पारिजात बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरी १७ औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान, निःशुल्क आँखा तथा चर्मरोग शिविर आयोजना गरेको हो । भक्तपुर रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ७५ जना स्वयंसेवी रक्तदाताहरुले रकतदान गरेका थिए ।
त्यसैगरी १ सय ६७ जना सदस्यहरूको निःशुल्क आँखा तथा चर्मरोग परिक्षण गरिएको थियो। जसमा २ जनाको मोति बिन्दुभएको,७ जनाको आँखामा मासु पलाएको र एक सय जनाको आँखा सुख्खा र बाँकीको नजिकको दृष्टी कमजोर भएको डाक्टरहरुले जानकारी गराएका थिए । संस्थाको महिला उप समितिको आयोजनामा भएको उक्त कार्यक्रममा शिक्षण अस्पताल महाराजगंजका आँखा रोग विशेषज्ञ डा. आशिषराज पन्त तथा सरूवारोग अस्पताल टेकुका छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा. रिपला आचार्यले परिक्षण गरेका थिए । परीक्षणमा सहभागि डाक्टरहरूलाई प्रमुख अतिथि एवं जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष ध्रुववहादुर रायमाझी तथा संस्थाका अध्यक्ष टंकराज काफ्लेले संस्थाको तर्फवाट मायाको चिनो प्रदान गरेका थिए ।
सो अवसरमा संस्थाका सञ्चालक समिति लेखा सुपरीवेक्षण समिति, सल्लाहकार समिति ,विभिन्न उपसमिति,शेयर सदस्य ,कर्मचारी लगायतको उपस्थिति रहेको थियो । सहकारी संस्थाले प्रकाशित गरेको साउन महिनाको वित्तीय विवरण अनुसार शेयर पुँजी ११ करोड ४३ लाख ३१ हजार,जगेडा कोष ७ करोड २६ लाख ७८ हजार,विभिन्न कोषहरु १ करोड ८५ लाख ५७ हजार र कूल संस्थागत पुँजी ८ करोड ३९ लाख पुगेको छ । संस्थाले ७४ करोड १ लाख ९४ हजार बचत संकलन गरी ८१ करोड ७१ लाख ७१ हजार ऋण लगानी गरेको छ । २ हजार ७१७ सदस्य रहेको संस्थाको कूल सम्पत्ति १ अर्ब २ करोड ९ लाख पुगेको छ ।

नेपालपत्र संवाददाता