बुधबार, भाद्र ३ गते २०८३

बचत–ऋण सहकारीको भविष्य: नियामकीय मार्गचित्र र नेतृत्व रूपान्तरणका लागि गोष्ठी

मंसिर १५, २०८२ सोमबार
बचत–ऋण सहकारीको भविष्य: नियामकीय मार्गचित्र र नेतृत्व रूपान्तरणका लागि गोष्ठी


बचत तथा ऋण सहकारीहरुको संस्थागत विकासको चरणमा सञ्चालक र व्यवस्थापनलाई केही विषय देखाउनुपर्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासहरु ल्याएर सिकाउनुपर्छ र भनेर हामीले पहिलो पटक सन् २०१२ मा सोल्टी होटलमा साकोस शिखर गोष्ठी गर्यौं । त्यतिबेला गोष्ठी गरिरहँदा हामीलाई नेपालमा बचत तथा ऋण सहकारी संस्था धेरै भए, अब एकीकरणमा लैजानुपर्छ भन्ने लाग्यो । त्यो गोष्ठीले बचत ऋण सहकारीमा एकीकरणको लहर ल्यायो । सन् २०१५ मा दोस्रो साकोस शिखर गोष्ठी आयोजना गर्दा अब बचत ऋण सहकारी संस्थाहरु आ आफ्नै तरिकाले सञ्चालन भएर हुँदैन, एकरुपताकासाथ सञ्चालन हुनुपर्छ भन्ने नेफ्स्कूनलाई लाग्यो । नेपालमा बलियो नियामक निकाय नभएको अवस्थामा स्वःनियमनको भरमा मात्र सहकारी संस्थाहरु सञ्चालन हुँदा विधि, नीति र कार्यपद्धति फरक हुने भएकाले त्यसमा एकरुपता कायम गर्न युनिफिकेशन कार्यक्रम अगाडि बढायौं । सन् २०१८ मा आयोजना गरिएको तेस्रो शिखर गोष्ठीले स्टयाण्डराइजेशनको अवधारणा ल्यायो । संस्थाहरुको फ्रेमवर्क, डकुमेन्टेशनदेखि सबै विषय स्ट्याण्डर्ड हुनुपर्छ भन्ने मान्यता अघि सार्यो । सन् २०२२ मा भएको चौंथो शिखर गोष्ठी भएको थियो भने यो पाँचौं साकोस शिखर गोष्ठी हो । 

यस बर्ष हामीले सहकारी संस्थाको वित्तीय अवस्था, सञ्चालनको अवस्था, ऋण लगानीको अवस्था र उनीहरुको खर्चलाई मध्यनजर गरी सदस्य संघसंस्थालाई ठुलो भार नपर्ने हिसाबले गोष्ठी आयोजना गर्न गइराखेका छौं ।  यस पटक लाग्ने कष्ट मात्र लिएर गोष्ठी गर्न लागेका हौं । आगाी पौष ३ देखि देखि हामीले तीन ठुला कार्यक्रम आयोजना गर्दैछौं । पौष ३ गते र ४ गते आधा दिनसम्म गोष्ठी गर्छौं भने त्यसपछि साधारण सभा हुन्छ । ५ गते साधारण सभामा सहभागी भएका प्रतिनिधिहरुको बिचमा स्थिरिकरण कोषको पनि साधारण सभा गर्ने मिति तय गरेका छौं । ठुला तीन वटा कार्यक्रम गर्नुपर्ने भएकाले हामीले चाँडैदेखि तयारी थालेका हौं । २०८१ मा अध्यादेश मार्फत् ऐन संशोधन भएपछि बचत तथा ऋणको कारोबार गर्ने संस्थाहरुलाई कसरी व्यवस्थित गरेर लैजाने भन्ने चुनौती हामीसामु छ।

लामो छलफल, लविङ र अन्तरक्रियापछि राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भएको छ। प्राधिकरणले बचत ऋणको मुख्य कारोबार गर्ने संस्थाहरुलाई इजाजत दिन शुरु गरेको छ । प्राधिकरणबाट जारी भएका मापदण्ड र निर्देशनमा संस्थाहरुलाई समायोजन भएर जाने विषयलाई सम्बोधन गर्नुपर्छ भन्ने उदेश्यले यो गोष्ठी गर्न लागिएको हो । हिजोका दिनमा स्वःनियमनमा सञ्चालन भएका संस्थालाई कडा नियमनमा समेत कसरी एड्जष्ट भएर जाने भन्ने जानकारी दिनु गोष्ठीको अर्को उद्देश्य हो । स्वःनियमन र कडा नियमनमा रहँदा विश्वव्यापी अभ्यास कस्तो छ भन्ने विषयमा यस पटकको गोष्ठीमा छलफल गर्छौं । 

