विगतका वर्षहरूमा जस्तै आगामी दिनहरूमा पनि सदस्यहरूको बचतको सुरक्षा, सुलभ वित्तीय सेवा, र समुदायकेन्द्रित कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता उनले जनाएका छन्। साधारण सभाले पारित गरेका नीति, निर्णय तथा भावी योजनाहरूलाई अक्षरसः पालना गर्दै संस्थालाई थप सुरक्षित र प्रविधिमैत्री बनाउन सञ्चालक समिति निरन्तर क्रियाशील रहने उनको प्रतिवद्धता छ ।
सहकारीको मर्म अनुरूप “सबैका लागि बचत, सबैका लागि समृद्धि” भन्ने भावनाका साथ हातेमालो गर्दै जिवन्त सहकार्यको अपेक्षा सहित सबैमा उनले आभार प्रकट गरेका छन् ।

नेपालपत्र संवाददाता