आइतबार, आश्विन १८ गते २०८३

हिमनदी सहकारी संस्थाले सदस्यलाई ११ प्रतिशत लाभांश दिने


आश्विन २१, २०८१ सोमबार
हिमनदी सहकारी संस्थाले सदस्यलाई ११ प्रतिशत लाभांश दिने


हिमनदी बचत तथा ऋण सहकारी संस्थाले १५ औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सागरमान ब्यञ्जनकारको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अथिति प्रेम बहादुर महर्जन रहेका थिए । ज्यापु प्रज्ञा भवनमा गरिएको साधारण सभामा अध्यक्ष ब्यञ्जनकारले प्रतिवेदन प्रस्तुत गर्र्दै विगत केही बर्षदेखि केही सहकारी संस्थाका स्वार्थी प्रवितिका सञ्चालक र राज्यको प्रभावकारी  नियमनको अभावले केही संस्थाहरु धरासयी हुँदा जनमानसमा नकरात्मक धारणा विकास भएको बताए ।

यसले गर्दा समुदायमा आधारित सहकारीले गुणात्मक फड्को मार्न नसको उनको भनाई छ । सहकारी ऐनमा व्यवस्था भएको कर्जा सूचना केन्द्र ऋण असुली न्यायधिकरण र बचत तथा कर्जा सुरक्षण कोष समयमा सञ्चालनमा ल्याउन नसक्दा  सहकारी सञ्चालनमा समस्या भएको उनको भनाई छ । संस्थाले भने सरकारको नीति र संस्थाको विनियमको अधिनमा रहेर सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा काम गर्दै आएको उनले सभामा जनाए । संस्थाबाट कर्जा लिएर समयमा साँवा ब्याज नबुझाउने सदस्यहरुलाई हदैसम्म लचकता अपनाइएको र त्यसको बावजुत पनि अटेर गर्ने ऋणी सदस्यहरुलाई कानुनी प्रक्रिया मार्फत ऋण असुली गर्ने उनले प्रष्ट पारे । संस्थाका सचिव रबिना ब्यञ्जनकारले आर्थिक बर्ष २०८०/८१ को  प्रगति प्रतिवेदन र यस आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेकी थिइन्  ।

संस्थाका कोषाध्यक्ष बिजेन्द्र मर्हजनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै  आर्थिक बर्ष २०८०/८१  मा शेयर पुँजी  १ करोड ९२ लाख, जगेडा कोष १ करोड ५९ लाख,ऋण नोक्सानी कोष ४४ लाख ७१ हजार, बचत संकलन १० करोड ५६ लाख र ऋण लगानी ११ करोड ९ लाख ५६ हजार पुगेको  जानकारी दिए । संस्थाले त्यस अवधिमा ७३ लाख ९६ हजार नाफा गर्न सफल भएको छ । संस्थाले गत बर्षको नाफाबाट सदस्यहरुलाई ११ प्रतिशत लाभांश र संरक्षित पुँजी फिर्ता कोषबाट  बचत र ऋणको कारोबारको आधारमा रकम फिर्ता दिने भएको छ ।

संस्थाले  सदस्यहरुको वित्तीय कारोबारलाई सहज बनाउन एटिएम कार्ड,कनेक्ट आइपिएस, ई सेवा,खल्ती जस्ता सेवाहरु सञ्चालनमा ल्याएको छ । संस्थाले व्यापार व्यसाय,घर जग्गा,आकस्मिक,आवधिक,शैक्षिक,उद्यमी,शेयर धितो जस्ता क्षेत्रमा ऋण लगानी गर्दै आएको छ । सभामा विभिन्न विद्यामा सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । संस्था नेफ्स्कूनले सञ्चालन गरेको प्रोवेशन कार्यक्रम आवद्ध भएको छ ।

462116754_1979452992519354_6916093132209071418_n (1).jpg