सरकारले चालु आर्थिक बर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा सहकारी संस्थाका सञ्चालक वा एकाघरका सदस्यको सम्पत्ति धितो राखेर पीडित बचतकर्ताको रकम फिर्ता गर्न भनेपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । सरकारको नीति तथा कार्यक्रम, बजेट र राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले समेत उक्त कुरा बोलेको भए पनि यसको कार्यान्वयको मोडालिटी के हुने भनेर टुङ्गो लाग्न सकेको छैन ।
सहकारी विभागका उप रजिष्ट्रार टोलराज उपाध्याय नीति, कार्यक्रम र बजेटमा सरकारले उक्त विषय ल्याएको र त्यसलाई कार्यान्वयनमा लैजाने बताउँछन् । बजेटमा आएपनि कार्यविधि नबनेसम्म कसरी पैसा दिने भनेर भन्न नसकिने उनले बताए । सरकारले कार्यविधि बनाउँछ र त्यसलाई टेकेर अगाडि बढ्ने उनले प्रष्ट पारे । नीतिगत विषय भएकाले कुन पाटोबाट कसरी कार्यविधि बनाउने भन्नेमा मन्त्रालय तहबाट नै फाइनल हुने उनको भनाई छ ।
सहकारीप्रतिको विश्वास कम भएका बेला सदस्यहरुलाई विश्वस्त बनाउनको लागि सरकारले नीति तथा कार्यक्रममा यो कुरा ल्याएको उपाध्यायले बताए । अन्ततः सञ्चालकहरुले जुन जुन क्षेत्रमा लगानी गरेका छन्, तिनै सम्पत्ति बेचेर सदस्यको बचत फिर्ता गर्नुपर्ने भन्दै उनले एकाघरको सम्पत्ति धितो राखेर सदस्यको पाँच लाखसम्मको बचत फिर्ता गर्ने विषयमा बजेटले बोलेको जनाए ।
नीति कार्यक्रम र बजेटले उद्देश्य भित्र रहेर सहकारी सञ्चालन गर्ने, एकीकरणलाई प्रोत्साहन गर्ने र सहकारीप्रति विश्वास गुमेकाले एकाघरको सम्पत्ति रोक्का राखी सदस्यको निश्चित बचत रकम फिर्ता गर्ने कुरा आएको उनको भनाई छ । विभागले त्यसअघि नै सञ्चालकहरुलाई आफ्नो जायजेथा बेचेर भएपनि सदस्यको बचत फिर्ता गर्छु भनेर ल्याप्चे लगाएर पठाएको उनले जनाए ।
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले यो विषयमा अर्थमन्त्री र प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको बताइन् । सहकारी संस्थाका सञ्चालक र एकाघरको सम्पत्ति धितो राखेर पीडित बचतकर्ताको ५ लाख सम्मको रकम फिर्ता गर्न सके सहकारीप्रति विश्वासको वातावरण बन्ने उनको भनाई छ । महासंघ यो विषयमा गम्भिरताकासाथ लागिपरेको र सरकारले अभियानले उठाएको जायज माग सम्बोधन गर्नेमा आशावादी भएको उनले बताइन् ।
सरकारले सहकारी संस्था, सञ्चालक र एकाघरका सदस्यको सम्पत्ति धितो राखेर १० अर्ब रकम उपलब्ध गराए ५ लाखसम्मको बचत फिर्ता गर्न सकिने उनको भनाई छ । सहकारी पीडितहरु भने सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन होला र आफुले सहकारीमा राखेको बचत फिर्ता पाइएला भन्ने आशामा कुरेर बसेका छन् ।
नेपालपत्र संवाददाता