बुधबार, भाद्र ३ गते २०८३

सहकारीः बोध र उपयोग

पौष २२, २०८२ मंगलबार
सहकारीः बोध र उपयोग

 

सामाजिक र मानवीय प्रणाली

आवश्यक परेका काम गर्न समुदाय छरछिमेकका मानिस जुटेर पहल लिने कुरा मानिसको सामाजिक चरित्र हो । यो सभ्यताको प्रारम्भबाटै प्रारम्भ भयो । जसै ज्ञान, चेतना र कार्यकुशलता विकास हुँदै आयो, सामाजिक चरित्र र सँस्कृति परिस्कृत हुँदै आयो । विकासका विभन्न चरणहरू पास गर्दै सभ्यताको विकास यात्रा अगाडि आउँदा मानिसका हरेक क्रियाकलापहरू कानुनी परिभाषामा व्यवस्थित हुनु पर्ने भयो । अझ आर्थिक क्रियाकलाप एवं संगठित व्यवसाथिक क्रियाकलापहरू त देशको कानुनी परिधिमा आउँन पर्ने नै भयो । जङ्गली युग, कृषि युग, औद्योगिक युग हुँदै आजको डिजिटल युगमा सभ्यता आईपुग्दा मानवीय सबै गतिविधिहरू कानुनी प्रावधानमा व्यवस्थित हुनु अनिवार्य बन्यो ।

मानिसको सामाजिक चरित्र पनि विकासक्रमका विभिन्न चरणमा आर्थिक गतिविधि र प्रविधि उपयोगको अवस्था अनुसार परिवर्तन भएको पाईन्छ । सामाजिक चरित्र सामाजिक सँस्कृतिको रूपमा लिन सकिन्छ । सामाजिक सँस्कृति आर्थिक गतिविधि र प्रविधि उपयोगको आधारमा सभ्यताको विकाससँगै परिवर्तन हुन्छ । आधुनिक प्रविधिको उपयोग गर्ने र नवउदारवादी आर्थिक प्रणालीको बोलावाला रहेको आजको सभ्यतामा मानवीय सँस्कृति सङ्कटग्रस्त दिशातर्फ उन्मुख छ । ब्यक्ति, परिवार, समुदाय, समाज, राष्ट्र मानवीय मूल्य पातलिदो हुँदै जाने दिशामा जाने हो कि भन्ने आशंका बढेको छ । आर्थिक उपार्जन र भौतिक उपभोगमा मानिसका गतिविधि केन्द्रीत छन । सामाजिकीकरण र सामुहिक भावनालाई दर्बिलो बनाउने आर्थिक गतिविधिको महत्व बढेको छ ।

आर्थिक सामाजिक र सास्कृतिक आवश्यकताका परिपूर्तिका लागि सभ्यताको प्रारम्भदेखि विभिन्न रूपमा अपनाएर आएको सामुहिक प्रयासलाई कुनै ठाउँ विशेषमा त्यहाँका अगुवाहरूले विशेष प्रकारले संगठित प्रयास गरेको इतिहास छ । गौतम बुद्धको संघ प्रणाली र अन्य धार्मिक सम्प्रदायका संगठित अभ्यासहरू परम्पराका रूपमा निरन्तरता पाए । अमेरिकी स्वतन्त्रताका अगुवा, शिक्षाका लागि सबैले गूरू मान्ने वैज्ञानिक बेञ्जामिन फ«याङ्कलिनले सामुहिक रूपमा अपनाएको सामुदायिक कार्यक्रम, युरोप, एसिया र अन्य ठाउँमा असल परम्पराका रूपमा निरन्तर चलि आएका छन् । औद्योगिक क्रान्तिपछिको समयमा उत्पादन, बजार प्रणाली, बैंकिङ प्रणाली आदि विकशित रूपमा प्रयोगमा आए । राज्य, सत्ता, शासन प्रणाली आधुनिक, औपचारिक र कानुनी रूपमा विकास भए । दास, कृषि मजदुर र गरिबहरू कारखानाका मजदुरमा परिणत हुँदै गए भने सामन्तहरू उद्योगका मालिक, व्यापारी र पुँजीपतिमा रूपान्तरण हुँदै गए । सामुहिक आर्थिक क्रियाकलापहरू पनि औपचारिक र कानुनी हुन आवश्यक थियो । उन्नाइसौ सताब्दीको मध्यतिर वेलायतका अगुवा श्रमिकहरूले मानिसको यो सामुहिक कामलाई सैद्धान्तिक सुत्रबद्धता र व्यवहारिक प्रविधिको आविष्कार गरे । यो सामुहिक क्रियाकलापले ’को–अपरेटिभ मुभमेण्ट’ को नाममा विश्वव्यापी रूप लिन थाल्यो । यही समयमा बेलायत, युरोप र उत्तर अमेरिकामा मजदुर आन्दोलन उचाइमा पुगेको थियो । लाखौ श्रमिकहरू आन्दोलनमा सहभागी हुन्थे । कयौलाई मारिन्थ्यो । बेलायतमा प्रजातान्त्रिक आन्दोलन चलेको थियो, यसलाई चार्टिष्ट आन्दोलन भनिन्छ । यही समयमा सामाजवादी विचारको विकास भयो । यही अवधिमा कम्युनिस्ट घोषणापत्र प्रकाशमा आयो । आधुनिक को–अपरेटिभ मुभमेण्टका संस्थापकहरू श्रमिक आन्दोलनका अगुवा थिए । चार्टिष्ट आन्दोलनका पक्षपाति थिए । समाजवादी विचार र भावनाका अनुयायी थिए । सामाजिक अगुवा थिए । सचेत थिए । मानवीय समाज निर्माणको सपना बोकेका थिए । स्वाभिमानी थिए । गरिब थिए तर आफ्नै जीवनकालमा सामाजिक आर्थिक र साँस्कृतिक उन्नति मात्र गरेनन् कि मानव सभ्यताको विकासमा अविष्मरणीय योगदान गरे ।
बिसौं सताब्दीको सुरूतिरै बेलायती उपनिवेश रहेको भारतमा सरकारकै अग्रसर तामा को–अपरेटिभ मुभमेण्टलाई सहकारी आन्दोलनको नामले सुरूआत गरियो । राणाकालको अन्तिमतिर वि. सं. २००० मा नेपालमा पनि को–अपरेटिभ नै नाम अपनाउने केही प्रयास भयो । वि. सं. २०१० मा सहकारी विभाग स्थापना भयो । वि. सं. २०१६ मा संसदले सहकारी ऐन जारी ग¥यो। वि. सं. २०१७ पछि ’को–अपरेटिभ मुभमेण्ट’ लाई साझा अभियानका रूपमा अपनाइयो । वि. सं. २०४८ मा सहकारी ऐन बानाएर फेरी सहकारी कै रूपमा अपनाइएको छ । गणतान्त्रिक नेपालको संविधानमा अर्थतन्त्रको तीनवटा खम्बा सहकारी, नीजि र सरकारी भनिएको छ । सबै राजनीतिक दलहरू सहकारी अभियानको विषयमा एक मत छन्, सबैले महत्व दिएका कुरा गर्छन्।

