बागमती प्रदेश सहकारी संघले चौंथो साधारण सभाको अवसरमा विभिन्न विद्यामा व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । संघको आज भएको साधारण सभामा सहकारी अभियन्ता कैलाशभक्त प्रधानाङ्गलाई सहकारी अभियन्ता सम्मान प्रदान गरिएको छ।
कार्यक्रमका प्रमुख अथिति संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले प्रधानाङ्गलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरे ।प्रधानाङ्ग नेपालको सहकारी अभियानमा एक आदर्श पुरुषको रुपमा परिचित छन् । नेपालको बचत तथा ऋण सहकारी अभियानलाई देशव्यापी बनाउन उनको भूमिका उल्लेखनीय रहेको छ ।
त्यसैगरी उत्कृष्ट जिल्ला संघको रुपमा चितवन जिल्ला सहकारी संघ, उत्कृष्ट सहकारी संस्थामा बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था काभ्रे र उत्कृष्ट महिला सहकारी संस्थाको रुपमा श्री आदर्श सामाजिक उद्यमी कृषि सहकारी धादिङलाई सम्मान गरेको छ ।
प्रदेशका जिल्ला संघहरु मध्ये प्रदेश उत्कृष्ट व्यवस्थापकमा जिल्ला सहकारी संघ दोलखाका व्यवस्थापक राजकुमार दाहाल, प्रदेशका सहकारी संस्थाहरु मध्ये उत्कृष्ट व्यवस्थापकमा कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लुभुका व्यवस्थापक कुमार खत्री र बागमी प्रदेश उत्कृष्ट पदाधिकारीमा दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भूमिराज खड्कालाई सम्मान गरेको छ । संघले सहकारी क्षेत्रको विकास र प्रवर्धनका साथै यो क्षेत्रको सुधारको लागि निरन्तर कलम चलाएको भन्दै सहकारी अखबारका सम्पादक खिलानाथ दाहाललाई सम्मानित गरेको छ। संघले सहयोगी संघसंस्थालाई कदर पत्र प्रदान गरेको छ । प्रदेश संघले गत वर्षबाट व्यक्ति तथा संस्थालाई सम्मान गर्न सुरु गरेको हो।
नेपालपत्र संवाददाता