सोमबार, कार्तिक १० गते २०८३

साकोस कोषाध्यक्ष गोष्ठी सम्पन्न,नौ बुँदे साझा प्रतिवद्धता जारी


जेठ १९, २०८१ शनिबार
साकोस कोषाध्यक्ष गोष्ठी सम्पन्न,नौ बुँदे साझा प्रतिवद्धता जारी

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनमा भएको दुईदिने साकोस कोषाध्यक्ष गोष्ठी सम्पन्न भएको छ । जेठ १८ र १९ गते धुलिखेलमा भएको गोष्ठीले ९ बुँदे घोषणा पत्र जारी गरेको छ ।  संघका अध्यक्ष रामहरी बजगाईले ९ बुँदे साझा प्रतिवद्धता जारी गर्दै ललितपुर जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई दिगो, सुरक्षित र विश्वसनीय बनाउनको लागि  गोष्ठीले सघाउने बताए । संस्थागत सुशासन र कानुनको पालन गर्दै कोषाध्यक्षको परिभाषित भूमिकालाई अझै प्रभावकारी र जवाफदेही बनाउने उद्देश्यले साकोस कोषाध्यक्ष गोष्ठी फलदायी हुने उनको भनाई छ । अभियानको साख र गरिमालाई कायम राख्न अझै उच्च नैतिक ईमान्दारिताका साथ दृढ सङ्कल्प सहित सक्रिय हुने र नीतिगत व्यवस्था पालना गर्ने गराउने प्रतिवद्धता कोषाध्यक्ष गोष्ठीले गरेको उनको भनाई छ ।

समापन कार्यक्रमा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका कोषाध्यक्ष दिपक थापाले वित्त सहकारी ऐन आवश्यक भएको बताए । सबै सहकारी संस्थाले बचत तथा ऋणको कारोबार गरेकाले सहकारीमा समस्या आएको उनको भनाई छ । अब बचत ऋण सहकारी र अन्य सहकारीबीच कित्ताकाट गर्ने समय आएको उनले जनाए । संस्थामा कोषाध्यक्षको भूमिका महत्वपूर्ण भएको भन्दै थापाले ऐनले नै कोषको जिम्मा दिएको जानकारी दिए ।  

त्यसैगरी बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा तालिम तथा गोष्ठीले सञ्चालकहरुमा आफ्नो भूमिकाको बारेमा जानकारी दिन सहयोग पुग्ने बताए ।  सहकारी संस्थामा १० बर्ष सम्म एकै जनाले लेखापरीक्षण  गर्ने जस्ता कारणले समस्या आएको उनले जनाए । बागमती प्रोस्कूनले आन्तरिक लेखा परिक्षणलाई  बलियो बनाउन लागि परेको र पहिलो चरणमा २५ वटा संस्थालाई पाइलट प्रोजेक्टको रुपमा अगाडि बढाएको उनले जानकारी दिए । वासलत र पल्र्स रिपोर्ट बुझ्न सक्ने कोषाध्यक्ष सहकारी संस्थामा आवश्यक रहेको उनको भनाई छ । सहकारीमा कोषाध्यक्ष मेरुदण्ड भएको र कोषाध्यक्षले भूमिका बुझे संस्थामा पारदर्शी कायम गर्न सकिने उनको भनाई छ । २५ करोड माथीका सहकारीले आन्तरिक लेखापरीक्षक राख्न उनको सुझाव छ । सामुहिक छलफल र प्रतिवद्धताको सहजीकरण प्रशिक्षक तेजप्रसाद बजगाईले गरेका थिए । 

साकोस कोषाध्यक्ष गोष्ठीले जारी गरेको साझा प्रतिवद्धता

१. सहकारी संस्थामा आउन सक्ने जोखिम न्युनिकरणका लागि संस्थागत सुशासन मार्फत आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी बनाउने ।

२ सहकारी संस्थामा कोषाध्यक्षको भूमिका प्रभावकारी बनाउनको लागि नियमित रुपमा ज्ञान, सीप र क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने र संघले आयोजना गरेका कार्यक्रममा सक्रिय सहभागिता जनाउने ।

३. संस्थामा सदस्यहरुको सक्रिय सहभागिता, नियमित कारोवार र विश्वास अभिबृद्धि गर्नको लागि कारोवारको सुरक्षण र सेवाको गुणस्तर प्रभावकारी बनाउने ।

४.लेखापरीक्षण कार्यलाई पारदर्शी र जोखिम रहित ढङ्गबाट सम्पन्न गर्नको लागि संस्थाको आन्तरिक र बाह्य लेखापरीक्षण प्रभावकारी बनाउने ।

५. बचत तथा ऋण सहकारी संस्थाको वित्तीय अनुपातहरुको विश्लेषण गर्नको लागि उपयुक्त विधिको रुपमा स्वीकार गरी अभ्यास गरिएको विश्वासयोग्य अनुगमन प्रणालीको रुपमा स्थापित पल्र्स अनुगमन प्रणालीलाई पूर्ण रुपमा लागु गर्ने ।

६. सहकारी ऐन, नियम र सम्बद्ध कानुनले तोकेको भूमिका निर्वाह गर्न कोषाध्यक्षको सक्षमता विकास गर्ने र कानुनको परिपालनामा जोड दिने ।

७. सुरक्षित प्रविधिको प्रयोग गर्दै सदस्य मैत्री सेवाको लागि सहकारी एकीकरण, मितव्ययिता र लागत रहित कोष वृद्धि गर्ने ।

८. संस्थाले सञ्चालन गरेका कृयाकलाप र वित्तीय विवरण ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघमा नियमित रुपमा विद्युतीय वा अन्य उपयुक्त माध्यमबाट पेश गर्ने ।

९. ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मार्फत संघ,प्रदेश र स्थानीय तहसंग सहकार्य गरी सहकारीमा देखिएका समस्या न्युनिकरण, नीतिगत स्पष्टता र संस्थाको प्रर्वधन र विकास हुने कार्यक्रमहरु सञ्चालन गर्ने ।