लोकनारायण सुवेदी
विश्व इतिहासमा सन् १९१७ को महान् अक्टोबर समाजवादी क्रान्ति मानव सभ्यताको विकासक्रममा एउटा युगान्तकारी ऐतिहासिक घटना हो। यसले शताब्दीयौँदेखि कायम शोषण, उत्पीडन, असमानता र वर्गीय विभेदमा आधारित समाज व्यवस्थालाई चुनौती दिँदै मजदुर–किसानसहित शोषित–पीडित जनताको राज्यसत्ता स्थापना गर्ने ऐतिहासिक ढोका खोल्यो। पहिलोपटक सर्वहारा वर्गको नेतृत्वमा पुरानो शोषणकारी राज्यसत्तालाई विस्थापित गरेर समाजवाद निर्माणको दिशामा राज्यसत्तालाई अघि बढाउने ऐतिहासिक प्रयोग यही क्रान्तिले सम्भव तुल्यायो। त्यसैले अक्टोबर क्रान्ति कुनै एउटा देशको राजनीतिक परिवर्तनमा मात्र सीमित घटना थिएन; यो विश्व मानव मुक्तिको आन्दोलनमा नयाँ युगको उद्घोष थियो।
रुसी पुरानो पात्रोअनुसार अक्टोबर २५ र प्रचलित ग्रेगोरियन पात्रोअनुसार नोभेम्बर ७, १९१७ मा सम्पन्न यस क्रान्तिले विश्व राजनीतिमा नयाँ ऐतिहासिक अध्यायको सूत्रपात गरेको थियो। यसले पूँजीवादी शोषण र साम्राज्यवादी प्रभुत्वबाट मुक्त समाज निर्माण सम्भव छ भन्ने कुरालाई व्यवहारतः प्रमाणित गर्ने ऐतिहासिक प्रयत्न ग¥यो। त्यसैले अक्टोबर क्रान्तिको स्मरण केवल एउटा ऐतिहासिक विजयको उत्सव होइन, मानव समाजलाई शोषणमुक्त, समानतामूलक र न्यायपूर्ण बनाउने महान् आकाङ्क्षाको पुनःस्मरण पनि हो।
यस ऐतिहासिक क्रान्तिका महान् विचारक, नेता र प्रमुख शिल्पी लेनिनले माक्र्सवादलाई तत्कालीन रुसी समाजको ठोस परिस्थितिमा सिर्जनात्मक रूपमा लागू गर्दै त्यसलाई नयाँ ऐतिहासिक उचाइमा पु¥याउनुभयो। उहाँले साम्राज्यवादलाई पूँजीवादको उच्चतम चरणका रूपमा विश्लेषण गर्नुभयो, सर्वहारा वर्गको क्रान्तिकारी पार्टीको आवश्यकता स्पष्ट पार्नुभयो र राज्यसत्ता कुनै वर्गनिरपेक्ष संस्था नभई वर्गीय प्रभुत्वको साधन हो भन्ने माक्र्सवादी मान्यतालाई थप विकसित गर्नुभयो। उहाँको नेतृत्व र वैचारिक दिशानिर्देशमा सम्पन्न अक्टोबर क्रान्तिले माक्र्सवादलाई केवल व्याख्याको सिद्धान्तबाट सामाजिक रूपान्तरणको व्यवहारिक विज्ञानका रूपमा स्थापित गर्ने ऐतिहासिक आधार तयार ग¥यो।
आज लेनिन र अक्टोबर क्रान्तिको ऐतिहासिक योगदानलाई सम्झनुको अर्थ विगतको गौरवगाथा गाउनु मात्र होइन। यसको वास्तविक अर्थ वर्तमान विश्वको वस्तुगत परिस्थितिको वैज्ञानिक विश्लेषण गर्नु, पूँजीवादी व्यवस्थाका अन्तर्विरोधहरूलाई पहिचान गर्नु र श्रमजीवी जनताको मुक्तिको आन्दोलनलाई सही वैचारिक तथा राजनीतिक दिशा दिनु हो ।
लेनिनको समय र आजको विश्वबीच विज्ञान, प्रविधि, उत्पादन प्रणाली, सञ्चार, वित्तीय कारोबार र विश्व अर्थतन्त्रको स्वरूपमा व्यापक परिवर्तन आएको छ। तर यी परिवर्तनले पूँजीवादी उत्पादन सम्बन्धको आधारभूत चरित्र र श्रममाथि पूँजीको प्रभुत्व स्वतः समाप्त गरेका छैनन्। बरु वित्तीय पूँजी, बहुराष्ट्रिय एकाधिकार, डिजिटल प्लेटफर्म र प्रविधिमाथिको निजी नियन्त्रणले शोषण तथा सम्पत्ति केन्द्रीकरणका नयाँ स्वरूप विकास गरेका छन्। उत्पादन सामाजिक रूपमा झन् व्यापक र अन्तरनिर्भर बन्दै गएको छ भने त्यसबाट सिर्जना हुने सम्पत्ति र शक्ति सीमित पूँजीपति वर्गको हातमा केन्द्रित हुँदै गएको छ। यसले पूँजी र श्रमबीचको आधारभूत अन्तर्विरोधलाई नयाँ आयाम र तीव्रतासहित उजागर गरिरहेको छ।
