सहकारी संस्था बचत रकम दुरुपयाेग सम्बन्धमा संसदीय छानविन विशेष समितिले राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन) र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारी एवम् कर्मचारीसँग सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा छलफल गरेको छ ।
समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा छलफल भएको थियो। सो छलफलमा समितिका सभापति सुर्य थापाले सहकारी समस्याका बारेमा र समाधानको उपाय पत्ता लगाउने सम्बन्धमा विभिन्न सरोकारावालासँग छलफल जारी रहेको बताए । उनले तथ्यगत रुपमा अध्ययन अनुसन्धान गरेर समस्या समाधानका लागि उपाय खोजी गर्ने जनाए। विगतका विभिन्न समितिका प्रतिवेदन समेत अध्ययन गरिरहेको बताउँदै समस्या पालेर समाधान खोज्न उनको भनाई छ। सो छलफलमा सांसद ध्रुवबहादुर प्रधान, लेखनाथ दाहाल, शिशिर खनालले सहकारी संस्थाहरुमा देखिएको संकट समाधानका गर्नुपर्ने आवश्यक कार्यको विषयमा अभियानकर्मीसँग सुझाव लिएका थिए ।
महासंघका अध्यक्ष तथा तत्कालिन संविधान सभाकी सदस्य ओमदेवी मल्लले समस्या हुनुको मुख्य कारण र समाधानका उपायका बारेमा जानकारी गराउँदै लिखित रुपमा समेत बुझाएकी छिन् । सो छलफलमा महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेल, उपाध्यक्ष डिवि बस्नेत, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंको उपस्थिति थियो।