बुधबार, भाद्र ३ गते २०८३

“कार्यक्षेत्र विस्तारका नाममा समुदाय बाहिर गएकाले सहकारीमा सम्पत्ति शुद्धिकरणको जोखिम छ”


मंसिर ४, २०८२ बिहीबार
“कार्यक्षेत्र विस्तारका नाममा समुदाय बाहिर गएकाले सहकारीमा सम्पत्ति शुद्धिकरणको जोखिम छ”

राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भएपछि सहकारी विभागको भूमिका खुम्चिएको हो ? 

सहकारी विभाग पुरानो निकाय हो । सहकारी ऐन २०७४ र  नियमावली २०७५ ले दिएको म्याण्डेट अनुसार विभागले आफ्नो काम गर्दै आएको छ । हाम्रो मुख्य काम भनेको सहकारी संस्थाको अनुगमन गर्ने, अनुगमन गर्दा कैफियत देखिएका विषयहरुमा सुधार लागि कार्य योजना माग गर्ने, सुधार गर्न चाहने संस्थाहरुलाई समय दिने र  सुधार नगर्ने संस्थाहरुलाई कारवाही गर्ने काम गर्दै आएका छौं । अर्कोतर्फ सम्पत्ति शुद्धिकरणका कारण मुलुक ग्रे लिष्टमा परेको छ । मुलुकलाई ग्रे लिष्टबाट बाहिर ल्याउन  १० वटा विषय संशोधन गर्नुपर्ने अवस्था छ । अहिले अनुगमनमा भन्दा पनि विभागको ध्यान यसतर्फ बढी छ । सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा हालै मात्र हामीले ३ वटा निर्देशन जारी गरेका छौं । सहकारीहरुका लागि जारी गरिएको निर्देशनलाई पाँचौं पटक संशोधन गरिएको हो । संस्थाहरुले के कस्ता नियम पालना गर्ने र नियामक निकायलाई के के विवरण दिनुपर्छ भनेर संशोधनमा उल्लेख छ । त्यसैगरी सहकारी संस्थाहरुको अनुगमन गर्दा स्थलगत र गैर स्थलगत रुपमा कसरी गरिन्छ भनेर पनि मापदण्ड जारी गरेका छौं । अर्कोतर्फ, सहकारी संस्थामा गैर कानुनी रुपमा वित्तीय लगानी भएको हुनसक्छ । त्यस्तो अवस्थामा कसरी सदस्यहरुको पहिचान गर्ने भनेर निर्देशन जारी गरेका हौं । त्यसका अलावा गत आर्थिक बर्षको असार मसान्तदेखि नै हामीले सम्पत्ति शुद्धिकरण निवारणको लागि र जिडिपीमा सहकारी क्षेत्रको योगदानको विषयमा अध्ययन शुरु गरेको हुनाले गुगल सिटमा सहकारी संस्थाहरुको डाटा संकलन गर्दै आएका छौं । ४ महिनाको अवधिमा करिब ४ हजार सहकारी संस्थाले डाटा उपलब्ध गराएका छन् । हामीले एक महिनाको समय थप गरेका छौं र अरु संस्थाहरुले पनि डाटा उपलब्ध गराउने हाम्रो विश्वास छ । 

बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्थाहरुको नियमन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना भएको हो । प्राधिकरण गठन भएपनि विभागले गर्दै आएको काममा कति पनि कटौती नगरेको हुनाले विगतमा जस्तै गरी अहिले पनि काम गरिराखेका छौं । प्राधिकरणले बचत ऋणको मुख्य कारोबार गर्ने संस्थाहरुलाई पुनर्दर्ता गर्ने र त्यसको आधारमा सूचिकृत गरी अगाडि बढ्ने कार्य योजना छ । प्राधिकरणले सूचना जारी गरी संस्थाहरुलाई दर्ताको लागि आव्हान गरिनसकेको हुनाले अहिले हामीले गर्ने काममा केहि पनि कमि आएको छैन । भोलीको दिनमा बचत ऋणको मुख्य कारोबार गर्ने संस्थाहरु प्राधिरकरणमा सूचिकृत भई ती संस्थाहरुको प्रभावकारी रुपमा नियमन हुन थालेपछि हामी अरु काममा केन्द्रीत हुन्छौं । ऐनमा दुवै निकायलाई उत्तिकै अधिकार दिएको छ । दुवै सरकारी निकाय भएकाले यसमा धेरै चर्काचर्की गरिराख्नु पर्ने विषय छैन । प्राधिकरणमा राष्ट्र बैंकका प्रतिनिधि सहित सिएसम्मको दरबन्दी रहेकाले त्यहाँको जनशक्ति बढी दक्ष हुनुहुन्छ । संस्थाहरुलाई बचत ऋणको कारोबार गर्न इजाजत दिएपछि प्राधिकरण ती संस्थाहरुको नियमन तथा सुपरीवेक्षण केन्द्रीत हुन्छ । हामी बचत ऋण बाहेकका विषयमा केन्द्रीत भएर काम गर्छौं । हामीले जारी गर्ने निर्देशनहरु पनि प्राधिकरणले जारी गर्ने निर्देशनको बचाउ गरेर नै जारी गर्ने गरेका छौं । अहिले पनि हामीले त्यहि नै गरेका हौं । सहकारी संस्थाहरुका लागि हुने तालिम, शिक्षाका साथै प्रवद्र्धनको काममा कमी आएको छ । पछिल्लो समय अर्थ मन्त्रालयको खर्च कटौतीको नीति लिएका कारण ती काम हुन नसकेको हो । यस्ता कार्यक्रमहरु भच्युअल माध्यमबाट गर्ने र गर्नै पर्ने कार्यक्रमहरु मात्र गर्ने योजना बनाएका छौं । 

