आइतबार, आश्विन १८ गते २०८३

जेन दर्शनमाथि महत्वपूर्ण गोष्ठी सम्पन्न


मंसिर ११, २०८२ बिहीबार
जेन दर्शनमाथि महत्वपूर्ण गोष्ठी सम्पन्न

 नेपाल प्रज्ञा प्रतिष्ठान र जरा फाउन्डेसन, नेपालको संयुक्त आयोजनामा जेन दर्शन र नेपाली साहित्य विषयक एक दिवसीय विचार गोष्ठी सम्पन्न भएको छ। जरा फाउन्डेसन नेपालका अध्यक्ष कवि, कथाकार तथा निबन्धकार कृष्ण प्रसाईंको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानको देवकोटा कक्षमा मंसिर ९ गते आयोजित उक्त गोष्ठीमा समालोचक महेश पौड्याले ‘जेन दर्शन र नेपाली कविता: आदिम सम्बन्ध र पुनर्जागरणको प्रश्न’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।कार्यपत्रमा उनले चीन, कोरिया तथा जापान हुँदै विश्वभर फैलिएको जेन, मूलतः नेपाली दर्शन भएको दावी गरे। “जेन बुद्धकै दर्शनमा आधारित चिन्तन पद्धति भएको र बुद्ध आफैंमा नेपालको मौलिक चिन्तनबाटै प्रभावित भएको हुँदा जेन पूरापूर नेपाली दर्शन हो,” उनले भने। उनले जेन प्रभावित साहित्यको दृष्टान्तमा कवि कृष्ण प्रसाईंका केही कविताको वाचन र चर्चा समेत गरे। 

Jengosthi.jpeg
अन्य विधामा पनि जेन प्रभाव खोज्नुपर्ने कार्यपत्रमाथि टिप्पणी गर्दै समालोचक कुमारी लामाले जेन नेपाली दर्शन भएको कुरामा आफू पनि सहमत भएको बताइन्। यद्यपि उनले नेपालमा कविता मात्र होइन, अन्य विधामा पनि जेनको प्रभाव लामो समयदेखि परेको हुनसक्ने भन्दै अनुसन्धानलाई त्यसतर्फ पनि केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याइन्।अर्का टिप्पणीकार प्राध्यापक डा. जीवलाल सापकोटाले थप दृष्टान्तहरूबाट जेनको सैद्धान्तिक पृष्ठभूमि र साहित्यमा त्यसको प्रभावलाई अझ तर्कसंगत बनाउन सकिने जिकिर गरे। 

कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति भूपाल राईले जेनजस्ता मौलिक नेपाली दर्शनको अनुसन्धान र प्रवर्धनका लागि प्रतिष्ठान सदैव तत्पर रहेको बताए। “लामो समयसम्म प्रतिष्ठानको प्राथमिकतामा नेपाली दर्शन नपर्नु विडम्बनाको कुरा हो,” उनले भने। “तर अब समय फेरिएको छ। हामी मौलिक दर्शनहरूको प्रवर्धनमा काम गर्नेछौं।” 
प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले पनि यस्ता मौलिक दर्शनमाथि गोष्ठी गर्न पाउँदा प्रतिष्ठान हर्षित भएको उल्लेख गरे ! 
कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष तथा जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईंले आफू कोरियामा रहँदा ताका कोउन लगायत त्यहाँकालगाय त्यहाँ अन्य जेन मास्टरहरूको संगतका कारण जेनतिर आकर्षित भएको बताए। उनले आफूलाई जेन उन्मुख बनाउन अनुवादक तथा प्राध्यापक ब्रदर एन्थोनीले पनि प्रेरित गरेको बताए ! 

jensahitya2.jpeg
कार्यक्रममा जरा फाउन्डेसनले वर्षेनी प्रदान गर्ने तीन वटा नयाँ पुरस्कारको घोषणा गरेको छ। विशेष आवश्यकताको स्थितिमा रहेका नेपाली नागरिकलाई रु. ५० हजार राशिको ‘जरा जीवन संधान सहयोग’ को घोषणा गरिएको छ। यसैगरी कला, साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने वा अदम्य साहसद्वारा मानवताका हितमा काम गर्ने व्यक्तित्वलाई रु. एक लाख राशिको ‘जरा विशिष्ट प्रतिभा अन्तर्राष्ट्रिय पुरस्कार’, तथा दीर्घकालसम्म कला, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउने मूर्धन्य प्रतिभालाई रु. १.५ लाख राशिको ‘जरा दीर्घ साधना अन्तर्राष्ट्रिय अलंकार’ प्रत्येक वर्ष मंसिरमा पर्ने जरा फाउन्डेसनको स्थापना दिवसको अवसर पारेर प्रदान गरिने घोषणा , विगत वर्ष अर्घाखाँचीका ६३ वर्षीय ११ केजी तौल भएका कृष्णप्रसाद पौडेललाई जरा फाउन्डेसनकै सक्रियतामा नेपाल सरकारसित समन्वय गरी रु. दस लाख जीवन वृत्तिका लागि सहयोगस्वरूप प्रदान गरिएको थियो ! 

आगामी माघ महिनामा काठमाडौंमा सम्पन्न गरिने जेन कविता प्रतियोगिताका लागि जेन कविहरूबाट कविता पनि आह्वान गरिएको छ। यस कार्यक्रममा कवि प्रज्ज्वल अधिकारीले जरा फाउन्डेसनको परिचय तथा कार्यविवरण प्रस्तुत गरेका थिए भने कवि असीम सागरले एउटा जेन कविता वाचन गरेका थिए। कार्यक्रमलाई कवि सिर्जना शर्माले सञ्चालन गरेकी थिइन्।