बुधबार, भाद्र ३ गते २०८३

उत्कृष्ट व्यवस्थापकको रूपमा  जनमुखी साकोसका भेष मिजार सम्मानित


पौष २०, २०८२ आइतबार
उत्कृष्ट व्यवस्थापकको रूपमा  जनमुखी साकोसका भेष  मिजार सम्मानित

दोलखा,  बैतेश्वर–५, मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक भेष बहादुर मिजार उत्कृष्ट व्यवस्थापकको रूपमा सम्मानित  भएका छन् । जिल्ला सहकारी संघ लि., दोलखाको २० औं वार्षिक साधारण सभाको अवसरमा उनलाई जिल्लाभरकै उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मान गरिएको थियो ।

उक्त सम्मान  पौष १९ गते आयोजित  साधराणसभाको अवसरमा प्रदान गरिएको हो । संघका अध्यक्ष देवी प्रसाद शर्मा फुयालको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश बन तथा वातावरण मन्त्री भरत बहादुर के.सी.ले व्यवस्थापक मिजारलाई नगद सहित सम्मान प्रदान गरेका थिए । सहकारी क्षेत्रको विकास, सुशासन र सदस्य–मुखी सेवा प्रवाहमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको  संघले जनाएको छ। मिजारको नेतृत्वकालमा जनमुखी साकोसले संस्थागत सुदृढीकरण, वित्तीय अनुशासन तथा पारदर्शितामा महत्वपूर्ण प्रगति हासिल गरेको आयोजकको भनाइ छ। 

बैतेश्वर–५, मेहेलेमा जन्मिएका मिजारले २०६५ साल भाद्र १ गते जनमुखी  सहकारी संस्थामा कम्प्युटर अपरेटरको रूपमा आफ्नो सेवा यात्रा सुरु गरेका थिए। निरन्तर परिश्रम, इमान्दारिता र कार्यकुशलताका कारण उनी २०७२ सालमा लेखा तथा प्रशासन प्रमुख तथा २०७४ मंसिर १४ गतेबाट संस्थाको व्यवस्थापक पदमा नियुक्त भएका हुन्। 

व्यवस्थापक मिजार  यसअघि पनि विभिन्न संघ संस्थाबाट  सम्मानित भइसकेका छन् । २०६९ सालमा जनमुखी साकोसबाट उत्कृष्ट कर्मचारी, २०७९ सालमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि, दोलखाबाट उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएका  मिजारले २०७६ सालमा नेफ्स्कूनद्वारा आयोजित गुणस्तरीय कार्यक्रम अन्तर्गत जनमुखी साकोसलाई ‘प्रोवेश ब्राण्ड’ प्राप्त  गराउन सफल भए । 

कार्यक्रममा उपस्थित वक्ताहरूले मिजारको नेतृत्व क्षमता, अनुशासन र सहकारीप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकारी क्षेत्रको दिगो विकासमा उहाँको योगदान महत्वपूर्ण रहने विश्वास व्यक्त गरेका थिए।