मुलुक ग्रे लिष्टमा परेसँगै सम्पत्ति शुद्धिकरण निवारणमा सहकारीलाई समेत जोडिएको छ, नेपालको सहकारी सहकारी क्षेत्र सम्पत्ति शुद्धिकरणको हिसाबले कतिको जोखिममा छ ?

घर जग्गा, क्यासिनो, सुनचाँदी व्यवसायको तुलनामा  सहकारी क्षेत्र सम्पत्ति शुद्धिकरणमा त्यति धेरै भयावह क्षेत्र होइन । सहकारी संस्थाहरु समुदायमा आधारित भई यसको मुल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन भएको थियो भने यो विषयले सहकारी क्षेत्रलाई छुँदैन थियो । अहिले शहर केन्द्रीत सहकारी संस्थाहरुले वित्तीय रुपमा ठुलो कारोबार गर्नुका साथै कार्यक्षेत्र समेत फराकिलो लिएको हुनाले आफना सदस्यहरुको समेत पहिचान गर्न सकिराखेका छैनन् । अर्कोतर्फ सहकारीले चलाउने सफ्टवेयर पनि सबै संस्थामा एउटै छैन । सबै संस्थाको एकीकृत तथ्याङ्क नआउने भएकाले सम्पत्ति शुद्धिकरणको मामिलामा यो क्षेत्र जोखिमपूर्ण मानिएको हो । बैंक तथा वित्तीय संस्थामा १० लाख माथिको कारोबारको स्रोत देखाउनुपर्छ, शंकास्पद कारोबारको जानकारी सम्बन्धित विभागलाई दिनुपर्छ । त्यसैगरी बचत तथा ऋणको कारोबार गर्ने संस्थाहरुमा पनि त्यो कुरा अनिवार्य गरिएको अवस्था हो । सहकारी क्षेत्रमा जोखिम छँदै छैन भन्न मिल्ने अवस्था छैन । सम्पत्तिको स्रोत प्रष्ट रुपमा देखाउन नसक्ने वर्ग सहकारीमा जोडिएर कारोबार गरिराखेको हुनसक्छ ।

बैकिङ्ग क्षेत्रमा सहज रुपमा कालो धन पहिचान हुन्छ तर सहकारीमा फरक हिसाबले अथवा विभिन्न माध्यमबाट कालो धन आउन सक्ने सम्भावना रहन्छ । यहि विषयलाई नै एफएटिएफले अलि बढी फोकस गरेको हो । सहकारीले रिपोर्टिङ गर्नु पर्ने धेरै विषय पनि छैन । संस्थाहरुले सम्पत्ति शुद्धिकरण हेर्ने फोकल पर्सन तोक्नुपर्छ, सम्पत्ति शुद्धिकरण निवारणसँग सम्बन्धित कार्यविधि बनाउनुपर्छ । १० लाखमाथिको कारोबारको स्रोत खोज्नुपर्छ र शंकास्पद कारोबारको सूचना राष्ट्र बैंक अन्तर्गतको गोएमएल सफ्टवेयरमा रिपोर्टिङ गर्नुपर्छ । त्यसका लागि गोएमएल सफ्टवेयरमा आवद्ध भई शंकास्पद कारोबारको रिपोर्टिङ गर्ने हो । संस्थाहरुले धेरै गर्नुपर्ने विषय छैन । सूचक संस्थाले रिपोर्टिङ गरेपछि सके नियामक निकायले र नसके अनुसन्धानकारी निकायले गएर हेर्छ । 

ग्रे लिष्टबाट बाहिर निष्कन दवाव बढेका कारण विभागले सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित निर्देशनहरुलाई छिटो छिटो संशोधन गरेको हो ?