विश्वका सबैखाले आर्थिक समाजिक र राजनीतिक प्रणाली भएका समाजमा एउटै परिभाषा र सिद्धान्त अनुसार विश्वव्यापी रूपमा अपनाइएको यो प्रणालीलाई विकासक्रमको उल्लेख्य आविश्कारका रूपमा मानिएको छ । आर्थिक, सामाजिक र सबै प्रकारका सङ्कटमा यो प्रणाली सधै दर्बिलो रही योगदान गरेको इतिहास छ । नेपालको वर्तमान अवस्थामा भने सहकारी क्षेत्र आफै सङ्कटमा परेको घटनाबाट सबैले गम्भिर रूपमा सोच्नु पर्ने देखिन्छ । यसको परिभाषा, मुल्य, मर्म–भावना, सिद्धान्त, अभ्यास अनुभव सबै कुरालाई हेर्दा ’को अपरेटिभ’ को उपयुक्त नेपाली शब्द सहकारी नै थियो वा साझा थियो वा अन्य शब्द हुने थियो भन्ने विषयमा कसले सोच विचार गयो होला ? संभवतः यो विषयमा सोच विचार अझै गर्न सकिन्छ । यो प्राज्ञिक तहको सवाल पनि हो । सामान्यतः अरूका सामग्रीहरूलाई सतही उल्था गरेर बनाईका दस्तावेजहरूले कहि कतै मूल मर्मलाई जस्ताको तस्तै अभिव्यक्त गर्न सकेका छैनन् कि । भाषा, परिभाषा, अभिव्यक्ति आदिमा रहेका कमिकम्जोरीबाट बोधमा समस्या आउँने र अभ्यासमा यसको असर देखिने कुरालाई एक पटक पुनरावलोकन गर्नु यो क्षेत्रको विकास परिमार्जन र सुदृढीकरणको एउटा पक्ष हुन सक्छ ।

मर्म, भावना, सिद्धान्त, प्रविधि र अभ्यास एउटै तर आ–आफ्नो भाषाको नाम राखेर विश्व सहकारी आन्दोलनको महत्वपूर्ण हिस्साका रूपमा रहेको अवस्था विश्वका विभन्न देशमा रहेको छ । अझ कतिपय देशमा त छुट्टै सहकारी कानुन नबनाई सहकारीको अभ्यास भएको पाईन्छ । सहकारी चरित्र र व्यवहारले निर्धारित हुने कुरा हो । नेपालमा भने चरित्र र व्यवहारभन्दा सेस्तामूखि अभ्यासको बाहुल्यता बढेको मान्नु पर्ने देखिन्छ । खासमा यो सहकारीको असल अभ्यास होइन, व्यवहारले पनि यही देखाएको छ ।

सहकारीको बुझाई र अभ्यासमा रहेको विधिधता स्वभाविक थियो । यो आफ्नो आवश्यकताले सामुहिक रूपमा पहल गर्ने, एकअर्काकालाई सेवा सहयोग गर्नुपर्ने आवश्यकताले संगठित पहल हुने कुरा नै सहकारी थियो, यो परम्पराकै हिस्साको रूपमा अपनाउने चलन स्वभाविक भयो । यो पद्धति आजको समयमा कसरी अपनाउने, कुन रूपमा यसको औचित्य र उपादेयता रहन्छ, आधुनिक प्रविधिको उपयोग हुने अर्थतन्त्र, बजार व्यवस्था, कानुनी संरचना, विश्वव्यापिकरणको तिब्रता आदि शन्दर्भमा सहकारीको विषयमा यथार्थ बोधको जरूरी छ । मनगढन्ते कहानी र आग्रहका आधारमा सहकारीको उपयोगिताको परिणाम आसातित हुन सक्दैन । बरू ठगी, गैरकानुनी र असामाजिक चरित्रले प्रदुषित हुने अवस्थाले बढावा पाएको देखियो ।

बोध र अभ्यास

सहकारी के हो ? यसको उपयोगिता के हो ? किन सहकारी विश्वव्यापी बन्यो ? यसको दार्शनिक एवं सैद्धान्तिक धरातल के हो ? हाम्रो शन्दर्भमा यसलाई कसरी अभ्यास गर्ने ? सहकारीमा को सक्रिय हुन्छन् ? राजनीतिक प्रणाली र सहकारीको उपयोग कसरी ? बर्तमानमा नेपाली सहकारी क्षेत्रमा देखिएको समस्याको मूल के हो र यसमा जिम्मेवार को हुन ? विद्यमान अवस्था नै धरोहर हो कि यसमा परिमार्जन आवश्यक छ ? आदि विषयमा मोटामोटी अवधारणा विकास नगरेका ब्यक्तिहरूले सहकारी क्षेत्रको नीति निर्माण, निर्णय र नेतृत्व गर्ने जिम्मेवारीमा रहेका मानिसहरू प्रत्यक्ष वा परोक्ष रूपमा सहकारी विकासका अवरोधक हुन्छन् । विचार यथार्थ नभई कार्यान्वयन असल हुन सक्दैन । असल अभ्यास नभई परिणामको आसा गर्न सकिन्न । बोध यथार्थको दिशामा भएपछि मात्र अभ्यास असल मार्गमा हुन्छ । हाम्रो देशमा सहकारीको उपयोगमा सक्रिय जनस्तरमा कुनै जटिलता छैन तर विचारको तहमा, नीतिनिर्माण र नेतृत्वको तहमा बोधको अप्रयाप्तता स्पष्ट देखिन्छ । विडम्बना मान्नु पर्ने कुरा यो छ कि, जे जस्तो अभिव्यक्ति गरे पनि हुने भन्ने जस्तो गरी राजनीतिक दलका नेताहरू लामो भाषण गर्छन् । सहकारीको विषयमा प्राज्ञिक तहमा छलफल हुने कुराको अभाव रहेको छ । समाज, परिवेश, बुझाईमा विविधता रहेको जस्तै सहकारीको

