बनेपामा मुख्य कार्यालय रहेको पानस बचत तथा ऋण सहकारी संस्थाको १६ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुशन राजवंशीको सभापतित्व तथा जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायष्ठको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
अध्यक्ष राजवंशीले सहकारी मूल्य, मान्यता र सिद्धान्तमा रहेर संस्थाले सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणको लागि काम गर्दै आएको बताए । पछिल्लो सहकारीका विषयमा विभिन्न हल्ला फैलाइएको भन्दै उनले सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्न र सदस्यको बचतलाई निजी कम्पनीमा लगानी गरेका केही सहकारी संस्थामा मात्रै समस्या आएको बताए । संस्थाले वित्तीय अनुशासन र पारदर्शिता कायम गरी सदस्यहरुलाई उचित फतिफल दिने गरीे बचत परिचालन गरेको उनको भनाई छ ।
संस्थाका सचिव पुष्कर रजितकारले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुलाई गत आर्थिक बर्षमा सुत्केरी तथा क्रिया खर्च उपलब्ध गराएको बताए । संस्थाले यस आर्थिक बर्षमा सदस्यहरुलाई वित्तीय साक्षरता मार्फत सहकारी सचेतना कार्यक्रम आयोजना गर्ने र सदस्यहरुको लागि निःशुल्क स्वास्थ्य शिविर गर्ने जानकारी उनले दिए । संस्थाका कोषाध्यक्ष सुमन वैद्यले आर्थिक बर्ष २०८०÷८१ को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै कुल कारोबार १४ करोड १८ लाख १६ हजार पुगेको बताए । त्यसैगरी शेयर पुँजी १ करोड ६३ लाख ६० हजार, बचत संकलन ११ करोड ४७ लाख ७३ हजार र ऋण लगानी १० करोड ५ लाख १८ हजार रहेको छ । संस्थाको जगेडा तथा अन्य कोषमा ५४ लाख २७ हजार पुगेको छ भने त्यस अवधिमा ५ लाख ७८ हजार खुद नाफा गरेको छ ।
संस्थाले व्यक्तिगत,हायर पर्चेच,व्यवसायिक,कृषि,आवास,डिमान्ड,कर्मचारी र आवधिक जस्ता शिर्षकमा ऋण लगानी गर्दै आएको छ । संस्थाले साधारण सभाको अवसरमा विभिन्न विद्यामा सदस्यहरुलाई सम्मान समेत गरेको थियो ।

नेपालपत्र संवाददाता