त्यसमा दुईमत छैन । मुलुक ग्रे लिष्टमा परेको छ । एक वर्ष भित्र ग्रे लिष्टबाट बाहिर निस्कन राज्यका सबै निकायहरुले कोशिस गरिराखेका छन् । हामीले एक किसिमको संशोधन गर्छौं । त्यसको अँग्रेजीमा रुपान्तरण हुन्छ । प्रधानमन्त्री कार्यालयमा यो विषय हेर्न छुट्टै युनिट खडा गरिएको छ । उहाँहरुले त्यसलाई रुपान्तरण गरी विदेशी निकायलाई पठाउनुहुन्छ । उताबाट यी–यी विषयमा सुधार गर्नुस् भन्ने कुरा आउँछ । त्यसको आधारमा पुनः संशोधन गरी बाहिर ल्याउनुपर्ने हुन्छ । छिटो छिटो निर्देशन ल्याउनुपर्नाको कारण यो पनि एउटा हो । 

सहकारीमा सम्पत्ति शुद्धिकरण निवारणको दायित्व संघीय विभागलाई मात्रै पर्ने हो ?

नियामकको हिसाबले स्थानीय र प्रदेश सरकार सबै जवाफदेही बन्नुपर्छ । विभाग संघीय सरकारको नियामक निकाय भएकाले हामीलाई जवाफदेहिताको भार अलि बढी छ । सम्पत्ति शुद्धिकरण सम्बन्धी ५ बर्षे रणनीति छ । सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र अर्थमन्त्रीको संयोजकत्वमा निर्देशन समिति रहेको छ । समितिको सदस्य विभागको रजिष्ट्रार भएको हुनाले प्रदेश र स्थानीय निकायलाई जिम्मेवार बनाउने दायित्व हाम्रो हो । माथिल्लो निकायले हामीसँग मात्र सो सम्बन्धी रिपोर्टिङ माग्छ । अख्तियार, सिआइबी र प्रहरीले तल्लो निकायमा गएर सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित जानकारी र तथ्याङ्क माग्दैनन् । सबै संस्थाको एकीकृत तथ्याङ्क दिनुपर्ने दायित्व हामी कहाँ रहन्छ । सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको सहकारी संस्था हेर्ने र बाँकी संस्था विभागले हेर्ने अवस्था आयो भने यो विषय प्राधिकरणमा जाला । अहिले प्राधिकरणले पूर्ण रुपमा काम गर्न थालिनसकेकाले विभागले नै यो काम गर्नु परेको छ । 

सम्पत्ति शुद्धिकरणको लागि विभागले काम थालेको केहि महिना बितेको छ, प्रगति के छ ? 

अहिले सहकारी क्षेत्र समस्यामूलक क्षेत्र हो भनेर पहिचान भइसकेको छ । समस्याग्रस्त क्षेत्र भएकाले छिटो छिटो सुधार गर्नुपर्छ भन्ने दवाव सदस्य र नियामक निकायबाट समेत महशुस भएको छ । सहकारी आफैंमा अन्तर्राष्ट्रिय मुल्य, मान्यता र सिद्धान्तका आधारमा स्वःनियमनमा सञ्चालन हुने क्षेत्र हो । सरकारको नियन्त्रण जति बढी भयो, यो क्षेत्रलाई त्यति नै असर गर्छ । यहाँ सरकारको नियमन घटाउने हो भने ऐनले संघ, महासंघलाई संस्थाहरुको अनुगमन गर्ने र त्यस क्रममा देखिएका कैफियतहरु नियामक निकायलाई रिपोर्टिङ गर्ने सम्मको अधिकार दिएको छ । त्यसका लागि संघहरु सक्रिय भएर लाग्नु पर्ने अवस्था छ । पछिल्लो समय विभागले समस्याको आधारमा संस्थाहरुको अनुगमनमा जाने र त्यस भन्दा बाहेक संघ महासंघलाई दायित्व बोध गराएर जानुपर्छ भनेर अन्तरक्रिया गर्ने र विवरण माग्ने काम हुँदै आएको छ । विभागको सक्रियताका कारण सम्पत्ति शुद्धिकरण निवारणका विषय सन्तोषजनक रुपमा अगाडि बढेको छ । 

कुनै समय सहकारी भनेको समुदायस्तरमा कारोबार गर्ने संस्था भएकाले सम्पत्ति शुद्धिकरण हुनै सक्दैन भन्ने आवाज अभियान्ताहरुको सुनिन्थ्यो, तर त्यो त देखिएन नि ? 

