राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको लागि नयाँ सूचना जारी गरेको छ । प्राधिकरणले जारी गरेको सूचना अनुसार दर्ता अभिलेखीकरण मापदण्ड २०८२ सातौं संशोधन जारी हुनु अगाडि सञ्चालक समितिको निर्वाचनबाट निर्वाचित भई कार्यकाल बाँकी रहेका पदाधिकारीको हकमा फिट एण्ड प्रपर टेष्ट सम्बन्धी शैक्षिक योग्यता लागू नहुने भएको छ।
त्यसैगरी प्राधिकरणले बचत तथा ऋण मुख्य कारोबार गर्ने संस्थाको इजाजतपत्र नविकरण गर्न आवश्यक पर्ने कागजात बारेमा समेत सूचनामा उल्लेख गरेको छ । प्राधिकरणको २९ औं बैठकबाट स्वीकृत बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरण ( सातौं संशोधन) मापदण्ड हालै जारी गरेको थियो।
प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन इजाजतपत्र नवीकरणका लागि आवश्यक कागजातसहित आवेदन पेस गर्न सूचनामा भनेको छ । प्राधिकरणले आ.व. ०८२/८३ मा सञ्चालन इजाजतपत्र प्राप्त गरेका सहकारी संस्थाले २०८३ असोज मसान्तसम्म तोकिएको ढाँचाअनुसार आवेदन पेस गर्नुपर्ने जनाएको छ। प्राधिकरणका अनुसार नवीकरणका लागि संस्थाको सञ्चालन इजाजतपत्रको प्रतिलिपि, आ. व. २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनको वासलात विवरण देखिने प्रमाणित पृष्ठ, आ.व. २०८१/८२ को करचुक्ता प्रमाणपत्र, सञ्चालक समितिका पदाधिकारी निर्वाचनसम्बन्धी निर्णयको प्रतिलिपि लगायतका कागजात पेस गर्नु पर्नेछ।
त्यसैगरी, ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२’ को दफा ३‘क’ बमोजिम सञ्चालक पदाधिकारी तथा व्यवस्थापकको फिट एन्ड प्रोपर टेस्टसम्बन्धी कागजात, प्रहरी प्रतिवेदन, कारोबार, कर्जा सूचना केन्द्रबाट प्रमाणित कागजात, तोकिएको स्वघोषणा तथा संस्थाको वासलातका आधारमा तयार गरिएको नवीकरण दस्तुरसम्बन्धी विवरण पनि पेस गर्नुपर्ने प्राधिकरणले जनाएको छ।तोकिएको अवधिभित्र नवीकरणका लागि आवेदन पेस नगरेमा नियमावलीबमोजिम थप दस्तुर लाग्ने सूचनामा उल्लेख छ।

नेपालपत्र संवाददाता