गाम्चा बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको प्रतिवदेन, लेखा समितिको प्रतिवेदन,आ.व.२०८२/८३ को लेखा परीक्षण प्रतिवेदन,आ.व. २०८३/८४ को लागि वार्षिक कार्य योजना तथा लेखा परीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने जस्ता विषय माथि छलफल गरी पारित गरेको छ ।
सभामा संस्थाका अध्यक्ष विकास खड्काले समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै १८ बर्ष अगाडि २ हजार ८ सय शेयर पुँजीबाट सुरु गरेको संस्थामा करिव ३ हजार सदस्य र २२ करोड माथि बचत संकलन भएको बताए । उनले आफ्ना सदस्यहरुलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ उद्यम व्यवसायमा ऋण लगानी गरी आर्थिक तथा सामाजिक रुपान्तरणमा योगदान गर्दै आएका उल्लेख गरे ।
अध्यक्ष खड्काले विश्व अर्थतन्त्रमा आएको मन्दीको प्रभाव बैंक तथा वित्तीय संस्थाको साथै सहकारी क्षेत्रमा समेत ऋण असुलीमा समस्या भएको बताए । सदस्यको व्यापार,व्यवसाय,कृषि, लघु उद्यम, र आय आर्जन हुने क्षेत्रमा ऋण लगानी गरेको र संस्थाले लिएको वाह्य ऋणलाई क्रमश: घटाउँदै लगेको उनले सभामा जानकारी दिए । संस्थाबाट ऋण सुविधा लिएका र तिर्न आलटाल गर्ने सदस्यहरुलाई कानुनी प्रक्रिया अवलम्बन गरी असुली गर्ने समेत उनले बताए ।

सभामा सचिव विदुर खड्काले वार्षिक प्रतिवेदन तथा चालु आर्थिक बर्षको प्रस्तावित कार्य योजना सभामा प्रस्तुत गरेका थिए । उनले गत बर्ष सदस्यहरुलाई सुत्केरी पोषण भत्ता,एसईई सम्मान,लघुवित्त गोष्ठी र सदस्य सम्मान जस्ता कार्य सम्पन्न गरेको बताए । सभामा कोषाध्यक्ष सोविता खतिवडाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर पुँजी ३ करोड ७२ लाख, बचत संकलन २२ करोड ८९ लाख गरी ऋण लगानी २९ करोड ९२ लाख पुगेको बताइन् ।
साधारण सभाको अवसरमा विभिन्न विधामा सदस्यलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी सभाले अध्यक्ष विकास खड्काको अध्यक्षतामा आगामी ४ वर्षे कार्यकालको लागि नयाँ सञ्चालक समिति समेत चयन गरेको छ ।