पहिलो सत्र ‘नियामकीय मार्गचित्रः साकोसको दिगो संस्थागत रुपान्तरणको चुनौती र अवसरहरु’ भन्ने रहेको छ । नियामकीय मार्गचित्र कसरी बनिराखेको छ र त्यसमा साकोसहरु कसरी दिगोरुपमा सञ्चालन हुनसक्छन् भन्ने विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । दोस्रोमा ‘सम्पत्ति शुद्विकरण निवारण सम्बन्धी कानुनी व्यवस्था र परिपालनको विषय’ मा कार्यपत्र प्रस्तुत हुने छ । सहकारी क्षेत्रका लागि यो विषय अहिले चुनौतिपूर्ण बन्दै गएको छ । विभाग सम्पत्ति शुद्विकरणको विषयमा अहिले निकै कठोर बन्दै गएको छ । मुलुक ग्रे लिष्टमा पर्नुको एउटा कारण सहकारी पनि हो भनिएको छ । यो विषयमा कार्यपत्र प्रस्तुत गर्नको लागि सहकारी विभागलाई नै अनुरोध गरेका छौं । तेस्रो, परिवर्तित समयमा लिडरसीपलाई कसरी चेन्ज गरेर जाने भन्ने रहेको छ । सेल्फ रेगुलेशनमा चलेका साकोसहरुको लिडरसीपको सोचाइलाई परिवर्तित समयमा कसरी सिफ्ट गर्न सकिन्छ भन्ने विषयमा पनि कार्यपत्र प्रस्तुत गरिनेछ । अहिले  प्रुडेन्सिल स्ट्याण्डर्डहरु र मापदण्ड कडा हुँदै आएकाले साकोसहरुले कसरी रिपोर्टिङ गर्नुपर्छ, कसरी संस्था सञ्चालन गर्न सकिन्छ र त्यसका लागि कस्तो नेतृत्व चाहिन्छ भन्ने विषयमा जानकारी दिइनेछ ।

अहिले भइराखेको नेतृत्वले नै परिवर्तित सन्दर्भमा कसरी काम गर्नसक्छ र आगामी नेतृत्व कस्तो आउनुपर्छ, उनीहरुको ‘फिट एण्ड प्रोपर’ कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल गरिनेछ । यसका लागि एसियाली ऋण महासंघबाट सहजीकरण हुनेछ । चौंथो सत्रमा ‘वित्तीय सहकारीमा स्वःनियामकीय अभ्यासः चुनौती तथा आगामी मार्गचित्र’को विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । स्वःनियामकीय अभ्यास कस्तो हुनुपर्छ ? रेगुलेशन भन्दा पनि स्वःनियमनबाट कसरी सञ्चानल हुने भन्ने विषयमा यस सत्रमा छलफल हुने छ । सहकारी मुल्य, मान्यता र सिद्धान्तभित्र संस्था सञ्चालन भई सुशासनलाई बलियो बनाउन सकियो भने ती संस्थाहरुलाई बाहिरी नियमन चाहिँदैन । नियमन पृष्ठमा बस्दा पनि हुन्छ । त्यस्ता अभ्यासहरु पनि  विश्वका धेरै देशमा भएकाले हामीकहाँ ती अभ्यासको बारेमा छलफल गर्ने योजना बनाएका हौं । विश्वव्यापी दृष्टिकोणबाट नेपालमा यसको सम्भावना कत्तिको रहन्छ भन्नेमा छलफल हुनेछ । नियमनलाई होइन स्वःनियमनलाई अगाडि ल्याएर संस्था सञ्चालन हुने अवस्था कसरी सृजना गर्ने भन्ने विषयमा चौथो सत्रमा छलफल गरिनेछ । 

