भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राम्रो काम गरेका सहकारी संस्थाको सरकारले प्रवर्दन गर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो रोजगार दाता मेलाको उद्घाटन गर्दै उनले हालसम्म २५० जति सहकारी संस्था समस्यामा परेको भए पनि त्यसको प्रभाव ३१ हजार सहकारीमा परेको बताए ।
उनले भने,‘गलल गर्नेलाई गलत र राम्रा गर्नेलाई राम्रो भन्न सक्नुपर्छ ।’गलत गर्ने र सही काम गर्ने सहकारी संस्थाको एकिन तथ्याङ्क निकाल्न आवश्यक भएको भन्दै उनले राम्रा गर्ने संस्थाको डाटा निकाल्न सके कुप्रचार बन्द हुने बताए । सही काम गर्ने र गलत गर्ने सहकारी यति छन् भनेर यकिन तथ्याङ्क निकाल्न मन्त्री अधिकारीले आग्रह गरे । उनले सहकारी मूल्य, मान्यता र सिद्धान्त विपरित चलेका केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्रप्रति नै कुप्रचार भएको बताए ।
सहकारीको एकिन तथ्याङ्क नभएको भन्दै मन्त्री अधिकारीले सहकारीको वास्तविक तथ्याङ्क निकाल्न आवश्यक रहेको बताए । सरकारले धेरै क्षेत्रमा हेर्नुपर्ने भएकाले महासंघले सहकारीको एकिन तथ्याङ्क निकाल्नु पर्नेमा उनको जोड छ । सहकारीमा समस्या आउनुमा कम्जोर नियमाक र अभियानको पनि ध्यान नजानु उनको भनाई छ । सहकारीले उत्पादन गरेको वस्तु विक्रीका लागि छुट्टै बजार व्यवस्थापन गर्न सरकारले समन्वय गरिदिने उनले बताए । ‘सहकारीका सेवा तथा वस्तु विक्रीलाई छुट्टै बजारका लागि आवश्यक पर्ने जग्गा खोज्नुस्,पालिकाहरुसँग हामी समन्वय गरिदिन्छौं’ उनले भने,‘ कालिमाटीको भर नपर्नुस, कुन पालिकामा बजार बनाउन सकिन्छ, तपाईहरु लाग्नुस्, म पूर्ण रुपमा सहयोग गर्छु ।’ सहकारीलाई उद्योग दर्ता गर्न दिनुपर्ने प्रस्ताव आफुले राखेको र त्यसलाई कानुनी रुपमा दिन समय लाग्ने उनको भनाई छ ।
उनले सहकारीहरू उद्देश्य विपरित व्यापार, व्यवसाय, व्यक्तिगत नाफाको आधारमा चलेको हुनाले समस्याहरू आएको भन्दै त्यसमा मन्त्रीको हैसियतले व्यवहारिक रूपमा समस्या समाधानमा लाग्ने बताए ।
‘सहकारी स्थापनाको उद्देश्य, लक्ष्य अनुसार सहकारीहरू चल्नैपर्छ । अहिले केही केही सहकारीहरूले उद्देश्य विपरित व्यापार, व्यवसाय, व्यक्तिगत नाफाको आधारमा चलेको हुनाले पनि समस्याहरु आएका छन्,’ उनले भने, ‘सबै कुरामा मन्त्रालय र मन्त्रीको तर्फबाट व्यवहारिक रूपमा समस्या समाधान गर्नका लागि कहाँ कस्तो किसिमको प्रयास गर्नुपर्छ, कुन बाटो हिँड्दा सहज हुन्छ भन्ने दिशातर्फ जानको लागि सरकार र म सधैँ तयार छु ।’एकले अर्काको विरोध गर्न थाल्यो भने कहिले सफलता प्राप्त गर्न नसकिने भन्दै मन्त्री अधिकारीले समस्या समाधानको लागि सहकारीमा भावनात्मक एकता कायम हुनुपर्ने बताए । ‘हाम्रो सहकारीमा पहिलो कुरा भावनात्मक एकता कायम हुनुपर्छ । एकले अर्काको विरोध गर्न थाल्यो भने कहिले पनि सफलता हासिल गर्न सकिँदैन। सबैले उद्देश्य पूरा गर्ने भनेर लाग्ने हो भने पूरा हुन्छ,’ उनले भने, ‘तर सबैले मैले गर्ने मेरो लागि गर्ने भनेर लाग्ने हो भने कहिले पनि हुँदैन् । सबै वचनबद्ध भएर अगाडि बढ्ने हो भने सहकारीमा देखिएका सबै समस्याहरू हल हुन्छन् ।’रोजगारीको लागि विदेश नै जानुपर्छ भन्ने जुन भष्य निर्माण भएको छ त्यसलाई कम गराउनको मेला र प्रदर्शनले सहयोग पुर्याउने विश्वास लिएको पनि उनको भनाइ छ ।
नेपालपत्र संवाददाता