त्यसैले विज्ञान र प्रविधिको विकास भयो भन्दैमा वर्गीय अन्तर्विरोधको चरित्र नै फेरियो अथवा श्रमजीवी वर्ग र पूँजीबीचको संघर्ष अप्रासङ्गिक भयो भन्ने निष्कर्ष निकाल्नु वस्तुगत यथार्थबाट विमुख हुनु हो। बरु आजको विश्वमा वर्गीय शोषणका नयाँ स्वरूप, साम्राज्यवादी प्रतिस्पर्धा, वित्तीय निर्भरता र डिजिटल एकाधिकारको वैज्ञानिक अध्ययन गरेर माक्र्सवाद–लेनिनवादलाई नयाँ परिस्थितिमा सिर्जनात्मक ढङ्गले लागू गर्नु आवश्यक छ। सिद्धान्तलाई जडसूत्र बनाएर होइन, त्यसको वैज्ञानिक सार आत्मसात् गरेर मात्र वर्तमान यथार्थको सही विश्लेषण र रूपान्तरण सम्भव हुन्छ।
लेनिनको अर्को अत्यन्त महत्त्वपूर्ण योगदान राज्यसत्ता, वर्गसंघर्ष र क्रान्तिकारी राजनीतिक कार्यदिशासम्बन्धी उहाँको वैज्ञानिक दृष्टिकोण हो। राज्यसत्ताको वर्गीय चरित्रलाई नबुझी, त्यसको ऐतिहासिक उत्पत्ति र सामाजिक आधारको विश्लेषण नगरी समाज परिवर्तनको प्रश्नलाई सही ढङ्गले बुझ्न सकिँदैन। यसैगरी वर्गसंघर्षलाई केन्द्रमा नराखी केवल निर्वाचन, संसदीय प्रतिस्पर्धा र सत्तामा पुग्ने राजनीतिक गणितलाई नै कम्युनिष्ट आन्दोलनको मूल उद्देश्य ठान्नु गम्भीर वैचारिक विचलन हो।
लेनिनले रुसी संसद् (डुमा) को उपयोग गर्नुभएको थियो। तर उहाँले संसदीय संघर्षलाई कहिल्यै पनि वर्गसंघर्ष र क्रान्तिकारी आन्दोलनको विकल्प बनाउनुभएन। उहाँका लागि संसद् पनि जनताको राजनीतिक चेतना अभिवृद्धि गर्ने, प्रतिक्रियावादी व्यवस्थाको भण्डाफोर गर्ने र क्रान्तिकारी संघर्षलाई अघि बढाउने एउटा सम्भावित कार्यक्षेत्र थियो। त्यसैले लेनिनको संसदीय अभ्यासको यान्त्रिक नक्कल गरेर संसदीय व्यवस्थाभित्रै सीमित हुनु र त्यसैलाई कम्युनिष्ट आन्दोलनको मूल गन्तव्य बनाउनु उहाँको राजनीतिक दृष्टिकोणको गम्भीर गलत व्याख्या हो।
वास्तवमा संसदीय संघर्षको औचित्य र उपयोगिता त्यसले वर्गीय मुक्ति आन्दोलनलाई कति सहयोग पु¥याउँछ भन्ने आधारमा निर्धारित हुनुपर्छ। जब संसदीय प्रतिस्पर्धा नै अन्तिम उद्देश्य बन्छ, जब पार्टीको राजनीतिक चरित्र वर्गीय संघर्षभन्दा चुनावी स्वार्थबाट निर्देशित हुन थाल्छ र जब सिद्धान्त, विचार तथा जनसम्बन्धभन्दा पद, प्रतिष्ठा र सत्ताको प्राप्ति प्राथमिक बन्न पुग्छ, तब कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी सार कमजोर हुँदै जान्छ। आज विभिन्न देशमा देखिएको कम्युनिष्ट आन्दोलनको वैचारिक विचलन र राजनीतिक स्खलनको एउटा महत्त्वपूर्ण कारण यही हो। नेपालमा पनि कम्युनिष्ट नाम र झण्डा कायम रहेकै आधारमा क्रान्तिकारी चरित्र सुरक्षित रहन्छ भन्ने छैन। त्यसको वास्तविक परीक्षा वर्गीय पक्षधरता, जनताप्रतिको प्रतिबद्धता, राजनीतिक व्यवहार र सामाजिक रूपान्तरणको दिशाबाट हुनुपर्छ।

