शुक्रबार, आश्विन ३० गते २०८३

मकवानपुरका सहकारीले बाढीपीडितका लागि जुटाए ३२ लाखभन्दा बढी


आश्विन २९, २०८३ बिहीबार
मकवानपुरका सहकारीले बाढीपीडितका लागि जुटाए ३२ लाखभन्दा बढी


मकवानपुर । मकवानपुरका ४३ वटा सहकारी संघसंस्थाले भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ३२ लाख २० हजार ५२३ रुपैयाँ वित्तीय योगदान गरेका छन्।

सहकारी क्षेत्रबाट संकलित उक्त रकमको विवरण मकवानपुर जिल्ला सहकारी संघले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुझाएको छ। जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले संकलित योगदानको विवरण प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई हस्तान्तरण गरेका हुन्।

राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका शाखा प्रमुख समीर श्रेष्ठले विभिन्न सहकारी संघसंस्थाबाट प्राप्त योगदानको तथ्यांक संकलन गरेका थिए। सहकारी क्षेत्रले विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याएको जिल्ला सहकारी संघले जनाएको छ।

योगदान विवरण बुझाउने क्रममा राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका शाखा प्रमुख समीर श्रेष्ठ, व्यवस्थापक गोविन्द दहाल तथा जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका व्यवस्थापक दामोदर अधिकारीको उपस्थिति थियो। सहकारी संघसंस्थाबाट संकलित योगदानले बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।