सोमबार, कार्तिक १० गते २०८३

सहकारी संस्थाका तीज कार्यक्रम, वित्तीय साक्षरतादेखि मनोरञ्जनसम्म


भाद्र २०, २०८१ बिहीबार
सहकारी संस्थाका तीज कार्यक्रम, वित्तीय साक्षरतादेखि मनोरञ्जनसम्म


सहकारी संस्थाहरुले तीजको अवसर पारेर विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । विशेषतः महिला सदस्यहरुलाई लक्षित गरी वित्तीय साक्षरता, महिला सशक्तिकरणदेखि मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर संस्थाहरुले तीज मनाइरहेका छन् । 
संस्थामा आवद्ध महिला सदस्यहरुलाई भेला गरेर वित्तीय साक्षरताका साथै संस्थाको गतिविधिका बारेमा जानकारी दिन यस्ता कार्यक्रम सहयोगी बनेका छन् ।

एकातिर सदस्यहरुलाई मनोरञ्जन दिलाउने र अर्कोतर्फ वित्तीय साक्षरतामार्फत बचतको महत्व बुझाउन पनि तीज कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको सहकारीकर्मीहरुको धारणा छ । संस्थाहरुले वित्तीय साक्षरता, महिला शसक्तिकरण, व्यक्तित्व तथा नेतृत्व विकास र अन्य थुप्रै नामका माध्यमबाट तीज कार्यक्रम आयोजना गरेका भए पनि सबै संस्थाको उदेश्य सदस्यहरुबीच घुलमिल गराई चाडपर्व मनाउनुका साथै संस्थाप्रति उनीहरुको आकर्षण बढाउनु रहेको देखिन्छ । 

सहकारी विभागको तथ्याङ्कले ७३ लाख सदस्य मध्ये ५६ प्रतिशत महिला सहकारी संस्थाको  सदस्य रहेको देखाउँछ  । कूल सदस्य संख्या मध्ये महिला सदस्यको संख्या ४० लाख ९२ हजार  ३९४ रहेको छ । पुरुष सदस्य संख्याको तुलनामा महिला सदस्यको संख्या १२ प्रतिशतले बढी छ । 

त्यसैगरी महिलाहरुद्वारा सञ्चालित सहकारी संस्था पनि ४ हजार माथि रहेका छन् । यी सहकारी संस्थाले महिला सदस्यहरुको आर्थिक उन्नतिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । घरायसी कामकाज र चुलो चौकामा सीमित रहेका महिलाहरुलाई सहकारी संस्थाले संगठित गरी उनीहरुको आर्थिक तथा सामाजिक परिवर्तन गर्न उल्लेख्य भूमिका खेलको विभिन्न अध्ययनले देखाएको छ ।

घरभित्र सीमित रहेका महिलालाई बाहिर ल्याएर सहकारीमा ससानो बचत गर्ने बानीको विकासदेखि आर्थिक तथा सामाजिक रुपमा स्वतन्त्र बनाउन सहकारीको योगदान ठुलो छ । सहकारीकै कारण महिलाहरु संगठित भएर आफ्नो अधिकार खोज्नेदेखि आर्थिक रुपमा समेत सबल बन्दै गएका उदाहरण समाजमा प्रशस्तै रहेका छन् । सहकारीले आयोजना गर्ने तिज कार्यक्रमले सदस्यहरुबीच भावनात्मक सम्बन्ध स्थापित गर्न, फजुल खर्च घटाउन, सामुहिक रुपमा चाडपर्व मनाउन र बचतको महत्व सिकाउन निकै सहयोगी भएको एक सहकारीकर्मीले बताइन् ।

पछिल्लो समय सहकारीप्रति नै नकारात्मक भावना विकास भएर गइरहेको बेला यस्ता कार्यक्रमले सहकारीको आवश्यकता बुझाउन, सदस्यसँग टाढिएको सम्बन्ध नजिक गराउन तथा संस्था सदस्यको हो भन्ने भावना स्थापित गर्ने माध्यम पनि यो बनेको छ । शहरमा खुलेका केही संस्थाले सदस्यको बचत फिर्ता गर्न नसक्दा सहकारी भनेका ठग नै हुन भन्ने वहस समाजमा चलिरहेका बेला सिद्धान्तअनुसार चलेका सहकारीहरुले आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तारण गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेका छन् । 

457564218_383391784629358_5487897642537003386_n.jpg