एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले एकाइ १ अन्तर्गतको साधारणसभा भक्तपुरको लोकन्थली स्थित दिव्येश्वरी पार्टी प्यालेसमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष भूमिराज खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका संस्थापक उपाध्यक्ष एवम राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डी.बी. बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।
साधारणसभामा संस्थाको समग्र प्रगति, आर्थिक अवस्था, संस्थागत गतिविधि तथा भावी योजनाका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा संस्थाको सञ्चालक समितिको प्रतिवेदन तथा आगामी कार्ययोजनासम्बन्धी प्रतिवेदन संस्थाका सचिव केशवकुमार कार्कीले प्रस्तुत गरेका थिए। त्यसैगरी, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संस्थाका व्यवसाय विभाग प्रमुख निर्मलकुमार कार्कीले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनहरूमाथि सभाको बन्द सत्रमा छलफल गर्दै संस्थाको भावी कार्यदिशा, वित्तीय अनुशासन, पारदर्शिता, सुशासन तथा सदस्यहरूको हित संरक्षणका विषयमा विशेष जोड दिइएको थियो।
कार्यक्रममा प्रमुख अतिथि बस्नेतले संस्थाको स्थापना कालदेखि हालसम्मको यात्रा, संस्थागत विकास र सहकारी अभियानमा सदस्यहरूको भूमिका तथा योगदानको महत्त्वबारे चर्चा गरेका थिए । कार्यक्रमका सभापती संस्थाका अध्यक्ष खड्काले संस्थाको दिगो विकास, सदस्यहरूको विश्वास अभिवृद्धि र सहकारीका मूल्य, मान्यता तथा सिद्धान्तलाई आत्मसात् गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
एकता, विश्वास र सहकार्य समृद्धिको आधार भन्ने मुल भावका साथ सम्पन्न सभामा संस्थाका संचालक समिति सद्स्य एवम् काठमाडौ सेवा केन्द्र समिति संयोजक देब बहादुर श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन संस्थाका का .मु. प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्रीले संचालन गरेका थिए ।
नेपालपत्र संवाददाता