सहकारीका सञ्चालक र व्यवस्थापकको योग्यता जाँच्दै नियमन प्राधिकरण
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण तथा सञ्चालन इजाजतपत्र प्राप्त गर्न सञ्चालक पदाधिकारी र व्यवस्थापकको योग्यता तथा अनुभवसम्बन्धी थप विवरण र कागजात पेस गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले कात्तिक १७ गते सूचना जारी गर्दै यसअघि एफसीआरएस प्रणालीमा विवरण प्रविष्ट गरिसकेका सहकारी संस्थालाई समेत संशोधित मापदण्डअनुसार थप कागजात अपलोड गर्न भनेको हो । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ को सातौँ संशोधनअनुसार सञ्चालक पदाधिकारी तथा व्यवस्थापकको योग्यता र अनुभव (फिट एन्ड प्रपर टेस्ट) सम्बन्धी नयाँ व्यवस्था लागू भएपछि प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।
प्राधिकरणका अनुसार सञ्चालन इजाजतपत्र प्राप्त गर्न सञ्चालक पदाधिकारी तथा व्यवस्थापकको व्यक्तिगत अभिलेख तयार गरी आवश्यक प्रमाणपत्र तथा कागजात एफसीआरएस प्रणालीमा अपलोड गर्नुपर्नेछ । यसका लागि सम्बन्धित व्यक्तिले फौजदारी तथा वित्तीय कसुरमा सजाय नपाएको र कालोसूचीमा नरहेको विषय प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार सञ्चालक पदाधिकारी तथा व्यवस्थापक फौजदारी अभियोगमा सजाय पाएको भए सम्बन्धित कसुरको सजाय भुक्तान गरेको कम्तीमा तीन वर्ष पूरा भएको हुनुपर्नेछ । त्यस्तै, बैंकिङ तथा वित्तीय कसुरमा सजाय पाएको भए पनि सजाय भुक्तान गरेको न्यूनतम तीन वर्ष पूरा भएको हुनुपर्नेछ ।
यसैगरी, सम्बन्धित व्यक्ति कालोसूचीमा परेको भए सूचीबाट हटेको कम्तीमा तीन वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ । यी सबै विषय प्रमाणित गर्न सम्बन्धित व्यक्तिको प्रहरी प्रतिवेदन र कर्जा सूचना केन्द्रबाट प्रमाणित कागजात पेस गर्नुपर्नेछ ।
प्राधिकरणले आवश्यक कागजातसँगै प्रणाली वा वेबसाइटबाट डाउनलोड गरी रीतपूर्वक भरेर तयार गरिएको प्रमाणित स्वघोषणापत्रसमेत अपलोड गर्न भनेको छ । यसका लागि सहकारी संस्थाले आफ्ना सञ्चालक पदाधिकारी तथा व्यवस्थापकको छुट्टाछुट्टै व्यक्तिगत अभिलेख तयार गर्नुपर्ने हुन्छ ।
यसअघि साविकको मापदण्डअनुसार एफसीआरएस प्रणालीमा विवरण प्रविष्ट गरिसकेका संस्थाले पनि अब संशोधित मापदण्डअनुसारका थप विवरण र कागजात अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्नेछ । प्राधिकरणले पुरानो विवरण मात्रै पर्याप्त नहुने स्पष्ट पारेको छ ।
त्यस्तै, अब पहिलोपटक दर्ता अभिलेखीकरण तथा सञ्चालन इजाजतपत्रका लागि एफसीआरएस प्रणालीमा विवरण प्रविष्ट गर्ने सहकारी संस्थाले पनि संशोधित मापदण्डको बुँदा नम्बर १ मा उल्लेख गरिएका सम्पूर्ण विवरण तथा कागजात एकैपटक प्रविष्ट गर्नुपर्नेछ ।
प्राधिकरणले कतिपय सहकारी संस्थाबाट इजाजतपत्र प्राप्त गर्ने मापदण्ड र सञ्चालकको योग्यता तथा अनुभवसम्बन्धी नयाँ व्यवस्थाबारे जिज्ञासा आएको भन्दै प्रक्रिया स्पष्ट पार्न सूचना जारी गरेको जनाएको छ । नयाँ व्यवस्थाले सहकारीको नेतृत्व तहमा रहने व्यक्तिको विगतको आपराधिक तथा वित्तीय कसुरसम्बन्धी अवस्था र कालोसूचीको अभिलेखलाई समेत इजाजतपत्र प्रक्रियासँग जोडेको छ ।
नेपालपत्र संवाददाता