नेपालको कम्युनिष्ट आन्दोलनको स्थापना, विकास र वैचारिक दिशानिर्देशनमा कमरेड पुष्पलालको ऐतिहासिक तथा अग्रणी योगदान छ। उहाँले मार्क्सबाद–लेनिनवाद र माओ विचारधारालाई नेपाली समाजको विशिष्ट वस्तुस्थितिमा सिर्जनात्मक रूपमा प्रयोग गर्दै नेपाललाई सामन्तवाद, साम्राज्यवाद र शोषण–उत्पीडनविरुद्ध को आमूल क्रान्तिकारी परिवर्तनको मूलबाटो देखाउनुभयो ।
नयाँ जनवादी क्रान्ति उहाँको मूल कार्यक्रम थियो। नेपाली समाजको वर्गीय संरचना र उत्पादन सम्बन्धको वस्तुगत विश्लेषण गर्दै उहाँले मजदुर वर्गको नेतृत्वमा किसानलगायत शोषित–उत्पीडित जनसमुदायलाई एकताबद्ध गरेर समाजवादको आधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। २०१९ सालको तेस्रो महाधिवेशनमा देखिएको कार्यक्रमगत विवादपछि २०२५ सालको तेस्रो ऐतिहासिक सम्मेलनमार्फत नयाँ जनवादी कार्यक्रमलाई पुनः स्थापित र विकसित गर्ने उहाँको पहल विशेषरुपले महत्वपूर्ण छ।
पुष्पलालले क्रान्तिलाई पार्टीभित्रको सीमित गतिविधि होइन, व्यापक जनआन्दोलनका रूपमा बुझ्नुभयो। संयुक्त जनआन्दोलन, वामपन्थी एकता र संयुक्त मोर्चालाई वर्गीय उद्देश्य तथा सिद्धान्तमा आधारित बनाउनुपर्ने उहाँको मान्यता आज पनि उत्तिकै सान्दर्भिक छ। राष्ट्रियता, जनतन्त्र र जनजीविकाका प्रश्नलाई अलग–अलग होइन, जनताको अधिकार, आर्थिक मुक्ति र राष्ट्रिय स्वाधीनतासँग जोडेर हेर्नु उहाँको विशिष्ट दृष्टिकोण थियो।
उहाँले नेपाली पुँजीपति वर्गको द्वैध चरित्र र सामन्तवाद तथा साम्राज्यवादविरुद्ध निर्णायक संघर्षको नेतृत्व गर्न त्यसको सीमाबारे स्पष्ट पार्दै मजदुर वर्गको ऐतिहासिक भूमिकामा जोड दिनुभयो। साथै, विश्व कम्युनिष्ट आन्दोलनमा समानता, सार्वभौमिकता, आपसी सहयोग र वैचारिक स्पष्टताको पक्ष लिनुभयो। ‘नेता होइन, नीति प्रधान’ भन्ने उहाँको मान्यताको सार सही नीति र सामूहिक नेतृत्वबाट नै सही आन्दोलन विकसित हुन्छ भन्ने हो।
आज नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएका वैचारिक विचलन, अवसरवाद, विभाजन र व्यवहारगत विकृतिको सन्दर्भमा पुष्पलालको पुनर्मूल्याङ्कन केवल स्मरण वा औपचारिक सम्मानको विषय होइन। उहाँका विचारलाई यान्त्रिक रूपमा दोहो¥याउनु पनि होइन; बदलिएको नेपाली तथा विश्व परिस्थितिको ठोस विश्लेषण गर्दै तिनको सिर्जनात्मक प्रयोग गर्नु आवश्यक छ।
समग्र सारमा भन्नुपर्दा कमरेड पुष्पलालको वास्तविक सम्मान उहाँका विचार, नीति र क्रान्तिकारी योगदानलाई जनताको जीवन, वर्गीय संघर्ष, राष्ट्रिय स्वाधीनता र अग्रगामी सामाजिक रूपान्तरणसँग जोडेर अघि बढाउनु हो। वस्तुगत विश्लेषण, जनतासँगको जीवन्त सम्बन्ध, सिद्धान्तनिष्ठ एकता र व्यवहारमा क्रान्तिकारी प्रतिबद्धता नै उहाँको मूर्त विचारधाराको मूल सार हो।