सहकारी समुदायस्तरमा मात्र रहेर वित्तीय कारोबार गरेको भए सम्पत्ति शुद्धिकरणको कुरा नआउन सक्थ्यो । अहिले सहकारीको कार्यक्षेत्र विस्तारको नाममा पूर्वको सहकारी पश्चिम र काठमाडौंका सहकारी देशभर पुगेको अवस्था छ । यसले गलत अभ्यासको सुरु भयो । सहकारी भनेको एउटा समुदायभित्र रहेर वित्तीय कारोबार गर्ने संस्था हो । सानो कार्यक्षेत्र लिएर कारोबार गरे भने संस्थाले आफ्नो सदस्य चिन्छ । सदस्य चिनेपछि सम्पत्ति शुद्धिकरणको विषय नै आउँदैन भन्ने कन्सेप्ट राम्रो हो । तर सहकारी अब बैकिङ मोडेलमा गए । कार्यक्षेत्र विस्तार गरी सहकारी बैंक बन्न खोजे । मर्जको कुरा आयो, यसले गर्दा सहकारी अब सहकारी रहेन । बचतऋण सहकारी बैकिङ् जस्ता भएपछि कडा निगरानीको आवश्यकता पर्यो । सहकारीको संख्या ठुलो छ तर नियामकसँग एकीकृत तथ्याङ्क छैन । हामीले संस्थाहरुको अफलाइन अनुगमन गर्ने भने पनि सबै संस्थाको एकै प्रकारको सफ्टवेयर नहुँदा त्यो सम्भव देखिएन । वित्तीय रुपमा २५ करोड माथिको कारोबार गर्ने सहकारी संस्थाहरुको कडा निगरानी गर्न आवश्यक देखियो । 

मुलुकभर रहेका ३२ हजार सहकारीलाई कानुुनको दायराभित्र ल्याउने कुरा कतिको सहज छ त ?

ऐनको प्रस्तावना हेर्ने हो भने सहकारी समुदायमा आधारित संस्था भनिएको छ । किसान, मजदुर, न्युन आय भएका वर्ग नै सहकारीका सदस्य हुन् । बचतऋण सहकारीलाई पनि उपभोक्ता सहकारीको रुपमा लिइएको छ । साना साना पुँजीलाई संकलन गरी सदस्यहरुको बिचमा नै आय आर्जन गर्ने क्षेत्रमा ऋण लगानी गर्ने मान्यता हो । ऐनले सदस्य, सरकारको बण्ड खरिद र साना किसान लघुवित वित्तीय संस्थाको शेयर खरिदको लागि मात्र लगानी गर्न सक्ने व्यवस्था गरेको छ । तर सहकारीले अनुत्पादक क्षेत्रः घरजग्गा, शेयर मार्केट र विभिनन कम्पनीमा लगानी गरेका कारण समस्यामा परेका छन् । ती सहकारी संस्थाहरु  सुधार भइ सदस्यको बचत फिर्ता गरे भने भोलीका दिनमा पुनः सञ्चालनमा आउलान् । आजको दिनमा घर जग्गामा आएको मन्दीका कारण संस्थाहरुको गैर बैकिङ सम्पत्ति बढ्दै गएको अवस्था छ । संस्थाहरुसँग सम्पत्ति छ, तरलता छैन । राम्रा सहकारी संस्थामा तरलता थुप्रिएको छ, ऋणको माग छैन । एकाथरी सहकारीमा तरलता नै छैन, घर जग्गामा लगानी भएको छ । दुबै खालको समस्या अहिले सहकारीले भोगिरहेको अवस्था विद्यमान छ । 

सहकारी ऐनले एक व्यक्ति एक पदको व्यवस्था गरेको छ, तर यो विषय कार्यान्वयन गर्न नसकेको भन्दै विभागको आलोचना समेत हुने गरेको छ नि ?

सहकारी संघ संस्थामा एकै समयमा एकै व्यक्ति दुई वटा पदमा बस्ने पाइँदैन, सहकारी महासंघ, जिल्ला तथा केन्द्रीय संघ, सहकारी बैंक र  प्रारम्भिक संस्था सबैलाई ऐनले एउटै परिभाषा गरेको छ । सहकारी संस्था भन्नाले सबै समेटिन्छन् । प्रारम्भिक सहकारी संस्थाको सञ्चालक, संघ वा महासंघको सञ्चालक पदमा बस्नु हुँदैन भन्ने ऐनको मक्सद हो । त्यहि हिसाबले विभागले पनि व्याख्या गरेर गत सालको पौष मसान्तको समय दिएको थियो । पछिल्लो समय यो विषयमा आमसञ्चार माध्यमले प्रश्न उठान गरेपछि सहकारी महासंघ र सहकारी बैंकसँग दोहोरो पदको अवस्था के छ भनेर हामीले जानकारी लिएका छौं । अहिले सबै केन्द्रीय संघ र महासंघसँग विवरण माग गरेका छौं । ऐनको मनासय एउटा व्यक्ति एकै समयमा एक भन्दा बढी संघसंस्थामा सञ्चालक बस्नु हुँदैन भन्ने हो । त्यसरी बस्यो भने स्वार्थको द्वन्द्व हुन्छ । खासगरी नेफ्स्कून र सहकारी बैंक जस्ता संस्थामा दोहोरो पदमा बस्यो भने ती संस्थाको वित्तीय लगानी आफ्नै संस्थामा केन्द्रीत गर्न सक्ने सम्भावना रहन्छ । आफू अनुकूल ऋण लगानी हुनसक्छ भन्ने कुरामा विभाग स्पष्ट छ ।

