सहकारी विभागले एक स्थानीय तहको एकै प्रकृतिको एउटा मात्र संस्थाको सदस्य बन्न पाइने जनाएको छ। सदस्यहरू कुनै स्थानीय तहभित्र एक एकै प्रकृतिका एकभन्दा बढी संस्थाको आवद्ध रहेको भए कुनै एउटामा मात्र सदस्यता कायम राख्नुपर्ने विभागले जनाएको छ।
विभागका रजिष्ट्रार पिताम्बर घिमिरेद्वारा प्रेषित सूचनामा सहकारी संस्थाहरूले आफ्ना सदस्यलाइ कुनै एकमात्र संस्थामा आवद्ध हुन अवगत गराउनुपर्ने उल्लेख गरिएको छ।
सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा ९१० मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य हुन नपाउने र ऐन प्रारम्भ हुनुअघि त्यसरी एकभन्दा बढी संस्थाको सदस्य रहेको भए तीन वर्षभित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्नुपर्ने व्यवस्था छ।
सूचनामा भनिएको छ ‘‘ सहकारी ऐनको उक्त प्रावधान विपरित कसैले एकै स्थानीय तहभित्र कार्यसञ्चालन गरिरहेका एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थाहरूको सदस्यता लिनुभएको भए आफूले छनौट गरेको कुनै एकमात्र सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सहकारी संस्था वा संस्थाहरूको सदस्यता अन्त्य गर्नुहुन अनुरोध छ । सहकारी संस्थाहरूले पनि आफ्ना सदस्यहरूलाई अवगत गराएर तदनुसार गर्ने, गराउने व्यवस्था मिलाउनुहुन सूचित गरिन्छ। अन्यथा कानुन बमोजिम कारबाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।’’

नेपालपत्र संवाददाता