सोमबार, कार्तिक १० गते २०८३

दोहोरो पदको समय छ महिना थप, संघका पदाधिकारीहरुमा छायो खुशी


श्रावण २५, २०८१ शुक्रबार
दोहोरो पदको समय छ महिना थप, संघका पदाधिकारीहरुमा छायो खुशी


सहकारी विभागले ६ महिनाको समय दिएर दोहोरो पद छाड्न सहकारी संघसंस्थालाई निर्देशन दिएको छ । यस अघि ३० दिनको सूचना प्रकाशित गरेको विभागले सहकारी अभियानको दवाब झेल्न नसकेपछि ६ महिनाको समय थप दिएको हाे । आर्थिक बर्ष सकिएको छ महिना भित्र सहकारी संघ संस्थाहरुले बार्षिक साधारण सभा गरिसक्नु पर्ने कानुनी व्यवस्था छ ।

सोही साधारणसभा मार्फत दोहोरो वा तेहेरो पदमा रहेका सहकारीका सञ्चालकहरुले राजिनामा दिई एउटा मात्र संस्थाको सञ्चालक बस्नुपर्ने विभागले जनाएको छ । विभागले दोहोरो पदमा बस्न पाउने समय छ महिना थपिदिए पछि राष्ट्रिय सहकारी महासंघले त्यसको स्वागत गरेको छ । दोहोरो सदस्यताको विषयमा आफ्नो प्रष्ट धारणा सार्वजनिक गरेको महासंघले दोहोरो सञ्चालकको पदको सन्दर्भमा भने विरोध जनाउँदै विभागलाइ ध्यानाकर्षण समेत गराएकाे थियाे । 

सहकारीमा देखा परेका समस्या समाधानका सिन्को समेत भाँच्न नसेकेका संघ तथा महासंघका पदाधिकारीहरू दोहोरो तेहेरो पदमा बसेर रमाउने भन्दा बाहेक केहि गर्न सकेका छैनन्। सहकारी क्षेत्रको विकास र प्रवर्द्धनका साथै सहकारी अभियानलाई व्यवस्थित बनाउने काममा संघमहांसघ लाग्नु पर्नेमा पदमा बसेर राजनीति गर्ने, भाषण र अथिति बन्नमा नै रमाउने प्रवृत्ति मात्र देखिएकाे छ ।

विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले एक सूचना जारी गर्दै २०८१ असार १९ गते जारी भएको सहकारी ऐन २०७४को दफा ४१(५) को प्रावधान कार्यान्वयन सम्बन्धी निर्देशनका सन्दर्भमा सम्बद्ध पक्षहरुको अनुरोधले ६ महिनाको समय थप गरिएको उल्लेख छ ।

सहकारी संघसंस्थाले आफ्नो बार्षिक साधारण सभा मार्फत सञ्चालक निर्वाचित गर्ने तथा हटाउन सक्ने सहकारी ऐन २०७४ को दफा ३८ को खण्ड (घ) को व्यवस्था र त्यस्तो साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको छ महिना भित्र बोलाउनु पर्ने सहकारी ऐन २०७४ को दफा ३९ (२) को कानुनी व्यवस्था लाई समेत मध्यनजर गरी विभागको उक्त निर्देशन आगामी पौष मसान्तसम्ममा कार्यान्वयन गर्न गराउन सूचनामा उल्लेख छ ।