अभ्यास पनि विविधतापूर्ण हुनु स्वभाविक रह्यो । आफ्ना आवश्यकता र विशेषता अनुसार सहकारीको उपयोगमा विविधता हुँदाहुँदै पनि मूल मर्म र सिद्धान्तमा मूल पहिचान एक रूपको बनाउने कार्यमा प्रयास भई आएको छ । कुनै पनि सिद्धान्त, विचार र सामाजिक प्रक्रिया निरन्तर विकास तथा परिमार्जन हुँदै जान्छन् । तथापि समाज, देश, सँस्कृति आदि विविधताका बीचमा सहकारीलाई विविध रूपमा अपनाउँन सकिन्छ ।

नेपाली बृहत् शब्दकोशमा सहकारी भनेको ’एकसाथ मिलेर काम गर्ने, साथसाथै काम गर्ने । सहकार भनेका दुई वा दुईभन्दा बढी व्यक्ति संगै बसेर काम गर्ने वृत्ति वा क्रिया ।’ साझा भनेको घेरै जनाको हकको, धेरै जनाको हिस्सा भएको ।’ भन्ने लेखिएको छ । अंग्रजीमा को अपरेटिभ भनिन्छ । यसको परिभाषा, मर्म, भावना, मुल्य, सिद्धान्त र अभ्यासलाई ’सहकारी’ भन्दा ’साझा’ शब्दले स्पष्टसँग अभिव्यक्त गरेको देखिन्छ । नेपालको इतिहासमा पञ्चायत कालमा साझा अभियानको अभ्यास गरियो । पछि साझालाई सहकारीमा रूपान्तरण गरेर अभ्यास गरिदैछ । जे होस शब्दलाई परिभाषा गरेर सच्याउन सकिएला वा बढि उपयुक्त शब्दको खोजि हुन सक्ला । सहकारी क्षेत्रका नेपाली भाषामा प्रयोग गरिने प्राविधिक शब्दहरूलाई परिभाषा गरी सहकारी शब्दकोष बनाउन पनि जरूरी रहेको देखिन्छ । शब्दावली पनि उपयुक्त हुनु आवश्यक नै हुन्छ । मुख्यतयाः अभ्यास असल हुनु अनिवार्य सर्त हो, तथापि सैद्धान्तिकीकरण पनि त्यतिकै महत्वको कुरा हो ।

विश्वमा सहकारीको उपयोग विविध प्रकारले भयो । युरोप, अमेरिका र अन्य भूभागमा भएकोभन्दा फरक ढङ्गले वेलायती उपनिवेश रहेका देशमा सरकारको पहलमा लागू गरियो । नेपालको सहकारी अभ्यास यसै हिसाबको प्रभावमा रहेको देखिन्छ । परम्परागत चलिआएका सामाजिक प्रचलन र संस्कारहरू सहकारी हुन भन्ने कुरा नेपालका सहकारी साहित्यमा प्रसस्त पाईन्छ । नेपालमा सहकारी क्षेत्र आफैले सहकारी मन्त्रालयको माग गयो । नेपालको संविधानमा सहकारीलाई सरकारी र निजी क्षेत्र जस्तै तेश्रो खम्बा भनेर उल्लेख गरियो । नेपालमा राजनीतिक पार्टीहरू सहकारी क्षेत्रमा सक्रिय रहेका छन । यसबाट सहकारीलाई जस्तो बुझिन्छ, सहकारीको बुझाई जस्तो स्थापित भएको छ, यो अलि अमूर्त र आम बुझाईभन्दा फरक छ । विश्वव्यापी सहकारीको परिभाषा, मुल्य, सिद्धान्त र अभ्यासले समग्र समाजिक–आर्थिक–साँस्कृतिक विकासको हैसियतमा सहकारीलाई स्थापित गरिएको छ । हाम्रो बुझाईले सार्वजनिक र नीजि क्षेत्रभन्दा फरक हो कि भन्ने औल्याउँछ ।

सहकारी नागरिक क्षेत्रको स्वतन्त्र गतिविधि हो । यो राज्यको कार्यक्रम होइन । यो गैर सरकारी क्षेत्र हो । यसो भन्दा अनुदानमा आधारित कार्यक्रम सञ्चालन गर्ने गैरसरकारी क्षेत्र भने होइन । यो व्यवसायिक क्षेत्र हो तथापि मुनाफाका लागि लगानी गर्ने र सामाजिक उत्तरदायित्व न्यून रहेको निजी क्षेत्र भने होइन । सामाजिक उत्तरदायित्वपूर्ण व्यवसाय गर्ने व्यवसायिक क्षेत्र हो । यसलाई ’सहकारी आन्दोलन’ भनिन्छ । सामाजिक आर्थिक साँस्कृतिक सबै क्षेत्रमा रूपान्तरण गर्ने पद्धति भएकाले आन्दोलन भनिएको हो । आन्दोलन समग्रताको परिचायक हुन्छ ।