लेनिनले प्रतिपादन गर्नुभएको अर्को अत्यन्त महत्त्वपूर्ण वैज्ञानिक मान्यता हो—ठोस परिस्थितिको ठोस विश्लेषण। कुनै पनि देशको क्रान्तिको कार्यदिशा, रणनीति र कार्यनीति त्यहाँको विशिष्ट ऐतिहासिक, आर्थिक, सामाजिक र राजनीतिक परिस्थितिको वस्तुगत अध्ययनबाट निर्धारित हुनुपर्छ। अरू देशको अनुभव वा विगतको क्रान्तिको सफलतालाई यान्त्रिक रूपमा अनुकरण गरेर क्रान्ति सम्पन्न हुन सक्दैन। सिद्धान्तको सार्वभौमिकता र व्यवहारको विशिष्टताबीचको द्वन्द्वात्मक सम्बन्धलाई आत्मसात् गर्नु नै वैज्ञानिक क्रान्तिकारी दृष्टिकोण हो। यसबाट विचलित हुनु भनेको माक्र्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोगबाट टाढिनु हो।
कम्युनिष्ट आन्दोलनको सार केवल सत्ता परिवर्तनको प्रश्नमा सीमित छैन। यो समग्र समाजको मानवीय, सांस्कृतिक, नैतिक र बौद्धिक रूपान्तरणको आन्दोलन पनि हो। वर्गीय शोषण, सामाजिक विभेद, अन्याय, उत्पीडन र असमानताका विरुद्ध संघर्ष गर्नुका साथै अन्धविश्वास, रूढिवाद, कुरीति र अमानवीय परम्पराको अन्त्य गर्दै वैज्ञानिक चेतना, विवेक, समानता, स्वतन्त्रता र सामाजिक न्यायमा आधारित सभ्य समाज निर्माण गर्नु यसको व्यापक उद्देश्य हो। मानिसलाई मानिसद्वारा गरिने शोषण र अपमानबाट मुक्त गर्दै प्रत्येक व्यक्तिको सम्मानपूर्ण जीवन, सिर्जनात्मक क्षमता र समग्र विकासको अवसर सुनिश्चित गर्नु नै मानव मुक्तिको समाजवादी आकाङ्क्षाको मूल मर्म हो।
आज विश्व मानवता अनेकौँ गम्भीर संकटबाट गुज्रिरहेको छ। एकातिर सम्पत्ति र उत्पादनका साधनमाथि सीमित वर्गको नियन्त्रण अभूतपूर्व रूपमा बढिरहेको छ भने अर्कातिर श्रमजीवी जनताको ठूलो हिस्सा बेरोजगारी, असुरक्षित श्रम, महँगी, गरिबी र आर्थिक असुरक्षाबाट पीडित छ। अर्कोतिर नाफामुखी विकासको अन्धदौडले प्रकृति र पर्यावरणमाथि गम्भीर संकट निम्त्याएको छ। जलवायु परिवर्तन, जैविक विविधताको विनाश र प्राकृतिक स्रोतसाधनको अनियन्त्रित दोहनले मानव सभ्यताको भविष्यलाई नै चुनौती दिइरहेको छ। आणविक, रासायनिक तथा जैविक अस्त्रहरूको होडबाजी, युद्ध र साम्राज्यवादी हस्तक्षेपले विश्व शान्ति र मानव सुरक्षालाई निरन्तर जोखिममा पारिरहेका छन्।
यी सबै समस्याको समाधान केवल प्राविधिक विकास, आर्थिक वृद्धिदर वा सत्ताको फेरबदलबाट मात्र सम्भव छैन। उत्पादनका साधनमाथिको स्वामित्व, उत्पादनबाट सिर्जित सम्पत्तिको वितरण, राज्यसत्ताको वर्गीय चरित्र र प्रकृतिसँगको मानवीय सम्बन्धसमेत पुनर्गठित गर्नुपर्ने आवश्यकता छ। विकासको उद्देश्य सीमित वर्गको नाफा र विलासिता नभई सम्पूर्ण मानव समुदायको सुख, समृद्धि, सुरक्षा र सम्मानपूर्ण जीवन हुनुपर्छ। प्रकृतिको विनाश गरेर हासिल गरिएको आर्थिक समृद्धि वास्तविक सामाजिक प्रगति हुन सक्दैन।