पछिल्लो समय दोहोरो पदको विषयमा अभियानबाट फरक धारणा आएको विषय सत्य हो । प्रारम्भिक संस्था संघ महासंघको सदस्य हुन्छन् । सदस्य भएकाले माथिलो संघमा प्रतिनिधित्व गर्न रोक्नु हुँदैन भन्ने अभियानको भनाई हो । यो विषयमा कानुनमा द्विविधा भएको हुनाले महान्यायाधिवक्ताको कार्यालयलाई राय लेखदिनु भनेर मन्त्रालयलाई परिपत्र गरेको अवस्था थियो । त्यो परिपत्रको सम्बन्धमा विभागसँग मन्त्रालयले धारणा मागेको थियो । हामीले कानुनमा व्यवस्था भए अनुसार यो यो कारणले एउटै व्यक्ति दोहोरो पदमा बस्नु हुँदैन भनेर प्रतिउत्तर पठाइसकेका छौं । हामीले मन्त्रालयमा राय दिएका छौं । मन्त्रालयबाट एउटा निकास नआइकन हामीले निर्देशन जारी गर्न मिल्दैन । मन्त्रालयमा दिएको रायमा पनि अभियान्ताहरुलाई द्विविधा छ भन्ने लाग्यो भने महान्यायधिवक्ताको कार्यालयमा कानुनी व्याख्याको लागि पनि लेख्न सक्नुहुन्छ । अर्कोतर्फ यहि विषयमा उच्च अदालतमा मुद्दामा पनि रहेछ । मुद्दा छिट्टै फैसला भयो भने चाँडै टुङ्ग्याउन सकिन्छ । तर जे जे भनेपनि एउटा व्यक्ति एकै समयमा दुई पदमा बस्न मिल्दैन । कानुनी र व्यवहारिक दुबै हिसाबले दोहोरो पदमा बस्नु उपयुक्त हुँदैन । स्वार्थ बाझिन्छ भन्नेमा विभागको प्रष्ट धारणा छ । 

यो विषयलाई तत्काल कार्यान्वयनमा लैजान सक्ने अवस्था नभएकै हो त ?

हामीले पौष मसान्त समय दिएका होइनौं । महासंघका अध्यक्षज्युले पौष मसान्तसम्मको समय माग्नु भएको हो । सहकारीमा दोहोरो पदधारण गर्नेमा एकाध व्यक्ति नभई अत्याधिक नै रहेको अवस्था छ । यसमा कारवाही महत्वपूर्ण हो कि सुधार महत्वपूर्ण हो भने अहिलेको इस्यु हो । सञ्चालकलाई एक लाख जरिवाना गराएर सुधार हुने विषय भन्दा पनि अभियन्ता स्वयंले सुधार गरेर लैजानुस् भन्ने नै हाम्रो चाहना हो । प्रारम्भिक सहकारी संस्थाले संघहरुमा  सञ्चालक पठाउँदा संस्थाको सञ्चालक नै पठाउने चलन रहेछ । सञ्चालक समितिबाट नै पठाए पछि उहि नै उमेदवार हुने अवस्था भयो । त्यो ट्रेण्डलाई चेन्जगर्न पनि जरुरी छ । ऐनले सञ्चालक नै माथिलो तहको नेतृत्वमा पठाउनुपर्छ भनेको छैन । तर प्रारम्भिक सहकारी संस्थाको विनियममा भने सञ्चालक पठाउने व्यवस्था रहेछ । यो विषय धेरै माथि पुगिसकेकाले निकाश पाउनुपर्छ भन्ने हो । तर अभियानले दोहोरो पदमा बस्न पाउनुपर्छ भन्ने लविइङ गरिराखेको छ । यतिधेरै छलफल भइसकेकाले निकाश आउँछ नै । कानुनले तल्लो तहको सञ्चालक माथिलो तहको सञ्चालकमा निर्वाचन भएपछि तल्लो पद स्वतः रिक्त हुन्छ भनेको छ । कानुनमा कुनै द्विविधा छैन । एउटा प्रारम्भिक संस्थाको सञ्चालक केन्द्रीय संघमा निर्वाचित भयो भने तल्लो तहमा उसको पद नरहन सक्छ । पदमा नरहेको व्यक्तिले गरेका निर्णयहरुले भोलिका दिनमा ठुलो कानुनी झमेला समेत पर्न सक्ने हुँदा समयमा त्यसलाई ख्याल गर्न पनि हामीले भनेका छौं । राज्य अन्तिम जवाफदेही त हुन्छ नै । 