विश्वव्यापी लोकप्रियता

औद्योगिक क्रान्तिपछि धनी र गरिब, मालिक र मजदुर, शोषक र शोषित, सर्वहारा र पुँजीपति आदि बेमेल र असमानताको समाज व्यवस्था कहाली लाग्दो अमानवीय थियो । शासन सत्तालाई आफ्नो स्वार्थमा दुरूपयोग गरी पुँजीपति वर्गले श्रमिक र आम जनतालाई चर्को थिचोमिचो हुने अमानवीय व्यवस्थामा केही मालिक वर्ग बाहेक आम मानिसको जीवन पशु सरह थियो । दास र श्रमिक केबल विक्रिका माल सरह थिए । धार्मिक गुरू र पुँजीपतिको मुखका भरमा शासन चल्थ्यो । खासमा भन्ने हो भने औद्योगिक क्रान्तिपछिको युरोपको समाज अमानवीयताको पराकाष्ठामा रहेको थियो ।
’सामुहिक उत्पादन र आवश्यकताका आधारमा उपयोग’ भन्ने विचारको विकास यसै परिस्थितिको उपज बन्यो। सर्वहारा मुक्तिको दर्शन र सिद्धान्त यसै वेला जन्म्यो । कम्युनिस्ट पार्टी यसैवेला जन्म्यो । कम्युनिष्ट घोषणापत्र यसै वेला प्रकाशीत भयो । मानवको विकास वर्ग संघर्षबाट अगाडि बढेको सिद्धान्त यसै बेलाको निष्कर्ष थियो । आधुनिक सहकारी प्रणालीको सैद्धान्तिक सुत्रबद्धता उहि वेला भयो । यो समय उन्नाइसौं सताब्दीको मध्य तिर थियो ।

इतिहास तथा समाज विज्ञानका प्रोफेसर जोन्सन बिर्चलले लेखेका छन्– ’सहकारी आन्दोलनको सुरूआत युरोपबाट भयो । यदि युरोपियनहरूको जन्मजात र नैसर्गिक चरित्र सहकारी स्वभावको भएको कारणले त्यहाँ सहकारीको सुरूआत भएको थियो भने यो संसारभर धेरै पहिले नै सुरू भइसकेको हुन्थ्यो । तर युरोपियनहरू औद्योगिक क्रान्तिको अनुभव गर्ने पहिला मानिसहरू हुन् । यदि युरोपमा उन्नाईसौं शताब्दी आर्थिक विकास र विकासशील देशहरूको बिसौं शताब्दीको आर्थिक विकासमा समानता छ भने युरोपमा सुरूभएको सहकारी आन्दोलनको इतिहासले विश्वव्यापी रूपमा महत्वपूर्ण पाठ सिकाउँछ । यदि यी समानता वास्तविक नभएर समानता जस्तो देखिने मात्र भएका हुन् भने पनि पहिलो र दोश्रो विश्वयुद्धपछिको युरोपमा भएका विभिन्न खाले सहकारीहरूको विकासले विभिन्न राष्ट्रहरूले आफ्नो आर्थिक अवस्था माथि पुयाएको, राष्ट्रिय अर्थतन्त्रमा सहकारीले महत्वपूर्ण स्थान प्राप्त गरेको, सहकारीले विभिन्न क्षेत्रमा सबैभन्दा राम्रो नमूना प्रस्तुत गर्न सफल भएको अनुभवहरूले सहकारीको विषयमा बाँकी विश्वलाई सहयोग पुर्याउने छ । उही प्रकारका कमीकम्जोरीलाई पुनः दोहोर्याउनु पर्ने समस्याबाट मुक्त गर्नेछ।’ नेपालको सहकारी आन्दोलन पहिले नै मानिसले गरेका गल्तीहरू फेरी दोहोर्याएर नै शिक्षा लिनु पर्ने नियतिमा पो छ कि भन्ने देखिन्छ । उही गल्ती फेरी दोहोर्याउने समय एक्काइसौं सताब्दीमा धेरै महँगो बनेको कुरा सामाजिक अगुवा र नेतृत्व वर्गका लागि चुनौतिको पक्ष मान्न सकिन्छ ।

विश्वका विभिन्न ठाउँमा अभ्यास गरिएका प्रचलनमा स्थापित रहेका सामुहिक क्रियाकलापहरू सन् १८४४ मा अपनाईएको सहकारीको रोचडेल सिद्धान्तको दिशानिर्देशको स्पिरिटसँगै एकाकार र विश्वव्यापी बन्ने क्रम सुरू भयो । समाजवादी आर्थिक प्रणाली अपनाउने होस् वा पुँजीवादी प्रणाली अपनाउने होस सबैतिर उत्तिकै लोकप्रिय बन्यो । विकासशील देश होस् वा आर्थिक विकासमा माथि पुगेको होस् सहकारीको महत्व र उपादेयता उत्तिकै रहनु चाख लाग्दो विषय हो ।

विश्वव्यापी रूपमा सबैतिर यसको लोकप्रियताको हिसाबले सहकारीलाई बुझ्ने प्रयास गर्दा विभिन्न दृष्टिकोणबाट हेर्न सकिन्छ । सहकारीलाई हेर्ने केही आयामहरू यस प्रकार टिपोट गरिएको छः

१) राज्यको सोच र चेतनाभन्दा माथिल्लो स्तरमा रहेका नागरिकहरूको समुह हुन्छन् । यस्ता नागरिकहरूले स्वतन्त्र रूपमा आफ्नो गतिविधि गर्ने राष्ट्रका विकास उद्देश्य हासिल गर्न योगदान गर्ने हिसाबले सहकारीलाई स्वतन्त्र नागरिक क्षेत्रको गतिविधि मानिन्छ ।

२) लोक कल्याणकारी राज्यले औसत तथा त्यस मुनिका नागरिकका लागि सहयोग, सुविधिा, राहत आदि कार्यक्रम तय गर्दछ । कतिपय नागरि कहरूलाई राज्यको सबै सहयोग सुविधा चाहिंदैन अर्थात राज्यले दिने सेवा सुविधा आदिले अपुग हुन्छ । यस्तो अवस्थामा नागरिक आफ्ना आवश्यकता र चाहना पुरा गर्न आफै तत्पर हुने कार्यक्रम सहकारी हो । 

