सहकारी संस्थाहरुबाट ऋण लिएका र समयमा तिर्न आनकानी गरेको ऋणी सदस्यहरुलाई ऋणको साँवा ब्याज तोकिएको समयमा तिर्न सरकारले ताकेता गरेको छ । सहकारी विभागले हिजो ऋणी सदस्यहरुको नाममा एक सूचना जारी गर्दै ऋणको साँवा ब्याज तिर्न भनेको हो । ऋणी सदस्यहरुले तोकिएको समयभित्र ऋणको सावाँ तथा व्याज चुक्ता नगर्दा केही संस्थाहरुमा तरलताको समस्या भई सदस्यहरुको बचत फिर्ता गर्न नसकेको गुनासो आएको समेत सूचनामा उल्लेख छ ।
संघीय सहकारी विभागले सूचनामा ऋण नतिर्ने ऋणीहरुलाई कानूनी प्रक्रियामै गएर भएपनि ऋण उठाउन सहकारीहरुलाई भनेकाे छ। सूचनामा भनिएको छ, ‘सहकारी संस्थामा सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने र ऋणी सदस्यहरुले समयमा नै आफुले भुक्तान गर्नुपर्ने सावाँ तथा व्याज चुक्ता नगर्दा सदस्यहरुको वचत फिर्तामा नकरात्मक असर परेको छ’, सूचनामा भनिएको छ, ‘सहकारी संस्थाका सम्पूर्ण ऋणी सदस्यहरुलाई प्रचलित सहकारी ऐन। नियमावली, निर्देशिका एवं मापदण्डको वर्खिलाप नहुने गरी जुन सम्झौता वा शर्त बमोजिम ऋण लिएको हो सोही बमोजिम ऋणको सावाँ र व्याज लगायतका रकम सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गरी जिम्मेवार सदस्यको दायित्व पूरा गर्नुहुन जानकारी गराईन्छ ।’ अन्यथा प्रचलित कानून बमोजिम कारबाही भई जाने समेत विभागले जनाएको छ ।
तर कतिपय सहकारी संस्थाहरुले सदस्यहरुलाई ऋण नै लगानी नगरेको र सञ्चालक समिति र केही कर्मचारी मिलेर बचत अपचलन गरेको उदाहरणहरु बजारमा प्रशस्त छन् । यसमा सरकारको ध्यान जान सकेको छैन। अर्कोतर्फ ऋण लगानी गर्दा अपनाउनु पर्ने सामान्य प्रक्रिया समेत पुरा नगर्दा पनि अहिले कतिपय संस्थाहरुलाई ऋण असुलीमा समस्या परेको छ । लगानी प्रक्रिया कम्जोर रहुनु र बिना मुल्याङ्कन ऋण लगानी गर्दा आएको समस्यालाई सरकारका यस्ता सूचनाले कतिको भरथेग गर्ला ?
नेपालपत्र संवाददाता