सोमबार, कार्तिक १० गते २०८३

जनता सहकारीको १६ औं साधारण सभाले नयाँ सञ्चालक समिति चयन


आश्विन ११, २०८१ शुक्रबार
जनता सहकारीको १६ औं साधारण सभाले नयाँ सञ्चालक समिति चयन


जनता बचत तथा ऋण सहकारी संस्थाको १६ औं साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । सभाले महेन्द्र राजथलाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा स्टार राजथला,सचिवमा कृष्ण गोपाल राजथला र कोषाध्यक्षमा सितालक्ष्मी राजथला निर्वाचित भएका छन् । संस्थाको सञ्चालक समिति सदस्यहरुमा सानुकान्छा राजथला,राधाकृष्ण राजथला,पूर्ण कुमार राजथला,मन्दिरा राजथला र  हरिप्रसाद राजथला निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा राजु प्रजापति र सदस्यहरुमा मनोहरा राजथला र उर्मिला राजथला चयन भएका छन् ।  संस्थाका अध्यक्ष राजेश कुमार राजथलाको अध्यक्षता तथा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुको प्रमुख आथित्यतामा साधारण सभा सम्पन्न भएका हो । संघका अध्यक्ष लाखाजुले केही व्यक्तिले सहकारी संस्थालाई गलत तरिकाले प्रयोग गरेका कारण अहिलेको समस्या आएको बताए ।

संस्थाका अध्यक्ष राजथलाले सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक स्तर अभिवृद्धि गरी समुनत समाज निमार्ण गर्ने लक्ष्यका साथ संस्था अगाडि बढेको बताए । संस्थाको कारोबारलाई पारदर्शी बनाउने र सदस्यमैत्री कार्यक्रमहरु सञ्चालन गर्ने नीति संस्थाले अबलम्बन गरेको उनले जनाए । संस्थाको वित्तीय कारोबारलाई प्रविधिमैत्री बनाउँदै लैजाने योजना अनुसार संस्थाले मोबाईल बैकिङ सञ्चालनमा ल्याउनुका साथै अन्य सेवाहरु क्रमश विस्तार गर्दै लैजाने उनको भनाई छ । समाजमा सहकारीप्रति नकरात्मक धारणा विकास भएको भए पनि संस्थाले त्यसलाई चिर्दै सदस्यको माग र आवश्यकता अनुसार बचत तथा ऋणको कारोबारलाई निरन्तर अगाडि बढाई राखेको अध्यक्ष राजथलाले जनाए । संस्थाका सचिव राजु प्रजापतिले बार्षिक प्रतिवदेन प्रस्तुत गर्दै संस्थाले आफ्नै सुविधा सम्पन्न भवन निमांण गरी सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्न थालेको जानकारी दिए ।

jj.jpg

यस आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सदस्यहरुको आवश्यकता अनुसार विभिन्न सीपमुलक तालिम सञ्चालन गर्ने, कार्यक्षेत्र भित्रका सदस्यहरुलाई विस्तारित मञ्च मार्फत संस्थाको बारेमा जानकारी दिने र सहकारीको चुनौती,र अबसरका बारेमा अन्तरक्रिया गर्ने बताए । कोषाध्यक्ष कृष्ण गोपाल राजथलाले आर्थिक बर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै शेयर पुँजी ३ करोड ८२ लाख ७२ हजार, बचत संकलन २४ करोड ३४ लाख २२ हजार, ऋण लगानी २२ करोड २२ लाख ७९ हजार र खुद बचत ३४ लाख ८२ हजार भएको बताए । संस्थामा ३३४६  जना सदस्य आवद्ध रहेका छन् ।

संस्थाको. जगेडा कोषमा ९० लाख ८६ हजार र अन्य कोषमा १ करोड ७१ लाख रहेको छ । सभामा सानुकान्छा राजथलाले लेख सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै एकाघर परिवारका एक जनालाई मात्र ऋण लगानी गर्न, ऋणि सदस्यसँग अन्तरक्रिया गर्न र ऋण सदुपयोगिताको विषयमा ऋण उप समितिले अनुगमन गर्न सुझाएका छन् ।