३) गरिब निम्न आय रहेका नागरिकहरूका लागि जीवन उत्थानका लागि उनिहरूकै स्वतन्त्र संगठित उद्यममार्फत सशक्तिकरणको अभियान सहकारी हो । सामाजिक आर्थिक विकासमा नागरिकको सहभागिताको माध्यम सहकारी हो । 

४) स्थानीय स्रोत साधनको स्वामित्व, व्यवस्थापन र उपयोगका लागि स्थानीय नागरिकको पहल र नेतृत्व गर्ने पद्धति हो सहकारी। संघीयताको वास्तविक मर्म सहकारी प्रणालीले प्रत्यभूत गर्न सक्छ ।

५) विविध राजनीतिक र सामाजिक विभेदका मानिसले एउटै संगठानिक सँस्कार र साँस्कृतिमा काम गर्ने वातावरण हो सहकारी । आदि ।
मूल रूपमा भन्दा असल सामाजिकीकरणको पद्धति सहकारी हो । यसलाई कुनै राजनीतिक र आर्थिक प्रणालीको निकट वा विकट भन्ने सोच राख्नु उपयुक्त हुँदैन ।

हाम्रो देशमा प्रायः धेरै ठाउँ र प्रसङ्गहरूमा सहकारीलाई यो सवालमा गलत अभिब्यक्ति संप्रेषण भइरहेको पाईन्छ, यो सहकारीको यथार्थ होइन । यसको परिभाषा, मुल्य, सिद्धान्त र अभ्यासले हाम्रा अभिब्यक्तिहरूले कहाँ मेल खान्छन्, कहाँ विभेद रहेको छ । यो सिहावले सहकारीको बोध गर्ने हो भने हामीले अभिव्यक्त गरेका कुरा कति यथार्थ होलान ? संविधानमा नै उल्लेख गरिएको तीन खम्बे अभिव्यक्तिको सिद्धान्तको पुष्टी गर्ने वा आलोचना गर्ने प्राज्ञिक बहस हुन सकेको छैन ।

अन्तर्राष्ट्रिय क्षेत्रमा सहकारीका सिद्धान्तलाई विकासको सिद्धान्त मात्रै होइन मानवीय विकासको मार्गदर्शनको रूपमा लिन थालिएको छ । विश्व विद्यालयको अध्ययन अनुसन्धानको विषय बनाईन्छ । संयुक्त राष्ट्र संघले दिगो विकासको लक्ष हासिल गर्न सहकारीलाई महत्वपूर्ण मानेको छ । सन् २०२५ लाई सहकारी वर्षका रूपमा मनाउने निर्णय संयुक्त राष्ट्र संघको गत नोभेम्बरमा सम्पन्न महासभाले प्रस्ताव पास गरेको छ । यिनै सन्दर्भमा नेपालको सहकारी आन्दोलनमा सुधार, विकास, परिमार्जन र सुदृढ बनाउने अभियान चलाउने तत्परता शान्दर्भिक छ । प्रभावकारी कार्यक्रम तय गरी सहकारी आन्दोलनको उपयोग महत्वपूर्ण रहने कुरामा दुईमत छैन ।

बोधका लागि थप स्पष्टता

सहकारी विकासका लागि एउटा स्पष्ट मार्गदर्शन हो । समाजलाई व्यवस्थित रूपमा स्थापित गर्ने नीति बनाउन यसको बोध आवश्यक छ । केही प्रसंगलाई यहा उल्लेख गरिएको छ, यसको कारण सहकारीको बुझाइलाई अझ यथार्थबाट हेर्न यसले सहयोग पुग्नेछ । ‘सहकारी आन्दोलनको महान विश्वव्यापी महत्व रहने छ, यसलाई अझ सक्रिय र उत्साही बनाउनु पर्छ । नेतृत्व वर्गले आम जनसमुहको सहकारी आन्दोलनमा कहिलै पछाडि पर्नु हुन्न, सहकारी जनसमुदायको आन्दोलन हो यो अगाडि बढिरहन्छ । यो आन्दोलनको गतिलाई नेतृत्वले भेट्टाउन सकेन भने राज्यको गति पछाडि पर्दछ । यो चीनका नेता माओत्से तुङको सहकारीका विषयमा ब्यक्त गरेको अभिव्यक्ति हो । चीनले सहकारी अभ्यास र उपयोग आफ्नै पाराले गर्यो ।
’सहकारीमा सबै बराबर हुन्छन् त्यहाँ एउटा बलियो र अर्को कमजोर हुँदैन, यो सहकारीको सुन्दरता हो। सहकारीको विषयमा महात्मा गान्धीले भनेको कुरा हो यो । महात्मा गान्धीले पहल गरेर स्थापना गराएका सहकारी खासमा किसानहरूका सहकारी आज भारतको अर्थतन्त्रमा उल्लेखनीय योगदान गरिरहेका छन् । समाज विकासको दर्शनका हैसियतमा स्थापित भएको सहकारी सिद्धान्तको सिर्जनात्मक र बहुउपयोग गर्न हरेक राष्ट्रहरू लागि रहेका छन् ।