पाँचौं सत्रमा वित्तीय सहकारी संस्थाहरुको लागि सञ्चालन मानकीकरण ढाँचा विषय रहेको छ । वित्तीय सहकारीहरु कसरी सञ्चालन हुनुपर्छ, त्यसका लागि जनशक्ति, कार्य पद्धति, कार्यविधि, प्रविधि कस्तो हुनुपर्छ भनेर सिकाइन्छ । त्यसका मानकहरु के–के हुन् भन्ने विषयमा छलफल गरिन्छ । स्तरीकरण कार्यक्रममा आवद्ध भएर जोखिम सुपरीवेक्षण, एक्सेस, प्रोबेशन ब्राण्ड र स्क्यान कार्यक्रममा जोडिएका संस्थाहरुलाई विश्वव्यापी रुपमा कसरी साकोस सञ्चालन भइरहेका छन् र त्यसका मानकहरु के–के हुन् भन्ने विषयमा छलफल हुन्छ । अन्तिम सत्रमा ‘वित्तीय सहकारीको स्रोत परिचालनः वर्तमान प्रवृत्ति र आगामी मार्गदिशा’ को बारेमा छलफल गरिनेछ । 

अहिले अधिकांश संस्थाहरुमा तरलता अधिक छ भने ऋण लगानी हुन सकेको छैन । सहकारीको विश्वव्यापी अभ्यासले जति बचत संकलन भयो ऋण पनि सोही मात्रामा लगानी गर भन्छ । सदस्यबाट एक सय रुपैयाँ बचत लिइन्छ भने लगानी पनि एक सय नै हुनुपर्छ । अहिले सहकारी संस्थामा स्रोत परिचालन भइराखेको छैन । कुन पद्धति अथवा के–के विधि अपनाइयो भने संस्थाहरुको ऋण लगानी बढ्छ । ५०–६० प्रतिशत तरलतामा राख्ने र ४० प्रतिशत ऋण लगानी गरेर सदस्यबाट लिएको बचतको ब्याज समेत दिन पुग्दैन । संस्थामा जम्मा भएको बचतलाई कसरी परिचालन गर्न सकिन्छ भनेर स्रोत व्यक्तिबाट कार्यपत्र प्रस्तुत हुन्छ र नयाँ उपायहरु समेत आउने हुनाले यो गोष्ठी अझ महत्वपूर्ण छ ।

सदस्यहरुलाई वित्तीय साक्षरतामार्फत् संस्थाको ऋण लगानी तथा असुली र वित्तीय व्यवस्थापनका विषयमा समेत सिकाइने हुँदा यो गोष्ठी फलदायी हुने अपेक्षा छ । परियोजना र समुहमार्फत् लगानी गरी त्यसबाट प्रतिफल आएर सदस्यको जीवनस्तर परिवर्तनमा सघाउने छ । हामीले धेरै पटक नीतिगत कुरा मात्र गर्यौ, अब कसरी अभ्यासमा लैजान सकिन्छ र संस्थामा जम्मा भएको पुँजीलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा गोष्ठीमा छलफल गरी निचोड निकाल्नले लक्ष्य राखेका छौं । 

गोष्ठीमा सञ्चालक र व्यवस्थापन दुवै पक्षबाट सहभागी हुन सकिनेछ । परिवर्तित नियामकीय परिवेशमा बचत ऋण सहकारीहरुले कसरी वृद्धि र विकास गर्न सक्छन् भन्ने हेतुले नै गोष्ठी आयोजना गर्न लागिएको हो । संस्थाहरुमा वित्तीय पारदर्शिता र सुशासन कसरी कायम गर्ने, सदस्यको विश्वास जिती सहकारीको साखलाई कसरी जोगाउन जस्ता पक्षमा गोष्ठी फलदायी हुने भएकाले सदस्य र गैर सदस्य संस्थाहरुले समयमा नै नाम दर्ता गरि सिट सुरक्षित गर्न म आग्रह गर्दछु । देशभरबाट ६ सय सहभागी गराउने योजना रहेकाले इच्छुक सहभागीहरुबाट छिट्टै नाम दर्ताको लागि आग्रह गर्न चाहन्छु । 

अब सहकारी संस्थाहरुको लागि गोष्ठीको लहर चल्छ र चल्नु पनि पर्छ । किनभने नियामकीय अनुकुलताका विषयमा संस्थाहरुलाई जिल्ला, प्रदेश र केन्द्र सबैले सुसूचित गर्नु राम्रो हुन्छ ।