–कविता–
आत्म सम्मानमा ठेस लाग्छ जब
तब मान्छेमा बिद्रोह जन्मन्छ
बिद्रोहले कायापलट हुने छ विरासत
खोसिने छ सुरक्षा कवच
तोडिने छ अहंकारको गजबार
अनि लेखिने छ इतिहास
वीरवीरङ्गानाहरुको अदम्य साहसको ।
मैले मात्रै खाएर हुन्न
मैले मात्रै लाएर हुन्न
मैले मात्रै रमाएर हुन्न
बर्षौ देखी भोकै रहेका
बर्षौ देखी नाङ्गै रहेका
बर्षौ देखी दुःखले घेरिएका
एक हुल मान्छेहरु
खुशीको गीत गाँउने आशामा
कठोर मानिएको
भोक युद्धमा सामेल छन
बिश्वासका पहाड उक्लदै
शिखर चुम्ने दाउमा छन तिनीहरु ।
मान्छे बन्धन चुँडाल्न कस्सिएका छन
स्वभावतः मान्छे स्वतन्त्रता रोज्छ
स्वतन्त्रता प्राप्तिका नाममा
मान्छे बलिवेदीमा चढेका छन
मान्छेको त्याग देखेर
आकाश, धरती गर्वले छाती फुलाउँछन
हिमालहरु अग्लन्छन
नदीहरु बिजयको गीत गाउँछन ।
म लेख्दै छु साहसको कथा
म उक्लदै छु सफलताको सिढी
मलाई पलायनता नपस्क
म गाउँने छु संघर्षको गीत
अनि बाँच्ने छु अजम्बरी जस्तो
मान्छेका आँखामा नबिझाउँने गरी ।
मैले लेख्ने कथा
माटोको हुने छ
मैले गाउँने गीत
जागरणको हुने छ
मैले लाउने प्रीत
गाढा मिलनको हुने छ
म पश्चाताप गर्ने छैन
जीवनका असन्तुष्टि प्रति
म गर्व गर्ने छु
मलाई जीवन दिने
बा आमा प्रति
अनि गर्व गर्ने छु
मलाई जीवनको बाटो देखाउने गुरु प्रति ।
मान्छे रोइ रहेछन
जीवनको भेउ नपाए पछि
जीवन सुन्दर फूल हो
भनौ कसरी ?
नभनौ कसरी ?
जिजीविषा सल्वलाई रहेछन
फूल जस्तै हाँसौ जिन्दगी ।
———
सुन्दरहरैंचा–६, दुलारी, मोरङ ।
kpchandra2023@gmail.com