प्रादुर्भावको ऐतिहासिक पृष्ठभूमि

विकासक्रमसँगै सभ्यताको विभिन्न चरणमा मानिसले सहकारीको अभ्यास गर्दै आएको कुराले यो मानिसको सामाजिक चरित्रको अभिन्न गतिविधिका रूपमा हेर्न सकिन्छ । भारतमा अंग्रेजहरूको प्रबेश नहुँदै सहकारीको उच्च स्तरका अभ्यास हुने गरेको इतिहासमा उल्लेख गरिन्छ । यस्तै विभिन्न सभ्यताका मानिसमा सहकारीको अभ्यास हुने गरेको थियो । क्रिश्चियन समाजमा वास्तविक अर्थमा सहकारीको आदर्श आफ्नो धार्मिक परम्परा र सँस्कारमा रहेको छ, र यसको असल अभ्यास भइरहेको भन्ने दावी गरिन्छ । मुस्लिम परम्परा र धार्मिक आचारण नै वास्तविक सहकारीको आदर्श रहेको दावी गरिन्छ । बैदिक सनातन, हिन्दु सभ्यतामा रहेको परम्परा र सँस्कार वास्तविक सहकारीको अभ्यास आफ्नो परम्परा नै रहेको दावी गरिन्छ । यस्तै विभिन्न सभ्यता र सम्प्रदायले आफ्नो परम्परा नै सहकारीको मर्म र भावनाको स्रोत रहेको मान्दछन् । आफ्ना सम्प्रदाय र समूहमा निरन्तर अभ्यासमा रहेका छन् । गौतम बुद्धले अपनाएको संघम् प्रणाली र यसको निरन्तरतालाई सहकारीको बेजोड आविश्कार मान्न सकिन्छ ।
वैज्ञानिक, समाजले अगुवा शिक्षक मान्ने बेञ्जामिन फ्याङ्कलिन (१७ जनवरी, १७०६–१७ अप्रिल, १७९०) ले अमेरिकी स्वतन्त्रताभन्दा पहिले कै समयमा सहकारीको स्थापना गरी अभ्यास गरेको इतिहास छ । उनले १७५२ मा स्थापना गरेको इन्सुरेन्स सहकारीको निरन्तरता हालसम्म रहेको छ । वेलायत र युरोपका विभिन्न ठाउँमा पहिले विभिन्न प्रकारले सहकारीको अभ्यास गरिएको इतिहास पाईन्छ । १७६० तिर स्कटल्याण्डका कपास उत्पादन गर्ने कृषकहरूले सहकारी बनाएर सञ्चालन गरेको इतिहासमा पाईन्छ ।

समाजवादी विचारका पिता मानिएका रोबर्ट ओवेनको ’सामुहिक उत्पादन र आवश्यकता अनुसार उपभोग’ भन्ने विचारबाट सहकारी सिद्धान्तको आविश्कारका लागि पृष्ठभूमि मानिन्छ । औद्योगिक क्रान्तिपछिको आर्थिक असमानता, श्रम शोषण र मानिस बिचमा हुने विभेदपूर्ण अवस्थामा रहेको समाजलाई प्रजातान्त्रिक बनाउनु पर्ने, श्रमशोषण रहित बनाउनु पर्ने आन्दोलनका सक्रिय श्रमिकहरूको सामुहिक छलफल, अध्ययन, अनुभवका आधारमा सुत्रबद्ध गरिएको सिद्धान्तका आधारमा सहकारीको स्थापना गरियो ।

डिसेम्बर २१, सन् १८४४ मा वेलायतको रोचडेल भन्ने ठाउँमा त्यहाँका २८ जना मजदुरहरूले चालु पुँजी जम्मा २८ पाउण्ड जम्मा गरेर सन् १८४४ डिसेम्वर २१ मा ’रोचडेल इक्यूटेबल पायोनियर्स सोसाइटी’ नामको उपभोक्ता सहकारी संस्था स्थापना गरे । यो सहकारी संस्थाको स्थापना गर्ने संस्थापकहरू सामाजिक रूपमा सचेत थिए । प्रजातान्त्रिक आन्दोलनका अगुवा थिए । गरिब भए पनि सचेत र सामाजिक अगुवा थिए । यि सचेत अगुवाहरूको प्रयासले विश्वमा सहकारी आन्दोलनको नयाँ दिशा समात्यो । त्यस भन्दा पहिले भएका सबै सहकारी प्रयासहरूलाई यही संस्थाको मार्गदर्शनमा अगाडि बढ्ने बाटो प्रशस्त भयो। यही ऐतिहासिक पहिलो सफल सहकारीको स्थापनापछि यसले विश्वमा लोकप्रिय हुँदै विश्वव्यापीकरणको रूप लियो । विकासक्रमको एउटा उल्लेखनीय आविश्कारका रूपमा यि कर्मवीर सहकारीका संस्थापक अगुवाहरूलाई आज सहकारी आन्दोलनले सम्मान गर्ने गर्दछ ।

सहकारीको पहिलो सफल सुरूआत र त्यसपछिको विकासक्रम विद्वानहरूबाट प्रतिपादन गरिएका विचारहरू र कर्मवीर श्रमिकका अनुभवहरू दुबैको संयोजनबाट भएको पाईन्छ । बैचारिक र व्यवहारिक दुवै प्रकारका अनुभव तथा यी अनुभवका आधारमा निरन्तरको प्रयासबाट आधुनिक सहकारी आन्दोलनको सिद्धान्त र काम गर्ने पद्धतिको विकास भएको हो । मानव समाजको विकासक्रममा सहकारीको महत्व र उपादेयताले यसलाई लोकप्रिय र परिष्कृत बनाउदै आएको हो । यो प्रक्रिया मानव गतिविधिका सबै पक्षमा सकारात्मक परिबर्तनका लागि सहयोगी हुने भएकोले सामाजिक आर्थिक परिवर्तन र विकासको व्यवहारिक औजारको रूपमा अपनाउन थालियो । त्यसैले यस अभियानलाई सहकारी आन्दोलनको रूपमा लिइयो । सहकारी आन्दोलन भन्ने गरिएको कुराबाट पनि यसको प्रभावकारिता र ब्यापकता स्वतः स्पष्ट हुन्छ ।

