शनिबार, कार्तिक २२ गते २०८३

अमर समाजवादी क्रान्तिको ध्येय र वर्तमान आवश्यकता


कार्तिक २२, २०८३ शनिबार
अमर समाजवादी क्रान्तिको ध्येय र वर्तमान आवश्यकता
 
विश्व इतिहासमा ७  नोभेम्बरको दिनलाई एउटा युगान्तकारी घटनाको स्मरण गरिन्छ—सन् १९१७ को महान् अक्टोबर समाजवादी क्रान्ति। लेनिनको नेतृत्वमा सम्पन्न यो क्रान्ति केवल एउटा पुरानो सत्ता विस्थापित गरेर अर्को सत्ता स्थापना गर्ने राजनीतिक घटना थिएन; यो मानिसद्वारा मानिसमाथि हुँदै आएको शोषण, उत्पीडन र वर्गीय असमानताको अन्त्य गर्दै न्यायपूर्ण, समानतामूलक र शोषणमुक्त समाज निर्माण गर्ने ऐतिहासिक उद्घोष थियो।
 
त्यतिबेलाको रुस निरंकुश जारशाही, सामन्ती जमिनदारी, तीव्र आर्थिक असमानता र साम्राज्यवादी युद्धको चपेटामा थियो। प्रथम विश्वयुद्धले मजदुर, किसान र आम जनताको जीवन झन् कष्टकर बनाएको थियो। यस्तो वस्तुगत परिस्थितिमा बोल्सेभिक पार्टीले श्रमिक वर्ग र उत्पीडित जनसमुदायलाई संगठित गर्दै ‘शान्ति, भूमि र रोटी’ तथा ‘सम्पूर्ण सत्ता सोभियतहरूलाई’ भन्ने नारामार्फत क्रान्तिको नेतृत्व गर्‍यो। फेब्रुअरी १९१७ मा जारशाहीको अन्त्य भए पनि स्थापित अन्तरिम सरकारले जनताका आधारभूत समस्या समाधान गर्न सकेन। त्यसपछि अक्टोबर क्रान्तिले राज्यसत्ता मजदुर, किसान र श्रमजीवी जनताको हातमा पुर्‍याउने ऐतिहासिक प्रयास गर्‍यो।
 
यस क्रान्तिको विशिष्टता के थियो भने यसले सामन्ती शोषक वर्गको स्थानमा पुँजीवादी शोषक वर्गलाई स्थापित गर्ने पुरानो क्रान्तिकारी चक्रभन्दा अघि बढेर उत्पादनका साधनमाथि सामाजिक स्वामित्व र श्रमजीवी वर्गको राजनीतिक नेतृत्वमा नयाँ समाज निर्माणको आधार खडा गर्‍यो। भूमि सामन्ती स्वामित्वबाट मुक्त गरियो, उद्योग तथा प्रमुख उत्पादनका साधन सामाजिककरणको प्रक्रियामा लगिए, युद्धबाट शान्तितर्फको पहल गरियो र शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षालाई जनताको आधारभूत अधिकारका रूपमा स्थापित गर्ने दिशामा काम अघि बढाइयो। उत्पीडित राष्ट्रियताहरूको आत्मनिर्णय र स्वशासनको प्रश्नलाई पनि सम्बोधन गर्ने प्रयास गरियो।
 
यही प्रक्रियाबाट विश्वको पहिलो समाजवादी राज्यका रूपमा सोभियत सत्ता र पछि सोभियत संघको स्थापना भयो। लेनिनको नेतृत्वमा आरम्भ भएको यस ऐतिहासिक निर्माणलाई स्टालिनको कालमा औद्योगिकीकरण, सामूहिक कृषि र राज्यको आर्थिक योजनाका माध्यमबाट थप विस्तार गरियो। सोभियत संघले शिक्षा, विज्ञान, प्रविधि, स्वास्थ्य, रोजगारी र औद्योगिक विकासमा हासिल गरेका उपलब्धिहरूले विश्वव्यापी प्रभाव पारे। त्यसले उपनिवेशवाद, साम्राज्यवाद र राष्ट्रिय उत्पीडनविरुद्ध संघर्षरत जनता तथा राष्ट्रहरूलाई नयाँ प्रेरणा र अन्तर्राष्ट्रिय आधार प्रदान गर्‍यो।
 
तर इतिहासको यो गौरवशाली अध्याय अन्तर्विरोध र कमजोरीरहित थिएन। समाजवादी निर्माणका क्रममा विकसित भएका नोकरशाही प्रवृत्ति, जनसहभागिताको संकुचन, लोकतान्त्रिक नियन्त्रणको कमजोरी र नेतृत्वमा बढ्दै गएको सैद्धान्तिक तथा राजनीतिक विचलनले गम्भीर समस्या सिर्जना गरे। विशेषतः स्टालिनपछि ख्रुश्चेभकालमा देखिएका नीतिगत परिवर्तन, समाजवादी व्यवस्थाभित्रका संरचनागत संकट र बाह्य साम्राज्यवादी दबाबले ती समस्यालाई थप जटिल बनाए। अन्ततः सन् १९९१ मा सोभियत संघ विघटन भयो। यो विश्व समाजवादी आन्दोलनका लागि ठूलो ऐतिहासिक धक्का थियो।
 
