शनिबार, आश्विन १७ गते २०८३

शुभकामना साकोसको २६औं वार्षिक साधारण सभा, ५ प्रतिशत लाभांश पारित


आश्विन ११, २०८३ आइतबार
शुभकामना साकोसको २६औं वार्षिक साधारण  सभा, ५ प्रतिशत लाभांश पारित

भक्तपुरको  सूर्यविनायकमा मुख्य कार्यालय रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २६ औ वार्षिक साभारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको सभापतित्वमा सम्पन्न साधारण सभाको संस्थाकी ८८ बर्षीय जेष्ठ सदस्य मैयाँ सुजखुले उद्घाटन गरेकी थिइन् ।सभाले आर्थिक बर्ष २०८२÷८३ को वार्षिक प्रगति प्रतविदेन तथा आगामी बर्षको नीति तथा कार्यक्रम,आर्थिक प्रतिवदेन तथा आगामी बर्षको अनुमानित बजेट, आन्तरिक लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ । 

सभामा अध्यक्ष कासुलाले २०५७ सालमा ७५ जना स्थानीय युवा मिलेर स्थापना भएको संस्थाले हालसम्म आइपुग्दा सहकारी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताए । संस्थाले सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा निरन्तर क्रियाशील रहेको जनाए । उनले विगत केही बर्षदेखि समग्र राष्ट्रिय अर्थतन्त्र र वित्तीय क्षेत्रमा देखिएको विविध उतारचढावका बाबजुद पनि सदस्यहरुको विश्वास र कर्मचारीको लनशीलताले लिएको लक्ष्य प्राप्त गर्न सकेको सभामा बताए । 

s k 1.jpeg

संचालक समितिले सदस्यको बचतको सुरक्षालाई मुख्य ध्यान दिएको र कर्जा लगानी गर्दा प्रयाप्त धितो, परियोजनाको सम्भाव्यता र प्रतिफल दिने क्षेत्रमा मात्र लगानी गदै आएको अध्यक्ष कासुलाले सभामा जानकारी दिए । आगामी बर्षहरुमा संस्थाको सेवालाई अझ आधुनिक र प्रविधिमैत्री बनाई सदस्यहरुलाई मोबाइल बैकिङ्ग तथा अनलाइन भुक्तानी सेवालाई थप प्रभावकारी बनाउने उनको भनाई छ । स्थानीयस्तरमा उद्यमशीलताको प्रवद्र्धन गर्न उत्पादनमूूलक तथा प्रतिफल दिने क्षेत्रमा कर्जा परिचालन गर्ने लक्ष्य लिएको उनले सभामा जनाए । संस्थाले बचत तथा ऋणको परिचालनसँगै सदस्यको हित तथा सामाजिक कार्यमा समेत आफ्नो उपस्थिति जनाउँदै आएको अध्यक्ष कासुलाको भनाई छ । 

सभामा सचिव पुष्पलाल तिमिलाले आ.व. २०८२÷८३ को वार्षिक प्रगति प्रतिवेदन तथा आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले यस आर्थिक बर्षमा ७ प्रतशित सदस्यता वृद्धि गर्ने, सदस्यहरुको आर्थिक सहभागिता वृद्धि गरी संस्थागत दिगोपन विकास गर्ने,जगेडा कोषलाई वृद्धि गर्ने तथा भाखा नाघेको ऋणको लागि पर्याप्त जोखिम कोषको व्यवस्था गर्ने सभामा बताए । त्यसैगरी उत्पादनशील क्षेत्रमा ७० प्रतिशत ऋण लगानी गर्ने र ऋण लगानीमा धितो सुरक्षणलाई अनिवार्य गर्ने, समुह बचतमार्फत् लघुऋण परिचालन गर्ने तथा ‘सन्तुष्ट सदस्यः दीगो संस्थ’ भन्ने भावनालई व्यवहारिक रुप दिने उनले जानकारी दिए ।

s k 2.jpeg

सभामा कोषाध्यक्ष धर्मरत्न शाक्यले आर्थिक प्रतिवेदन तथा चालु आ.व.को अनुमानित बजेट प्रस्तुत गरेका थिए । संस्थाले गत असार मसान्तसम्म शेयर पुँजी ११ करोड ९४ लाख ६४ हजार,जगेडा तथा अन्य कोष १७ करोड ७९ लाख ७५ हजार, बचत १ अर्ब ५१ करोड ७२ लाख, ऋण लगानी १ अर्ब १७ करोड ७३ लाख गरी कुल सम्पत्ति १ अर्ब ९५ करोड १८ लाख पुगेको सभामा उनले जानकारी दिए । 

सभाले गत आर्थिक बर्षको नाफाबाट सदस्यहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । संस्थाले व्यापारिक, व्यवसायिक, साना व्यवसायी, हायर पर्चेच, शैक्षिक, कृषि, कर्मचारी, लघुवित, लाइन अफ क्रेडिट, व्यवसाय प्रवद्र्धन, उद्यमी जस्ता क्षेत्रमा ऋण लगानी गर्दै आएको छ । त्यसैगरी संस्थाले ऐच्छिक, दैनिक, गृहिणी, चाडपर्व, जेष्ठ नागरिक, भ्रमण, शिक्षा युवा जस्ता विभिन्न बचत योजना सञ्चालनमा ल्याएको छ । 

सभामा जेष्ठ सदस्य,असल बचतकर्ता,असल ऋणी , विद्यार्थी तथा संस्थामा लामो समय काम गरेका कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । साधारण सभामा ७० प्रतिशत सदस्यको उपस्थिति रहेको प्रमुख कार्यकारी अधिकृत रेश्मी श्रेष्ठले जानकारी दिइन् । 

s k 4.jpeg