शनिबार, आश्विन १७ गते २०८३

ब्रिक्स र मेरो नाति

भाद्र २९, २०८३ सोमबार
ब्रिक्स र मेरो नाति

मेरो नाति सडकतिर घुम्न जान्छ

पसल निर पुग्दा मेरा औंला तान्छ

मलाई पसलतिर लान्छ

अनि चकलेट आइसक्रिम खान्छ

बालकको यो रहरमा मेरो

कति नै खर्च जान्छ

म दङ्ङ, अनि बालक फुरुङ्ङ।

 

कुन चकलेट किन्नलाई  कुन पसल जाने

नातिलाई उसबेला पनि थाहा थियो

तर उ पसलहरू धाएन

बिम्स्टेकले चकलेट पनि ल्याएन

यसपाली ब्रिक्स बाजा बजाएर आयो

ब्रिक्सले लोभसमेत देखाएन।

 

तिनका जी डी पी मेरो नातिले बुझ्दैन

उसले चकलेटका नाम र प्रकार बुझ्छ

ललिपप बुझ्छ क्याड्बरी बुझ्छ

मार्सिकोल गम्मी र जेली पनि  बुझ्छ।

आइसक्रिमका परिकारहरू चिन्छ

भ्यानिला चकलेट र बटर स्कच चिन्छ

नाति आफैं अगि सरी किन्छ

अनि साना हत्केलामा राख्छ

अनि सुस्तरी लिन्छ।

 

तिनताक बिम्स्टेक आ'को थियो रे

अनि बिम्स्टेकले के पापा ल्यायो

यो कुरो बाबुले निकैपटक सोध्न भ्यायो

मलाई नै थाहा थिएन

के ल्यायो के ल्यायो

तर केही ल्याएन

त्यसैले मेरो मनले त्यसको गीतसमेत गाएन।

मैले त्यसलाई निकै पहिला नै बिर्सें

मेरो नातिले कुनै आइसक्रिमधरि पाएन

केक काट्ने कुरा के गर्नु र?

बेकरीको सानो टुक्रा पनि खान पाएन।

 

बिम्स्टेक हामीजस्ताको संघारमा कहिल्यै आएन

मेरो नातिले हिजो ब्रिक्स आएको चालसमेत पाएन

ब्रिक्स दूर देशमा उफ्रेछ, नाचेछ

अनि अलिकति कम्मर भाँचेछ

त्यो डान्स मेरो देशले समेत हेर्न पाएन

कुनै मजा नै आएन।

 

अनि नयाँ चकलेट कसरी आओस् ?

मेरो नातिले पुराना ब्राण्डका चकलेट किन न खाओस्?

ती रैथाने चकलेट कुल्फी बरफ र डेरीका आइसक्रिम

अब मुलुकमा राम्रो फस्टाओस्

अरुको कुरो हो अरुतिरै जाओस्

हाम्रामा अबभने चेत पलाओस्

अब पनि कति तल जाने?

 

मेरो नाति बाबुले भन्यो

बुवा हामी हाम्रै चकलेट र आइसक्रिम खाने!

 

(मेरो देश र अबोध बालकहरू प्रति)

सेप्टेम्बर १३, २०२६ (दर खाने दिन)। भक्तपुर नेपाल। ©®