तर सहकारी अभियानमा दुई/तीन तहको संरचना बनाउनुको उदेश्य सदस्य संस्थाहरुको क्षमता विकास गर्ने, सल्लाहसुझाव दिने लगायतको काममा सघाउनु हो । संघहरुलाई कानुनले अनुगमन गर्न सक्नेसम्मको अधिकार दिएको छ । यो चानचुने कुरा होइन । त्यसलाई संघहरुले सदुपयोग गर्न सकेका छैनन् । महासंघ लगायतका केहि केन्द्रीय संघहरुमा ठुलो मात्रामा सञ्चालक समितिको संख्या रहेको छ । २५ जनासम्मको सञ्चालक समिति आफैंमा ठुलो संख्या हो । त्यस कारण पनि संघ महासंघ सक्रिय हुन नसकेको हुनसक्छ । यी विषयमा सुध्रिनुको विकल्प छैन । कारवाही पनि सँगसँगै गर्नुपर्ने हो । तर कतिलाई कारवाही गर्ने ? सबै विग्रिएको ठाउँमा कारवाही भन्दा पनि सुधारको लागि लाग्दा नै राम्रो हुन्छ । 

विभागले जारी गरेको १०२ बुँदा मध्ये ५६ नं. बुँदालाई संशोधन गर्नु भयो, सहकारी संस्थाले सरकार र विदेशी संस्थासँग सहकार्य गरी सेवा क्षेत्रमा काम गर्दा त्यो व्यवस्था नलाग्ने भन्नु भयो, खास कुरा के हो ? 

सहकारी संस्थामा कुल पुँजीको ५ प्रतिशत मात्रै वाह्य ऋण लिन पाउने भन्ने विषय नयाँ होइन । यस अघि जारी गरिएको निर्देशनका बुँदाहरु लामो भएकाले बुझ्न गाह्रो भएको हो । अहिले बुँदाहरु छोटो बनाइएकाले सबैले सजिलै बुझ्नुभयो । ५ प्रतिशतको सीमा पहिला पनि थियो । यस अघि संस्थाहरुले ५ प्रतिशतको सीमा नाघ्ने गरी काम भएको रहेछ । विशेषगरी साना किसान सहकारीमा सरकारले नीति तथा कार्यक्रममार्फत् नै लघुवित्तीय वित्तीय संस्था मार्फत ऋण लगानी गर्दै आएको रहेछ । केहि बचत तथा ऋण सहकारी संस्थामा कृषि तथा पशुपन्छी मन्त्रालयको कार्यक्रम लागु भएको छ । सरकारले पोलिसी मार्फत् नै उत्पादनमूलक क्षेत्रमा काम गर्ने भनेको अवस्थामा संस्थाहरुको कुल सम्पत्ति भन्दा बढी वाहय ऋण वा अनुदान हुनसक्छ । सरकारको पोलिसीलाई विभागको निर्देशनले असफल गराउन खोजेको अवस्था आउन सक्ने भएकाले उक्त बुँदालाई संशोधन गरिएको हो । कतिपय संस्थाबाट डाटा नै लिएर संशोधन गरेका हौं । बाह्य ऋण कति छ, कहाँबाट आएको हो भने स्रोत सहितको डाटाको आधारमा उक्त बुँदा संशोधन गरिएको हो । यसले कृषि,  दुग्ध लगायतका सहकारीलाई काम गर्न सहज हुनेछ । 

हिजोको दिनमा कतिपय सहकारीले बैंक वा संघहरुमा बाट वाह्य ऋण लिएर संस्था सञ्चालन गरेको अवस्था थियो । यसलाई पनि न्युनिकरण गर्न खोजेको हो ?

सहकारी बैंक सहकारी संस्थाकै परिभाषा भित्र पर्छ । जिल्ला संघ, केन्द्रीय संघ र सहकारी बैंकबाट लिएको ऋण वाह्य ऋणमा पर्दैन । अन्तर सहकारी लगानी गर्न ऐनले नै सुविधा दिएको छ । सहकारी भन्दा बाहिरका बंैंक तथा वित्तीय संस्था, लघुवित, सरकारको लगानी वा कुनै वाह्य मुलुकसँग ऋण लिएर गरेको परियोजनाहरु भने यस परिभाषाभित्र पर्छन् । त्यो विषयमा उक्त बुँदाले बोलेको हो । सहकारी बैंक र संघहरुको विषयलाई ५ प्रतिशतको सीमाले छुँदैन । सहकारी बैंक र संघहरुले जोखिमलाई विश्लेषण गरी संस्थाहरुलाई ऋण लगानी गर्न सक्छन् । त्यसलाई यो बुँदाले असर गर्दैन । लगानी गरेको ऋण कतिको सुरक्षित छ, ऋण फिर्ता हुन्छ कि हुँदैन भन्ने कुरा विश्लेषण गरी संघ तथा सहकारी बैंकले ऋण लगानी गर्नुपर्ने हुन्छ । उहाँहरुलाई जोखिम छैन भन्ने लाग्छ भने यो निर्देशनले रोकिँदैन । 

विभागले सहकारी संस्थाले जिडिपीमा पु¥याएको योगदानको अध्ययन थालेको छ, कहाँ पुग्यो प्रक्रिया ?

