सोमबार, कार्तिक १० गते २०८३

पहिलो सहकारी रोजगार मेलाको  ३ हजार बढीले गरे अवलोकन, २ सय विद्यार्थीलाई करियर काउन्सिलिङ


आषाढ ९, २०८१ आइतबार
पहिलो सहकारी रोजगार मेलाको  ३ हजार बढीले गरे अवलोकन, २ सय विद्यार्थीलाई करियर काउन्सिलिङ

‘मर्यादित सहकारी व्यवसायका लागि यूवा संलग्नता’ नारा सहित नेपालमा प्रथम सहकारी रोजगार मेला–२०८१ भव्यताका साथ सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा असार ७, ८ र ९ गते तीन दिनसम्म ललितपुरस्थित पुल्चोक परिसरमा सञ्चालित मेला करिब  ४ हजारले अवलोकन गरेका छन् । मेलामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का विज्ञद्वारा   २ सय विद्यार्थीलाई करियर काउन्सिलिङ गरिएको छ ।

समयमा नै जागिर सुरक्षित गर्न अनलाइनमार्फत व्यक्तिगत विवरण भरी रोजगारीको अवसरको लाभ लिएको महासंघले बताएको छ । मेला अवधिभर सहकारीका ठूलो रोजगारदाताहरूबाट कार्यपत्र प्रस्तुती पनि भएका थिए । विश्वविद्यालयदेखि विभिन्न कलेजका विद्यार्थीहरू, रोजगारीको खोजीमा रहेका युवाहरू, प्राविधिक जनशक्तिहरू, सहकारीकर्मीहरू गरी करिब ५ हजारभन्दा बढीले मेलाको अवलोकन गर्ने अनुमान गरिए पनि अपेक्षाअनुसार नहुनुलाइ महासंघले सिकाइको रुपमा लिएको छ ।  

यद्यपि सहकारीको ३० वर्षे इतिहासमा पहिलो मेला गर्न र सहकारीको बारेमा सकारात्मक सन्देश दिन सफल भएको महासंघकी अध्यक्ष ओमदेवी मल्ल बताइन्। मल्ल भन्छिन्,‘हामीले यो मेला पहिलो पटक गरेकाले कति गर्न चुक्यौं वा कति सफल भयौं ? तर शुरुवात गयौं । आगामी वर्षमा भने व्यवस्थित गर्दै जानेछौं ।’ सडक र सदनमा समस्यामा रहेका सहकारीबारे चर्चा भैरहदा कृषि, पर्यटन लगायत क्षेत्रमा पनि सहकारी छ भनेर मेलामार्फत बुझाउन सफल भएको उनको भनाइ छ ।  

मेलामा  २९ ओटा स्टलहरुमार्फत विभिन्न उत्पादित सामाग्रीहरु प्रदर्शन समेत गरिएको थियो । मेलामार्फत महासंघले विभिन्न सहकारीमा आवश्यक पर्ने रोजगारीका लागि अनलाईनबाट सिभि संकलन गरेको महासंघकी महाप्रबन्धक चित्रा कुमारी थामसुहाङ सुब्बाले जानकारी दिइन । ‘महासंघकै गुगलमार्फत आईटी, फाइनान्स, एकाउन्ट अफिसर लगायतको रोजगारीका लागि आवेदन परेको छ । कतिले गरे भन्ने तथ्यांक केहि दिन पछि आउँछ । सहकारी संस्थाहरुले खोजी गरिरहेकाले अब आवेदन परेकाबाट महासंघमार्फत समन्वय गरिदिनेछौं, ’ उनले भनिन् ।  

महासंघले प्रतिभा पलायन (ब्रेन ड्रेन) रोक्न, स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्ने तथा उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्न मेलाको आयोजना गरेको हो । स्टार्टअपहरू र साना व्यवसायमार्फत स्वरोजगार गर्न चाहनेहरूको लागि नेटवर्किङको काम सो मेलाले गरेको आयोजकको भनाइ छ ।

मेलाको समापन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले नेपालमा सहकारीमार्फत भएको विकासलाई हेर्नुपर्ने भन्दै केहि व्यक्तिहरुले सहकारीलाई बदनाम गराउँदैमा समग्र सहकारी नराम्रो भन्न नमिल्नेतर्फ ध्यानाकर्षण गराए । सहकारीले किसानबाके उत्पादन विक्रि गर्ने वातावरण तय गरेको समेत उनले बताए । यसैक्रममा मन्त्री अर्यालले भने, ‘चार खर्ब भन्दा बढी बचत सहकारीमा छ । नेपालमा सहकारीको माध्यमबाट भएको विकास, रोजगारी र यस क्षेत्रले दिएको योगदान धेरै छ । पैसालाय कसरी परिचालन गर्न सकिन्छ भनेर सहकारीले सिकायो । सहकारीका कारण कति उद्यमी बनेका छन् ।

यस्तै, कार्यक्रममा नेकपा एमाले सहकारी विभागका प्रमुख खगराज अधिकारीले सहकारी संस्थाहरुमा नराम्रो गर्न खोज्नेहरु टिक्न नसक्ने बताएका छन् । उनका अनुसार राजनीतिक दलभित्र पनि सहकारी अर्थतन्त्रको एउटा खम्बा सहकारी हो भन्ने नबुझ्ने पनि छन् । ‘केही सहकारी संस्थाहरुले नराम्रा पनि गरेका छन् । गलत कामको ढाकछोप गर्न जो जो लाग्नु हुन्छ उनीहरुलाइ कारबाही हुनुपर्छ । सहकारीमा नराम्रो काम जसले गर्छ उ सहकारीमा टिक्न सक्दैन,’ उनले भने ।   उनले सरकारले सहकारीको अनुगमन नगरेको समेत आरोप लगाए । उनले सुझाव दिंदै भने, ‘अनुगमनको काम सरकारले नै गरेको छैन । सहकारीको बदनाम गराउनेहरु कहिले पनि यस क्षेत्रमा नफर्किनु होला । यस क्षेत्रलाइ राम्ररी अगाडी बढ्न दिनु होला ।’

यस्तै, कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष तथा सल्लाहकार दीपकप्रकाश  बास्कोटाले बल्ल सडकदेखी सदनसम्म सहकारीबारे चर्चा हुन थालेको बताए । अहिले केहि सहकारीको  बदमासीका कारण सहकारीको नकारात्मक विषय सडकदेखि सदनसम्म पुगेको उनको भनाइ थियो । यसले सहकारीलाई सच्चिने माैका भने दिएको उनले बताए । ‘अहिले चुनौतीका वावजुद सहकारीहरुले सहि दिशा लिएर अघि बढ्ने राम्रो अवसर हो ’ बासकोटाले भने । मेलाको पहिलो दिन उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आम सहकारीवालाहरुलाई भावनात्मक एकता कायम गर्न अनुरोध गरेका थिए । नेपालमा ३१ हजार बढी सहकारी संस्थामा ७४ लाख व्यक्ति आवद्ध छन् । जसमा ५६ प्रतिशत महिला सहभागिता छ ।