दोलखाको मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले २९औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। संस्थाले सातै वटा इकाइको इकाइगत साधारण सभा कार्यतालिका अनुसार भदौ २६ गतेदेखि सुरु गरी असोज ५ गते सम्पन्न गरेको हो । सातैवटा इकाइबाट छनौट भएका इकाइ प्रतिनिधिहरूको निर्णय प्रमाणित सभा भने असोज १० गते संस्थाको मुख्य कार्यालय, मैनापोखरीमा सम्पन्न भएको हो ।
यस वर्षको इकाइगत साधारण सभामा सदस्यहरूको सहभागिता तथा उपस्थितिलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन आधुनिक डिजिटल प्रविधिको प्रयोग गरिएको थियो । संस्थाका अध्यक्ष माधवप्रसाद दहालले २०५४ सालमा स्थापना भएको संस्थाले २९ बर्षको यात्रा सफलताका पार गरेको बताए । उनले यो यात्रा केवल संस्थाको उमेर बढेको मात्र नभई हजारौं सदस्यहरुको विश्वास, सहभागिता र योगदानबाट निर्माण भएको साझा उपलब्धी सज्ञा दिए । अध्यक्ष दहालले स्थापनाकालदेखि नै विभिन्न चुनौतिहरुको सामना गर्दै संस्था दोलखा जिल्लामा नभई बागमती प्रदेशकै उत्कृट,स्थापित र विश्वसनीय सहकारीको रुपमा स्थापित भएको सभामा जानकारी दिए ।

सभामा उनले करिब २२ हजार सदस्यहरुबाट संकलित पुँजीलाई पुन: सदस्यहरुको आवश्यकता अनुुसार कृषि, व्यवसाय,उद्यम तथा आर्या आर्जन वृद्धि गर्ने क्षेत्रमा परिचालन गर्दै आर्थिक सशक्तीकरणमा योगदान पुर्याउदै आएको जानकारी दिए । पारदर्शिता,उत्तरदायित्व र वित्तीय अनुसशानलाई आधार बनाई सदस्यहरुको बचत सुरक्षित रुपमा परिचलान गरी उचित प्रतिफल र गुणस्तरीय सेवा प्रदान गर्दै जाने उनले सभामा जनाए । संस्थाले आगामी दिनमा सदस्यको वित्तीय सुरक्षा,वित्तीय अनुशासन र संस्थागत सुशासनलाई उच्च प्राथमिकता दिँदै जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई थप सुदृढ बनाउने, पुँजीलाई सुरक्षित तथा उत्पादनशील क्षेत्रमा लगानी गर्ने, सदस्यको आवश्यकता अनुसार नयाँ बचत तथा कर्जा योजना ल्याउने र डिजिटल प्रविधिको प्रयोग विस्तारसँगै सेवा प्रवाहलाई सहज र सरल बनाउने नीति लिइएको उनले जानकारी दिए ।
सभामा सचिव लक्ष्मण चौलागाईंले वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । संस्थाले सदस्य हित तथा सामाजिक कार्य,छात्रवृति सदस्य सम्मान तथा सदस्य सहभागिता,नियामकीय पालना तथा सुशासन, बचत तथा ऋण व्यवसाय व्यवस्थापन जस्ता विषयमा संस्थाले गत बर्ष गरेका गतिविधिका वारेमा सभामा प्रस्तुत गरेका थिए । सभामा कोषाध्यक्ष मोहनकुमार खड्काले आर्थिक बर्ष २०८२/८३ को वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै सदस्य २२ हजार २७ जना, शेयर पुँजी १० करोड २४ लाख ७६ लाख,संस्थागत पुँजी ९ करोड १० लाख १६ हजार,बचत संकलन १ अर्ब १३ करोड ५३ लाख, ऋण लगानी ९७ करोड ८२ लाख गरी खुद बचत ९६ लाख ८३ हजार भएको बताए ।
संस्थाले यस आर्थिक बर्षमा बचत १ अर्ब २० करोड २४ लाख संकलन गरी ऋण लगानी १ अर्ब १३ करोड पुर्याउने लक्ष्य लिएको छ । त्यसैगरी संस्थाबाट उपलब्ध सेवाको प्रभावकारिता पहिचान गर्न कार्यक्षेत्र भित्रका ५ सय घरधुरीको सदस्यको सर्वेक्षण गर्ने, कृषि परियोजना सञ्चालन गर्ने सदस्यलाई ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने,पशुपन्छी तथा बाली बीमामा सदस्यको सहभागिता बढाउने र भाखा नाघेको ऋण नियन्त्रण तथा असुली प्रक्रियालाई अघि बढाउने जस्ता नीति लिएको छ ।

यस वर्षको इकाइगत साधारण सभामा सदस्यहरूको सहभागिता तथा उपस्थितिलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन आधुनिक डिजिटल प्रविधिको प्रयोग गरिएको थियो । विगतका वर्षहरूमा सदस्यता नम्बरका आधारमा काउन्टर विभाजन गरी उपस्थिति गराउँदा केही काउन्टरमा भिडभाड हुने तथा सबै सदस्यको सहभागिता व्यवस्थित रूपमा सुनिश्चित गर्न कठिनाइ हुने गरेको थियो । यस वर्ष भने साधारण सभामा सदस्यहरूको लाइभ फोटो, डिजिटल दस्तखत तथा औँठाछाप सहितको डिजिटल उपस्थिति प्रणाली प्रयोग गरी उपस्थिति व्यवस्थापन गरिएको संस्थाले जनाएको छ ।

नेपालपत्र संवाददाता