यसका लागि विभागले राष्ट्रिय तथ्याङ्क कार्यालयसँग  सम्झौता गरेको छ । तथ्याङ्क कार्यालयको काम नै राष्ट्रिय स्तरमा डाटा संकलन गर्ने भएकाले हामीले उसँग सम्झौता गरेका हौं । सम्झौताअनुसार काम अगाडि बढेको छ । त्यसका लागि आवश्यक पर्ने प्रश्नावलीका बारेमा विभिन्न चरणमा छलफल भइसकेको छ । यसका लागि महासंघ र केन्द्रीय संघहरुसँग बसेर अन्तिम चरणमा छलफल गरिसकेका छौं । ती प्रश्नावली लिएर अहिले मुलकमा भएका ३२ हजार माथिका संस्थाहरुमध्ये कोपोमिस प्रणालीमा दर्ता भएका २ हजार ८ सय संस्थालाई यहि प्रयोजनका लागि छनोट गरी राष्ट्रिय तथ्याङ्क कार्यालयमा पठाएका छौं ।  ऐनले सहकारीलाई ५ वटा प्रकृतिमा  बाँडेको छ । तर बजारमा १७ वटा प्रकृतिका सहकारीका केन्द्रीय संघ रहेका छन् । सबै प्रकृतिका सहकारीबाट छनोट गरी २ हजार ८ सय संस्था स्याम्पलको रुपमा लिइन्छ । ती संस्थाहरुमा गणक गएर प्रश्नावलीको आधारमा विभिन्न विवरणहरु लिनुुहुन्छ । उत्पादन, उपभोक्ता, बचत ऋण र बहुउद्देश्यीय सबै प्रकृतिका सहकारीको विवरण लिएर योगदान आँकलन गरिन्छ । योगदान आँकलन गर्ने दुई खाले विधि तथ्याङ्क कार्यलयसँग छ । आगामी साउन भदौसम्म यसको रिपोर्ट आउँछ  । 

सहकारी ऐन र नियामवली संशोधनको कुरा उठेको छ, खास कुरा हो ?

सहकारी नियमावली संशोधनको विषय सामान्य हो । सहकारी ऐन संशोधन भएपछि सोही अनुसारको नियमावली बनेको थिएन । गत बर्ष सहकारीको ऋण असुलीका लायिग कर्जा असुली न्यायाधिकरण गठन भएको छ । न्यायाधिकरणलाई पूर्ण रुपमा काम गर्न दिन नियमावली संशोधन गर्न लागिएको हो । नियमावलीमा नमिलेका कितपय कुराहरु मिलाउनको लागि पनि संशोधन गर्न लागिएको हो । २०७५ मा नै नियामवली जारी भए पनि न्यायाधिकरण गठन भइ नसकेकाले काम गर्न समस्या भइराखेको थियो । अर्कोतर्फ, ऐनमा नै कर्जा असुली न्यायाधिकरणको विषयमा सबै कुरा समेटिनुपथ्र्यो । त्यो नभएकाले नियमावलीलाई संशोधन गरेर भए पनि कर्जा असुलीलाई सक्रिय बनाउन खोजिएको हो । त्यसैगरी सहकारी नियमन प्राधिकरणको केहि विषयहरु ऐनमा तोके बमोजिम हुने भनेर आएको थियो । तोके बमोजिम भनेर आएका विषयहरुलाई पनि सम्बोधन नगरी प्राधिकरणलाई  काम गर्न असहज भयो भन्ने कुरा आएको छ । ऐनले तोके बमोजिम भनेका विषयहरु हामीले नियमावली ल्याउनुपथ्र्यो । ढिला पनि भइसक्यो ।