आई एल ओ, संयुक्त राष्ट्र संघ र सहकारी आन्दोलन अन्तर्राष्ट्रिय श्रम संगठन (आई एल ओ) पहिलो विश्व युद्धपछि र संयुक्त राष्ट्र संघ दोश्रो विश्व युद्धपछि स्थापित भएका अन्तर्राष्ट्रिय संगठन हुन् । यि संगठनहरू धेरैवटा देशका सरकारहरूले निर्माण गरेका हुन् । विश्वको सबैभन्दा जेठो र ठूलो गैर सरकारी क्षेत्रको संगठन सहकारी हो । इण्टरनेशनल को–अपरेटिभ अलायन्स (आई सि ए) ले विश्व भरको सहकारी आन्दोलनको प्रतिनिधित्व एवं नेतृत्व गर्छ । विश्वकभरका नागरिकहरूका लागि सामाजिक आर्थिक विकासमा यि संगठनहरूले मिलेर काम गर्ने गरेका छन । सहकारी आन्दोलनको विकास, सहकारीका सिद्धान्त र यसको विकास, सहकारीले आई एल ओ तथा संयुक्त राष्ट्रसंघसंगको सम्बन्धका विषयमा केही ऐतिहासिक प्रसङ्गहरू यहाँ उल्लेख गरिएको छ ।

आई एल ओ, इण्टरनेशनल लेवर अर्गानाइजेशन पहिलो विश्वयुद्धपछि सन् १९१९ मा भर्सेलिजको सन्धी अनुसार स्थापना भएको हो । खास गरी विश्वयुद्धपछिको श्रमिकहरूको अवस्थालाई मानव अधिकार, श्रम सुधार र श्रमिकको अधिकारलाई सुनिश्चित गर्ने उद्देश्यले स्थापना भएको यो अन्तर्राष्ट्रिय श्रम संगठनले सहकारी क्रियाकलापलाई श्रमिकहरूको सबै अधिकारका लागि महत्व दिएको थियो । यस संगठनका पहिला डाइरेक्टर फ्रान्सका नागरिक अल्बर्ट थोमस थिए । उनी इण्टरनेशनल को–अपरेटिभ अलायन्स (आई सि ए) को एक्जिक्युटिभ कमिटीका सदस्य रहनुका साथै एक सक्रिय सहकारीकर्मी थिए ।

आई एल ओ का प्रथम निर्देशक अल्बर्ट थोमस प्रसिद्ध फ्रान्सेली इतिहासबिद, पत्रकार, राजनीतिज्ञ, अन्तर्राष्ट्रिय समाज सेवक थिए । सहकारीका अन्तर्राष्ट्रिय अगुवा यि अल्बर्ट थोमसले आई एल ओ को सहकारी सेवा सम्बन्धी कार्यक्रमलाई स्थापनाको दोश्रो साल सन् १९२० मा नै नीतिगत व्यवस्था गर्ने प्रस्ताव पास गराएका थिए । फलस्वरूप सन् १९२४ देखि ५० वर्षसम्म आई एल ओ ले सहकारी सम्बन्धी जानकारीमूलक प्रकाशन नियमित प्रकाशन गयो । दोश्रो विश्वयुद्धको समाप्ती पश्चात् स्थापना भएको संयुक्त राष्ट्र संघको पहिलो विषयगत एजेन्सी यसलाई बनाइयो । संयुक्त राष्ट्र संघको स्थापनार्थ चार्टरमा हस्ताक्षर गर्ने ५१ वटा संस्थापक राष्ट्रका प्रमुखहरूको भेलामा तत्कालिन आई सि ए का अध्यक्ष ए ग्रेडको पर्यवेक्षकका रूपमा गैर सरकारी क्षेत्रबाट उपस्थित रहेका थिए । स्थापना कालदेखि नै संयुक्त राष्ट्र संघको सामाजिक आर्थिक परिषदको प्रमुख सल्लाहकारमा आई सि ए का अध्यक्ष रहने गरेका छन् ।

सन् १९६१ लाई भारतका तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरूले राखेको प्रस्तावमा राष्ट्र संघले अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउने निर्णय गरेको थियो । स्मरण रहोस भारतको सहकारी आन्दोलनको एक सय वर्षको अवसरमा नेहरूलाई सहकारी पुरूषका रूपमा सम्मान गरिएको थियो । गत वर्ष सन् २०२३ को नोभेम्वर महिनामा सम्पन्न संयुक्त राष्ट्र संघको महासभाले दिगो विकास लक्ष्यको प्राप्तिका लागि सन् २०२५ लाई सहकारी वर्षका रूपमा विश्वव्यापी कार्यक्रमहरू गर्ने प्रस्ताव पारित गरेको छ । ’को–अपरेभि ईण्टरप्राइजेज विल्ड ए बेटर वल्र्ड’ भन्ने मूल नारा लिएर आई सि ए र संयुक्त राष्ट्र संघले सन् २०१२ लाई संयुक्त रूपमा सहकारी वर्ष मनाइएको थियो । सन् १९६६ को संयुक्त राष्ट्र संघको महासभामा आर्थिक सामाजिक विकासका लागि सहकारीलाई महत्वपूर्ण कार्यक्रमका रूपमा प्रस्ताव पास गरिएको थियो । त्यसपछि अफ्रिका र अन्य गरिब अर्थतन्त्र रहेका देशमा आई एल ओ ले विभिन्न कार्यक्रम सञ्चालन गर्न थाल्यो । सन् २०१४ मा इण्टरनेशनल को–अपरेटिभ अलायन्स (आई सि ए) र संयुक्त राष्ट्र संघले संयुक्त रूपमा दिगो विकासका लक्ष्यहरू निर्धारण गरी प्रकाशन गरेका छन् । यसको प्राप्तिका लागि विश्वव्यापी रूपमा संयुक्त कार्यक्रमहरू नियमित रूपमा गरिदैछ । यसैको लागि सन् २०२५ लाई सहकारी वर्ष मनाउने प्रस्ताव पास भएको छ ।

