ललितपुरमा रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष लक्ष्मण महर्जनको अध्यक्षता तथा ललितपुर महानगरपालिकाकी उप प्रमुख मञ्जली शाक्य बज्राचार्यको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो । सभाले लक्ष्मण महर्जनको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । ४ वर्ष कार्यकाल रहने सो सञ्चालक समितिको उपाध्यक्षमा राजेन्द्र तण्डुकार, सचिवमा रुजेन्द्रमान श्रेष्ठ , कोषाध्यक्षमा अञ्जु तण्डुकार र सदस्यमा दिनेश महर्जन, मुकेश खड्गी र रविता तण्डुकार चयन भएका छन् ।
सभाले लेखा सुपरीवेक्षण समिति सदस्यमा करुणा महर्जन र सविता तण्डुकार बज्राचार्य चयन गरेको छ । साधारण सभामा ललितपुर महानगरपालिकाका सहकारी शाखाका शाखा अधिकृत चिरञ्जीवी पौडेल, ज्यापू समाज यलका अध्यक्ष सन्तमान महर्जन ,यल अन्तर सहकारी समन्वय समितिका संयोजक रामसुन्दर श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाको थप प्रगतिको कामना गरे ।
सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष महर्जनले सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै सहकारीको भावना अनुरुप सदस्यहरुको आर्थिक , सामाजिक तथा सांस्कृतिक विकास गर्न संस्था लागि परेको बताए । संस्थाले गत आ.व.को असार मसान्तसम्म शेयर पुँजी ४ करोड १४ लाख, बचत संकलन २४ करोड ६९ लाख, ऋण लगानी २८ करोड ५७ लाख र कुल सम्पत्ति ४१ करोड ४१ लाख पुगेको छ । शेयर सदस्यहरुबीच छलफल गरी साधारणसभाले ती प्रतिवेदनहरु पारित गरेको छ । सभामा विभिन्न विद्यामा सदस्य र सदस्यका छोरा छोरीलाई सम्मान गरिएको थियो ।

नेपालपत्र संवाददाता