सहकारी ऐन संशोधनको प्रसंग  उठेको छ । सहकारी पीडितको आन्दोलन चलिराखेको छ । पीडितहरु वार्ता र छलफलका लागि मन्त्री तथा प्रधानमन्त्रीसम्म पुगेका छन् । कसरी समस्या समाधान गर्न सकिन्छ भनेर छलफल भएको थियो । समस्याग्रस्त व्यवस्थापन समितिको कार्यालयलाई काम गर्न कुन–कुन कुराले अप्ठ्यारो पारेको छ , सिआइबीको टिम नै कार्यालयमा राखेर अनुसन्धान अगाडि बढाउने हो कि, सदस्यको बचत फिर्ताको लागि आवश्यक पर्ने एकाघरको सम्पत्ति रोक्का गर्नुपर्ने हो कि वा समस्याग्रस्त घोषणा गरिएका संस्थाका सञ्चालक र कर्मचारीहरुको पासपोर्ट रोक्का गर्ने जस्ता विषय हुनसक्छन् । ती विषयलाई सम्बोधन गर्न अध्यादेशमार्फत् ऐन ल्याउनुपर्ने भए ल्याउनको लागि प्रधानमन्त्रीले भन्नु भएको र सहकारी ठगहरुलाई छोड्न हुँदैन भन्ने उहाँको आदेश छ । सहकारी मन्त्रालयले विभाग, प्राधिकरण र समस्याग्रस्त समितिको कार्यालयसँग सुझाव संकलन गरिसकेको छ । सहकारीका बारेमा सम्बोधन गर्नुपर्ने धेरै विषय भए पनि तत्काल सम्बोधन गर्ने भनेको सहकारी पीडितको नै हो । प्रधानमन्त्रीले आदेश दिएकाले विभागिय मन्त्रालयले तयारी गर्नुपरेको हो । कतिपय इस्युहरु यो सरकारको म्याण्डेट भित्र नपर्ने भन्ने कुरा आउन सक्छ । सरकारको मुख्य एजेण्डा निर्वाचन र सुशासन भएकाले सुशासनको पाटोबाट ऐन संशोधन हुनसक्छ । 

सहकारी मुलुकको लागि आवश्यक पनि छ र सँगसँगै चुनौतीको चाङ पनि उत्तिकै छन् । चुनौतीलाई समाधान गरी सहकारी क्षेत्रलाई बलियो बनाई आत्मनिर्भर अर्थतन्त्र निर्माण गराउने काम कतिको सम्भव छ ?

संविधानले ३ खम्बे आर्थिक नीति अन्तर्गत सहकारीलाई अर्थतन्त्रको एउटा खम्बाको रुपमा लिएको छ । सरकारको पुँजी सानो छ । सरकारी पुँजी परिचालनले मात्रै मुलुक समृद्ध बन्न सक्दैन । नीजि क्षेत्रलाई राम्रो वातावरण दिनुपर्छ तब मात्र पुँजी परिचालन हुन्छ । त्यो भएन भने पुँजी पलायन भएर विदेश जानसक्छ । किसान, मजदुर र न्युन आय भएका वर्गले कमाएको पैसालाई सहकारीले बचतको रुपमा लिन्छन् । नीजि क्षेत्रले पर्याप्त पैसाको उपभोग गरी बाँकी पैसा बचत गर्छ भने सहकारीका सदस्यले बचतलाई प्राथमिकता दिएका हुन्छन् । पुँजीलाई उत्पादन तथा आयमुलक क्षेत्रमा लगानी गरियो भने त्यसले छिटो प्रतिफल दिन्छ भन्ने संविधानको उद्देश्य हो । अहिले सहकारी नभई नहुने क्षेत्र भएको छ भने अर्कोतर्फ सहकारीमा देखिएका समस्यालाई सम्बोधन गनुपर्ने विषय रहेको छ । समस्या सम्बोधनको लागि सरकारले रिभल्विङ फन्डको व्यवस्था गरी साना बचतकर्तालाई केहि रकम फिर्ता गर्ने योजना बनाएको छ । अहिले सरकारको कोषबाट केहि रकम दिने र पछि सहकारीको सम्पत्ति विक्री पश्चात् कोषमा फिर्ता गर्ने गरी प्रक्रिया अगाडि बढेको छ । यो छिट्टै सुरु हुन्छ । यसले साना बचतकर्ताको समस्यालाई सम्बोधन गर्छ । 

समस्याग्रस्त सहकारीको समस्या समाधानको लागि समस्याग्रस्त व्यवस्थापन समितिको कार्यालयको स्वरुपमा केहि परिवर्तन गरी स्रोत साधनले सम्पन्न बनाई असल नियतले काम गर्ने वातावरण बनाउन आवश्यक छ । बचत ऋण सहकारीमा विशेष नियमन चाहिन्छ भनेर नियमन प्राधिकरण गठन भइसकेको छ । प्राधिकरणले क्रमशः आफ्नो कामलाई अगाडि बढाएर लगेको छ ।  बचत तथा ऋण सहकारी संस्थामा नै समस्या धेरै रहेकाले प्राधिकरण मार्फत् भोलीका दिनमा क्रमशःसमस्या व्यवस्थापन हुँदै जान्छ । बचत ऋण बाहेकका सहकारीको प्रवद्र्धन गर्नुपर्छ, त्यसका लागि सरकारले नीति तथा बजेटको प्रबन्ध गरी उनीहरुको क्षमता विकास गर्दै जानुपर्छ । दुई छुट्टाछुट्टै निकायले संस्थाहरुको नियमन अनुगमन गरेपछि सुधार आउँछ नै । लाइन समातिसकेको अवस्था छ । भोलीका दिनमा सुधार हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ । कानुनले स्थापना गरेका निकायहरु पूर्ण रुपमा सक्रिय भएर काम गरेको खण्डमा यो क्षेत्रमा सुधार आउँछ ।