गैरसरकारी क्षेत्रको सबैभन्दा जेठो र ठूलो संगठन सहकारी हो । सहकारीको विश्वव्यापिकरण सन् १९२३ देखि नै आई सि ए ले ईण्टरनेशनल को–अपरेटिभ दिवस मनाएको इतिहासले बताउँछ । आई सि ए को स्थापना सन् १८९५ मा भयो । अन्तर्राष्ट्रिय दिवस मनाउने परम्पराको थालनिभन्दा पहिले विभिन्न क्षेत्रमा आ–आफ्नै पाराका प्रचलन रहेको पाईन्छ । क्रेडिट युनियनको आफ्नै इतिहास र अन्तरर्राष्ट्रिय दिवस मनाउने प्रचलन थियो । संयुक्त राज्य अमेरिकामा वैज्ञानिक, शिक्षाका मार्गदर्शक, स्वतन्त्रता अभियानका अगुवा तथा सहकारीका प्रबर्तक बेञ्जामिन फ्याङ्कलिनको जन्मोत्सबलाई नै सहकारी दिवस मनाउने क्रम पनि चल्यो, केही समयसम्म । संसारमा एक रूपको सहकारी आन्दोलनको विकास हुनु पर्ने कुरालाई सहकारी दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने कुरालाई ध्यानमा राखेर सन् १९२३ देखि हरेक वर्ष जुलाईको पहिलो शनिवार ईण्टरनेशनल को अपरेटिभ दिवस मनाउँन थालियो । आई सि ए को स्थापना भएको एकसय वर्षको ईण्टरनेशनल को–अपरेटिभ दिवस, सन् १९९५ देखि संयुक्त राष्ट्र संघले पनि राष्ट्र संघीय ईण्टरनेशनल को–अपरेटिभ दिवस मनाउन शुरू गरेको छ । 

आई एल ओ को अध्ययन अनुसार सन् १७७० को अवधिमा विश्वका विभिन्न स्थानमा सहकारीको स्थापना भएको इतिहास रहेको छ । सन् १८४४ मा वेलायतको रोचडेलमा स्थापना भएको रोचडेल इक्विटेवल पायोनियर्स सोसाइटीलाई आधुनिक सहकारीको माइल स्टोन मानियो । किनकी यो सहकारी सफलतापूर्वक अगाडि विकास गर्दै आयो, यसका संस्थापकहरूले सुत्रबद्ध गरेका सहकारीका सिद्धान्तहरूका कारण यो सफल रहेको मानिन्छ र यि सिद्धान्तलाई रोडलका सिद्धन्त भनिन्छ । यि सिद्धान्तहरूको परिमार्जजन र विकास गरिदै आधुनिकिकरणसँगै सहकारी पहिचानका अभिव्यक्तिका रूपमा विश्वव्यापी मान्यता पाउने सिद्धान्तको रूपमा विकास गरियो ।

एक्काइसौं सताब्दी प्रारम्भ हुनुभन्दा एक दशक पहिले वर्तमान विश्व मानव विकासको परिप्रेक्षमा सहकारीको पहिचान र उपस्थितिका साथै विश्वव्यापी एक रूपताका लागि भएको अनुसन्धानका प्रमुख प्रोफेसर इयान म्याकफर्सनले भनेका छन् – ‘त्यहाँ सहकारीका सिद्धान्तको समूहलाई एकैसाथ लिएमा, यी सिद्धान्तहरू टुक्राहरूको योगफलभन्दा बढी हुनेछन । त्यहाँ मर्मस्पर्शी सम्बन्ध छ, जब एउटालाई वेवास्ता गरिन्छ, सबै अपूर्ण हुन्छन् । सहकारीलाई कुनै एउटा मात्र सिद्धान्तको आधारमा स्पष्ट निक्र्यौल गर्न सकिंदैन । सहकारीहरूले उनीहरूको सिद्धान्तलाई कति राम्रोसँग अपनाएका छन् भन्ने कुराको सम्पूर्णतामा मात्र मूल्याङ्कन गर्न सकिन्छ । यी सिद्धान्त र निर्दिष्ट मूल्यहरूले एकै साथ दिएको अभिव्यक्तिले विश्वका विभिन्न क्षेत्रमा रहेका सहकारीहरूको मुल्याङ्कन गर्न समर्थ बनाउने छन् ।’

सहकारी सिद्धान्तको विकास र परिमार्जनको क्रममा सन् १९९५ मा इन्टरनेशनल को–अपरेटिभ अलायन्सको मेनचेष्टरमा सम्पन्न साधारण सभाले आफ्नो सयौं वर्षको सेन्टेनरी कंग्रेसबाट निर्णय गरी तय गरिएको सहकारीको परिभाषा, सहकारी मूल्य र सिद्धान्तलाई विश्वभरका सहकारी संघ÷संस्थाहरूको प्रतिनिधिमूलक अभिव्यक्ति मान्ने निर्णय गर्यो । सेन्टेनरी कांग्रेसले तय गरेका सिद्धान्तको पृष्ठभूमीको रूपमा सन् १८८५ देखि स्थापना भएर विश्व सहकारी आन्दोलनको नेतृत्वदायी निकायको हैसियतले आइसीएले सहकार्यको व्यवहारिक प्रयोगबाट प्राप्त अनुभवको संग्रह रहेको बताएको छ । सन् १९३७ मा र सन् १९६६ मा सहकारीका सिद्धान्तलाई परिमार्जन गर्ने काम भएको थियो । सन १९९५ मा सुत्रबद्ध गरिएका सहकारीका सिद्धान्तले मानवीय सभ्यताको मूल मर्मलाई आत्मसाथ गर्ने दर्शनको प्रत्याभूति गरेको छ । यो कुनै सानो र निश्चित विचारका आधारमा नभएर विश्वब्यापी मान्यताको प्रतिनिधित्व गर्ने दार्शनिक पृष्ठभूमिमा उभिएको सिद्धान्त हो । सहकारीको सिद्धान्त विश्वब्यापी र व्यवहारिक सच्चाईको सामाजिक बिज्ञान हो । यसले समाजका गुट, उपगुट, सम्प्रदाय वा कुनै प्रकारका विभेदपूर्ण कुराहरूभन्दा माथिल्लो स्तरको हैसियत राख्नु पर्ने आवश्यकता थियो । अर्को तिर विश्वको राजनीतिक मानचित्रमा रहेको विविधतालाई मान्य हुने सामाजिक सिद्धान्तको हैसियतमा रहनु सहकारीको कर्तव्य हुन आउँथ्यो । सहकारी क्षेत्रका अध्येताहरूलाई पनि ठूलो चुनौतीको सामाना गरेर यसको हैसियत स्थापित गर्नु थियो ।