कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष शान्त लक्ष्मी खड्गीको सभापतित्व तथा ललितपुर महानगरपालिका वडा न.२१ अध्यक्ष एंव आर्थिक विकास समिति संयोजक रविन्द्र महर्जनको प्रमुख आर्थित्यतामा सभा सम्पन्न भएको हो ।
सभामा विेशष अथितिको रुपमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ( बागमती प्रोस्कून) का प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहाल रहेका थिए । सभामा बोल्दै दाहालले सदस्यहरुलाई सहकारीको महत्व र आवश्यकतका बारेमा प्रष्ट पारेका थिए ।
त्यसैगरी उनले संस्थाले प्रकाशन गरेको बार्षिक प्रतिवेदनलाई अध्ययन गर्न र बन्द सत्रमा छलफल गरी आवश्यक सल्लाह तथा सुझाव दिन समेत सदस्यहरुलाई आग्रह गरे । सदस्यहरुमा सहकारीका बारेमा आधारभुत ज्ञान भयो भने मात्र समुदाय र गैरसमुदाय सहकारीलाई छुट्याउन सकिने उनको भनाई छ । वित्तीय साक्षरताको माध्यमबाट सदस्यहरुमा बचत तथा ऋण परिचालनका साथै सहकारीको सदस्य बन्दाका फाइदाहरुका विषयमा निरन्तर जानकारी दिनुपर्नेमा उनको जोड छ । सभा संस्थाका कानुनी सल्लाहकार तथा माँ बंगलामुखी उपभोक्ता सहकारी संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनको समेत आथित्यता रहेको थियो । संस्थाकी अध्यक्ष शान्त लक्ष्मी खड्गीले सभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्था निरन्तर रुपमा सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा क्रियशिल रहेको बताइन् । संस्थामा आवद्ध महिला सदस्यहरुलाई स सानो रकम बचत गर्न सिकाई, सीप र आवश्यक पुँजीको व्यवस्था गरी उनीहरुको आयस्तर वृद्धिमा संस्थाले भूमिका खेलेको उनको भनाई छ ।

संस्थाले ऋण लगानीलाई अनुत्पादक क्षेत्रमा भन्दा पनि स्वःरोजगार र आय आर्जन गर्ने क्षेत्रलाई पहिलो प्राथमिकता दिएको भन्दै अध्यक्ष खड्गीले सदस्यहरुको विश्वास र संस्थाले कायम गरेको वित्तीय पारदर्शिताका कारण वित्तीय संकटको समयमा पनि कुनै समस्या नभएको बताइन् । संस्थालाई नीति, विधि र प्रविधिमा आधारित बनाएर लैजान आन्तरिक रुपमा विभिन्न नीति तथा कार्यविधि बनाएर लागू गरेको उनले सभामा जानकारी दिइन् । संस्थाले बचत, ऋण लगानी तथा असुली कार्यविधि,आर्थिक प्रशासन, सम्पत्ति शुद्धिकरण,मानव संशोधन,बाह्य कर्जा परिचालन र भल्ट संचालन तथा आन्तरिक सुरक्षा व्यवस्थापन कार्यविधि निर्माण गरी सञ्चालनमा ल्याएको छ ।
संस्थाकी सचिव सफलता खड्गीले आर्थिक बर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेकी थिइन् । संस्थाले गत आर्थिक बर्षमा सदस्यहरुको लागि वित्तीय साक्षरता, वर्कसप, स्वास्थ्य शिविर र बाल बचतकर्तालाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । यस आर्थिक बर्षमा पनि वित्तीय साक्षरता, संस्थागत विकास तालिम,सदस्य राहत कार्यक्रम,जेष्ठ नागरिकको लागि विशेष कार्यक्रम र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम आयोजना गर्ने उनले सभामा जानकारी दिइन् ।संस्थाकी कोषाध्यक्ष रंगित खड्गीले आर्थिक बर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गरेकी थिइन् । गत आर्थिक बर्षको असार मसान्तसम्म शेयर पुँजी १ करोड २५ लाख ४६ हजार, जगेडा तथा अन्य कोष २४ लाख ५० हजार,बचत संकलन ११ करोड ६७ लाख ६० हजार र ऋण लगानी १५ करोड ८२ लाख ८६ हजार गरेको उनले बताइन् । संस्थामा ८६७ सदस्य आवद्ध रहेका छन् ।
लेखा सुपरीवेक्षण समितिकी संयोजक मोनिका खड्गीले समितिकोे प्रतिवेदन प्रस्तुत गर्दै आवश्यकता अनुसार कार्यविधिहरु परिमार्जन गर्न,कोसिस कार्यक्रमले दिएको सुझावलाई कार्यानव्यन गर्न, ऋण असुली प्रक्रियालाई प्रभावकारी बनाउन र निश्क्रिय सदस्यलाई सक्रिय बनाउन सुझाव दिएकी छन् । सभामा उत्कृष्ट बचतकर्ता, बाल बचतकर्ता र उत्कृष्ट ऋणी सदस्यलाई सम्मान गरिएको थियो ।

नेपालपत्र संवाददाता