सोमबार, कार्तिक १० गते २०८३

समस्यामा परेको दर्शन सहकारीले साना बचतकर्ताको रकम फिर्ता गर्दै, १ अर्ब ३० करोडको दायित्व


श्रावण ८, २०८१ मंगलबार
समस्यामा परेको दर्शन सहकारीले साना बचतकर्ताको रकम फिर्ता गर्दै, १ अर्ब ३०  करोडको दायित्व

कीर्तिपुरमा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको बचत फिर्ता गर्दै आएको छ । संस्थाले सञ्चालक समिति, कर्मचारी र संस्थाको नाममा रहेका भौतिक सम्पत्ति विक्री गरेर पहिलो चरणमा साना बचतकर्ताको रकम फिर्ता गरेको हो । संस्थाले स–साना बचतकर्तालाई घर तथा पसलमा नै पुगेर बचत फिर्ता गर्दै आएको जनाएको छ ।

संस्थाले बचत फिर्तालाई व्यवस्थित बनाउन र संस्थामा भीड कम गर्ने उदेश्यले सदस्यहरुको नामावली प्रकाशन गरी सोही अनुसार बचत फिर्ता गर्दै आएको छ। संस्थाको बचत फिर्ताको कार्य योजना अनुसार असार २३ देखि २८ गतेसम्म २ हजार ५१० साना बचतकर्ताहरुको नामावली सार्वजनिक गरेको र त्यस मध्ये १ हजार ६७१ जना सदस्यको बचत फिर्ता गरेको संस्थाले जनाएको छ । साथै दोस्रो किस्ताको रकम श्रावण १५ गतेबाट वितरण गर्ने संस्थाले  सूचनामा भनेको छ ।

सहकारी संस्थाले सदस्यको बचत फिर्ता नगरेपछि बागमती प्रदेश सँस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको सहकारी महाशाखामा पीडित बचतकर्ताहरुले उजुरी समेत दिएका थिए । पटक पटकको छलफल र वार्तापछि संस्था र पीडित बचतकर्ता बीच २१ बुँदे समझदारी भएको थियो । साेही अनुरूप संस्थाले सञ्चालक समिति, कर्मचारी र संस्थाको नाममा रहेको चलअचल सम्पत्ति विक्री गरेर सदस्यहरुको बचत फिर्ता गर्न थालेको  हो ।

संस्थाले सदस्यबाट बचतको रुपमा लिएको पुँजीलाई विभिन्न व्यवसायमा लगानी गरेको कारण समयमा बचत फिर्ता गर्न नसकेको पाइएको छ। विशेषत संस्थाले रुख खेती, भैंसी पालन,माछा पालन, सि एन जि ग्यास, वायोटेक नर्सरी जस्ता क्षेत्रमा  लगानी गरेको पाइएको छ।

यस्तो छ  वित्तीय विवरण 

संस्थाले २०७९ साल पौष २३ गते १२ औं साधारणसभा गरेको थियो । संस्थामा आ.ब. २०७८/०७९ को असार मसान्तसम्म ९ हजार ७९८ जना सदस्य रहेका छन् । संस्थाको मुख्य कार्यालयसँगे तीन वटा सेवा केन्द्र स्थापना गरी सदस्यलाई सेवा प्रदान गर्दै आएको थियो । संस्थाले प्रत्येक सेवा केन्द्रमा एटिएम सेवा समेत सञ्चालनमा ल्याएको थियो । साेही एटिएम मेशिन अहिले संस्थाले प्रति गोटा २ लाख ५० हजारमा  विक्री गरेर सदस्यको बचत फिर्ता गरेको छ। संस्थाको १२ औं साधारण सभासम्म पुग्दा शेयर पुँजी १८ करोड  ८ लाख र बचत संकलन ८४ करोड ५४ लाख ६३  हजार रहेको प्रतिवेदनमा देखिएको छ। संस्थाको त्यस अवधिमा १ अर्ब ३० करोडको  माथीको दायित्व रहेको पाइको छ। संस्थाले सहकारी बैंक, काठमाडौं जिल्ला संघ र काठमाडौं बचत संघबाट गरी २० करोड माथि ऋण लिएको छ ।