तर सोभियत संघको विघटनलाई समाजवादको मूल ध्येय र ऐतिहासिक आवश्यकताको अन्त्यका रूपमा बुझ्नु गम्भीर भूल हुनेछ। यसले समाजवादी निर्माणका उपलब्धिसँगै त्यसका कमजोरी, अन्तर्विरोध र विफलताका कारणहरूको वैज्ञानिक, वस्तुनिष्ठ र आलोचनात्मक समीक्षा गर्नुपर्ने आवश्यकता उजागर गरेको छ। कुनै पनि क्रान्ति र सामाजिक व्यवस्था इतिहासभन्दा माथि हुँदैन। त्यसका उपलब्धिको रक्षा गर्दै कमजोरीबाट शिक्षा लिनु र बदलिँदो वस्तुगत परिस्थितिअनुसार विचार, संगठन र कार्यदिशाको विकास गर्नु नै क्रान्तिकारी निरन्तरताको आधार हो।
 
आज विश्व पुँजीवाद वित्तीय एकाधिकार, बहुराष्ट्रिय निगम, डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताको तीव्र विस्तारसँगै नयाँ स्वरूपमा विकसित भइरहेको छ। उत्पादनको सामाजिक चरित्र व्यापक बन्दै गएको छ, तर उत्पादनका साधन, प्रविधि, पुँजी र आर्थिक निर्णयमाथिको स्वामित्व तथा नियन्त्रण सीमित शक्तिको हातमा केन्द्रित हुँदै गएको छ। फलतः एकातिर अपार सम्पत्ति र प्रविधिको विकास भइरहेको छ भने अर्कातिर बेरोजगारी, असमानता, श्रमशोषण, गरिबी, वातावरणीय विनाश र आर्थिक असुरक्षा बढिरहेका छन्। युद्ध, नवऔपनिवेशिक निर्भरता र शक्तिशाली राष्ट्रहरूको प्रभुत्वले विश्व शान्ति र राष्ट्रिय स्वाधीनतामाथि समेत चुनौती थपिरहेका छन्।
 
यस परिस्थितिमा अक्टोबर समाजवादी क्रान्तिको मूल ध्येय अझै सान्दर्भिक प्रश्नका रूपमा उपस्थित छ—उत्पादन गर्ने बहुसंख्यक जनताको हितमा अर्थतन्त्र, राज्यसत्ता र सामाजिक संरचनालाई कसरी रूपान्तरण गर्ने? प्रविधि र उत्पादनको विकासबाट सिर्जित सम्पत्ति तथा अवसरको न्यायपूर्ण वितरण कसरी सुनिश्चित गर्ने? श्रमको सम्मान, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता, जनतन्त्र र मानवमुक्तिलाई कसरी एकीकृत गर्ने? यी प्रश्नको उत्तर इतिहासका पुराना अनुभवलाई यान्त्रिक रूपमा दोहोर्‍याएर प्राप्त हुँदैन। मार्क्सवाद–लेनिनवादको वैज्ञानिक पद्धतिलाई आत्मसात् गर्दै आजको विश्व र प्रत्येक देशको ठोस वर्गीय संरचना, उत्पादन सम्बन्ध, राजनीतिक शक्ति सन्तुलन तथा सामाजिक यथार्थको वस्तुगत विश्लेषण गर्नुपर्छ।
 
समाजवादको निर्माण जनताको सक्रिय सहभागिता, वास्तविक जनतन्त्र, आलोचना–आत्मालोचना, नेतृत्वको जवाफदेहिता, राष्ट्रिय विशिष्टताको सम्मान र उत्पादन शक्तिको विकाससँग जोडिनुपर्छ। विगतका समाजवादी अनुभवका उपलब्धि र कमजोरी दुवैबाट शिक्षा लिनु अपरिहार्य छ। अक्टोबर क्रान्तिको अमर विरासत कुनै विशेष देश, काल वा नेतृत्वको मात्र विषय होइन; त्यो शोषण, उत्पीडन र असमानतामुक्त मानव समाज निर्माणको सार्वभौम आकांक्षासँग जोडिएको छ। त्यसको रक्षा गर्नु भनेको इतिहासको गुणगान मात्र गर्नु होइन, वर्तमान यथार्थको वैज्ञानिक विश्लेषण गर्दै भविष्यको सामाजिक रूपान्तरणको सही बाटो पहिल्याउनु हो।
 
अतः महान् अक्टोबर समाजवादी क्रान्तिको वास्तविक सम्मान त्यसका ऐतिहासिक उपलब्धिको स्मरणमा मात्र होइन, त्यसका अनुभवबाट शिक्षा लिँदै श्रम, समानता, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र मानवमुक्तिमा आधारित नयाँ समाज निर्माणको संघर्षलाई समयानुकूल अघि बढाउनमा निहित छ। समाजवादी क्रान्तिको ध्येय अमर छ; त्यसलाई साकार पार्ने बाटो भने निरन्तर वैज्ञानिक समीक्षा, सिर्जनात्मक चिन्तन र जनमुखी व्यवहारबाट विकसित हुनुपर्छ।
महान् अक्टोबर समाजवादी क्रान्ति अमर रहोस् !