यस ऐतिहासिक सन्दर्भमा अक्टोबर क्रान्तिको मूल ध्येय र लेनिनको वैज्ञानिक क्रान्तिकारी योगदानको अध्ययन अझ बढी आवश्यक बनेको छ। विश्वका क्रान्तिकारी कम्युनिष्ट शक्तिहरूले विगतका अनुभव र उपलब्धिको वस्तुगत समीक्षा गर्दै वर्तमान विश्वको बदलिँदो परिस्थितिको गहिरो अध्ययन गर्नुपर्छ। क्रान्तिको इतिहासलाई श्रद्धाको विषय मात्र होइन, सिकाइ र आत्मसमीक्षाको आधार बनाउनुपर्छ। विचारमा स्पष्टता, सिद्धान्तप्रति निष्ठा, व्यवहारमा सिर्जनात्मकता र जनतासँगको जीवन्त सम्बन्धबिना कुनै पनि क्रान्तिकारी आन्दोलनले आफ्नो ऐतिहासिक दायित्व पूरा गर्न सक्दैन।
अक्टोबर क्रान्तिले मानव समाजको इतिहासमा एउटा महान् सम्भावनाको उद्घाटन गरेको थियो—शोषण र उत्पीडन अपरिहार्य नियति होइनन् संगठित जनशक्ति, वैज्ञानिक विचार र क्रान्तिकारी रूपान्तरणको माध्यमबाट समाजलाई नयाँ दिशामा अघि बढाउन सकिन्छ। त्यस क्रान्तिले जन्माएको समाजवादी प्रयोगको इतिहास उपलब्धि, सीमा, अन्तर्विरोध र शिक्षासहित वस्तुगत रूपमा अध्ययन गरिनुपर्छ। कुनै पनि ऐतिहासिक अनुभवलाई आलोचनात्मक परीक्षणभन्दा माथि राख्नु माक्र्सवादी पद्धति हुन सक्दैन। त्यसका उपलब्धिको रक्षा गर्दै कमजोरी र असफलताबाट शिक्षा लिनु नै क्रान्तिकारी परम्पराप्रतिको वास्तविक निष्ठा हो।
अन्ततः मानव समाजको भविष्य कस्तो हुने भन्ने प्रश्न उत्पादनका साधनमाथिको स्वामित्व, श्रमको सम्मान, सामाजिक न्याय, आर्थिक समानता, राष्ट्रिय स्वाधीनता, विश्व शान्ति र प्रकृतिसँगको सन्तुलित सम्बन्धसँग अभिन्न रूपमा जोडिएको छ। समाजवादको ऐतिहासिक औचित्य र सम्भावनालाई यही व्यापक मानवीय परिप्रेक्ष्यमा बुझ्नुपर्छ। यो कुनै भावनात्मक आकांक्षा मात्र होइन, पूँजीवादी समाजका अन्तर्विरोधको वैज्ञानिक विश्लेषणबाट उत्पन्न सामाजिक रूपान्तरणको ऐतिहासिक प्रश्न हो।
महान् अक्टोबर समाजवादी क्रान्तिको शताब्दीयता पनि ९ बर्ष बितिसकेको छ, तर त्यसले उठाएको मानव मुक्ति, सामाजिक न्याय र शोषणमुक्त समाज निर्माणको प्रश्न अझै जीवित छ। इतिहासका महान् क्रान्तिहरूको महत्व तिनले आफ्नो समयमा हासिल गरेका उपलब्धिमा मात्र होइन, तिनले भविष्यका पुस्तालाई प्रदान गरेका विचार, प्रेरणा र परिवर्तनका सम्भावनामा पनि निहित हुन्छ।
त्यसैले अक्टोबर क्रान्तिको वास्तविक सम्मान त्यसको जयजयकारमा मात्र होइन, त्यसका ऐतिहासिक शिक्षा आत्मसात् गर्दै वर्तमान समाजका अन्तर्विरोधको वैज्ञानिक विश्लेषण र मानव मुक्तिको आन्दोलनलाई नयाँ उच्चाईमा पु¥याउने प्रतिबद्धतामा अभिब्यक्त हुनु पर्दछ । यसको निम्ति राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा सच्चा क्रान्तिकारी कम्युनिष्टहरु एक हुनुको कुनै बिकल्प छैन । अक्टोबर क्रान्ति र लेनिनलाई आज सम्झनुको सार्थकता यही नै हो ।