घरजग्गालाई लगानीको मुख्य क्षेत्र बनाउँदा धेरै सहकारी संस्थाहरु समस्यामा परेका छन् । सदस्यबाट संकलन गरेको बचतलाई सहकारी संस्थाका सञ्चालकहरुले घरजग्गा, शेयर बजार र अनुत्पादक क्षेत्रमा अन्धाधुन्द लगानी गर्दा अहिले ठुलो समस्या आएको हो ।
काठमाडौं लगायत शहरी क्षेत्रमा रहेका ठुलो कारोबार गर्ने संस्थाहरुले सदस्यको बचतलाई हेटौडा, चितवन, काभ्रेपलान्चोक लगायत तराईका विभिन्न जिल्लामा घरजग्गामा लगानी गर्दा समस्या विकराल बन्न पुगेको हो । सदस्यको बचतलाई सदस्य माझ परिचालन गर्नु पर्ने सहकारीको सिद्धान्त भए पनि आफु खुशी र नियम विपरित लगानी गर्दा ठुला सहकारी संस्था अप्ठ्यारोमा परेका छन् ।
एक औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले सहकारी क्षेत्रले घरजग्गामा १ खर्ब ५० अर्ब लगानी गरेको हुन सक्ने बताए । सहकारीको लगानी घरजग्गा र शेयर बजारमा रहेको तर यी दुबै क्षेत्रमा अहिले गिरावट आएकाले समस्या बढेर गएको उनको भनाई छ ।
अर्कोतर्फ सरकारले घर जग्गाको वर्गिकरण गर्ने भन्दै केही समय कित्ताकाटमा रोक लगाएका कारणले पनि समस्या बढेको उनको ठम्याई छ । सञ्चालकहरु कमाउ प्रवृत्तिमा जाँदा र सदस्यहरुले पनि ब्याजको लोभमा परेर संस्थाको वास्तविकता नबुझी बचत गर्दा अहिले धेरै सदस्यको बचत डुबेको नेपालले बताए । सदस्यको सानो बचत फिर्ताको लागि सरकारले सहकारी बैंकमार्फत सहुलियत कर्जा उपलब्ध गराउनु पर्ने र कम्तीमा २ बर्षको समय दिएर संस्थाहरुलाई सुधारको मौका दिनु पर्ने उनको सुझाव छ ।
नेपाल राष्ट्रबैंकका पूर्व गभर्नर डा. युवराज खतिवडा घर जग्गा र शेयर बजारमा आएको गिरावट नै समस्याको मुख्य कारण भएको बताउँछन् । हिजोको दिनमा ३२ सय आसपास पुगेको शेयर बजार २००० अंकमा झरेको छ भने १ लाखमा आनामा गरेको जग्गा प्लटिङ्ग २ लाखमा विक्री गर्ने सपना लिएर बसेकाहरु अहिले ७५ हजारमा पनि बिक्री नभएर समस्यामा परेको उनको भनाई छ ।
घर जग्गाले अर्थतन्त्रमा ल्याएको समस्या आफु राष्ट्र बैंकमा हुँदा नजिकबाट नियालेको भन्दै उनले विश्वमा आर्थिक संकट आउनुको मुख्य कारण रियल स्टेट भएको जनाए । जुन जुन देशले रियल स्टेटमा लगानी अधिक गरेका छन्, ती देशमा आर्थिक मन्दी आएको भन्दै उनले चीनले पनि त्यहि समस्या भोगेको बताए । सन् २००७÷८ ताका आएको वित्तीय संकट र त्यसपछि आएका संकटहरु घरजग्गा वरिपरी नै घुमेको उनको भनाई छ । नेतृत्व तहले समयमा विवेक पुर्याउन नसक्दा र पछिल्लो समय घरजग्गाको क्षेत्रमा अधिक लगानी गर्दा अहिलेको समस्या आएको उनको भनाई छ ।
संस्थाको ब्यालेनसिटमा बढोत्तरी भएसँगै सदस्यको आर्थिकस्तरमा पनि वृद्धि गर्नु सहकारीको काम भएको उनले जनाए । ‘अघिल्ला २ बर्षमा वित्तीय क्षेत्रको १५ खर्ब रुपैया घरजग्गामा गएको छ र अहिले त्यो पैसा फ्रिज भएर बसेको छ’ उनले भने, ‘उद्योगमा गएको पैसाले उद्योग धन्दा र कृषिमा गएको पैसाले कृषि उत्पादन भएको पनि देखिएन । व्यापार व्यवसाय समेत घटिराखेको छ । विदेशमा केही मात्रामा चुहियो होला ।’
क्रमशः मानिसहरुले जग्गाको भाउ घटाएर बेच्नुको विकल्प नहुने खतिवडाले औंल्याए । उनले भने ‘कतिपयले अब परल मुल्य शेयर बेचेर कारोबार मिलाउन थाल्छन् । सस्तो हुन थालेपछि मानिसमा नयाँ उत्साह हुन्छ र भोक जागेर आउँछ । २ बर्ष अघिको स्थितिमा भने मुलुक पुग्नु हुदैन । त्यसले अर्को विकृति ल्याउँछ ।’ आगामी आर्थिक बर्षको भदौ असोजबाट घरजग्गा लगायतको सामान्य कारोबार बढ्न सक्ने उनको अनुमान छ । अब संस्थाहरुले बिचार गरेर पुँजी निमार्ण हुने क्षेत्रहरु—आवास निर्माण, औद्योगिक प्रतिष्ठान, जलविद्युत तथा घरेलु उद्योगहरुमा लगानी गर्नुपर्ने उनको सुझाव छ ।
यता, सहकारी संस्थाहरुले सदस्यहरुलाई बचत रकम फिर्ता गर्न नसकेपछि तराईका जग्गा महँगोमा भिडाउने गरिएको छ। सदस्यले आफ्नो गर्जो टार्नका लागि जम्मा गरेको ससानो बचतलाई गलत क्षेत्रमा लगानी गरेर सहकारी संस्थाले सदस्य माथि अन्याय गरेको आरोप लागेको छ । सदस्यहरुलाई चलनचल्तीभन्दा महँगोमा जग्गा लिन बाध्य बनाउने र रकम अपुग भएको अवस्थामा थप गर्न समेत बाध्य बनाइएको छ ।
सहकारी ऐन २०७४ ले पनि सहकारी संस्थाले घरजग्गा लगायतका क्षेत्रमा लगानी गर्न नपाउने व्यवस्था गरेको छ । ऐनको दफा ५० ले सहकारीहरुले सदस्य केन्द्रीत भई वित्तीय कारोबार गर्नु पर्ने व्यवस्था गरेको छ भने संस्थाहरुले बचत रकम सदस्यबीच ऋण परिचालन गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसका साथै राष्ट्र बैंकले जारी गरेको ऋणपत्र वा ट्र्ेजरी बिल खरिद बाहेक अचल सम्पत्ति खरिद, पूर्वाधार निमार्ण, कारोबारमा लगानी, फर्म वा कम्पनी तथा कुनै बैंकको शेयर खरिद गर्न नपाइने कानुनी व्यवस्था गरेको छ । तर सहकारीहरुले आफुखुसी अन्धाधुन्द ती क्षेत्रमा लगानी गर्दा सहकारी अभियानप्रति नै अविश्वास बढेर गएको छ ।
नेपालपत्र संवाददाता