सोमबार, कार्तिक १० गते २०८३

जिल्ला सहकारी संघ काभ्रेमा दुई पक्षबीच चुनाव हुँदै, अध्यक्षमा श्रेष्ठ र शाक्यको प्रतिस्पर्धा


भाद्र २६, २०८१ बुधबार
जिल्ला सहकारी संघ काभ्रेमा दुई पक्षबीच चुनाव हुँदै, अध्यक्षमा श्रेष्ठ र शाक्यको प्रतिस्पर्धा

जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकको ४३ औं साधारण सभाले आज सम्पन्न हुँदै छ । संघले आगामी चार बर्षे कार्यकालको लागि नयाँ सञ्चालक समिति र  लेखा सुपरीवेक्षण समिति समेत चयन गर्दैछ । सभामा दुई पक्षबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । स्रोतका अनुसार नेपाली काँग्रेस, नेकपा माओवादी र नेकपा समाजवादी निकट सहकारीकर्मीले संयुक्त प्यानल बनाएका छन् भने एमाले निकट सहकारीकर्मीहरु बिना प्यानल नै निर्वाचनमा उत्रिएका छन् । निर्वाचन उपसमितिले प्रकाशित गरेको उम्मेदवारहरु अन्तिम नामवली अनुसार अध्यक्षमा दुई जना, महिला उपाध्यक्षमा २ जना र  उपाध्यक्षमा पनि दुई जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन उपसमितिले प्रकाशित गरेको नामवली अनुसार अध्यक्षका लागि अमन पोटे श्रेष्ठ र राजन शाक्यले उमेदवारी दिएका छन् । पोटे लामो समयदेखि जिल्ला सहकारी संघमा विभिन्न पदमा रहेर सहकारी अभियानको विकास र प्रर्वद्धनका लागि क्रियाशील रहेका छन् भने उनी काँग्रेस पक्षधर सहकारीकर्मी हुन् । उनको संस्था बनेपा साकोस रहेको छ । त्यसैगरी मोडेल सहकारी संस्थाबाट प्रतिनिधित्व गर्दै शाक्यले पनि संघको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । उनी एमाले निकट सहकारीकर्मीका रुपमा चिनिन्छन् ।

यी दुई पक्षबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । तर सहकारी अभियानमा अमन पोटे धेरैले रुचाएका सहकारीकर्मीका रुपमा रहेका छन् । लामो समयदेखि सहकारी अभियानमा क्रियाशील रहेका पोटेले सदस्य संस्थाहरुको मन जित्ने सम्भावना बलियो देखिएको छ । त्यसैगरी महिला उपाध्यक्षमा पन्चकन्या महिला विकाश सहकारी संस्थाकी मिरा सत्याल र साहारा सहकारी संस्थाकी राधिका दाहाल घिमिरेले उम्मेदवारी दिएकी छिन्  ।

संघको उपाध्यक्ष पदको लागि सनमति गंगा सहकारीबाट प्रतिनिधित्व गरेर ठाकुर नाथ अधिकारी र जन उत्थान सहकारी संस्थाबाट प्रतिनिधित्व गरेर सबल नारी चेतना कृषि सहकारी संस्थाकी शान्ति लामा तामाङले उमेदवारी दिएका छन् । संघको सचिवमा पनि सामुदायिक साकोसबाट प्रतिनिधित्व गरेर प्रकाश बन्जारा र जन उत्थान साकोसबाट प्रतिनिधित्व गरेर यदुनाथ हुमगाईले उमेदवारी दिएका छन् ।

त्यस्तै कोषाध्यक्ष  पदमा आय आर्जन सहकारीबाट प्रतिनिधित्व गर्दै अर्जुन प्रसाद सापकोटा र लक्ष्मी महिला साकोसबाट प्रतिनिधित्व गर्दै हिमाली श्रेष्ठले उम्मेदवारी दिएकी छन् । संघका लागि ६ जना सचालक  आवश्यक पर्ने भए पनि १२ जनाको उम्मेदवारी परेको छ । त्यसैरी लेखा सुपरीवेक्षण समितिका लागि समेत दुई दुई जनाको उम्मेदवारी परेको छ ।