चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहालले लेखा परीक्षकले संस्था डुब्न लागेको छ भनेर लेखिदिए पनि सदस्यले तालि बजाएर पारित गर्ने गरेको बताए । लेखा परीक्षकले रिपोर्टमा आफ्नो राय सुझाव लेखिदिए पनि सदस्यले अध्ययन नगर्नु गलत भएको उनले बताएका छन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको साकोस कोषाध्यक्ष गोष्ठीमा सहकारीमा आन्तरिक र वाह्य लेखापरीक्षणको सम्बन्ध र लेखापरीक्षेणमा अपनाउनु पर्ने विधि र प्रक्रियाहरुमा उनले प्रस्तुतीकरण गरेका थिए ।
लेखापरीक्षकले ठिक छ भनेर लेखिदिएका संस्था पनि अहिले समस्यामा परेको उनको भनाई छ। साधारण सभाबाट लेखापरीक्षकको नियुक्ती हुने गरेको र लेखापरीक्षण सञ्चालकका लागि नभई सदस्यका लागि हुने गरेको उनले बताए । सदस्यलाई क्षति नपुग्ने गरी अडिट गर्ने काम लेखापरीक्षकको भएको उनले जनाए । कतिपय संस्थामा सञ्चालकहरुको दवावका कारण स्वतन्त्र र निर्भिक रुपमा लेखापरीक्षण हुन नसकेको उनको भनाई छ । साधारणसभाले नियुक्ती गरेको लेखापरीक्षक कसैले हटाउन नसक्ने दाहालले बताए । संस्थाको आन्तरिक नियन्त्रण प्रणाली,कानुनको अनुपालना,संस्थागत सुशासन र कारोबारमा त्रुटि छ कि छैन भनेर हेर्ने काम आन्तरिक लेखापरीक्षणले गर्नु पर्नेमा उनको जोड छ । संस्थाको गुणस्तर कायम गर्न आन्तरिक लेखापरीक्षण गर्न आवश्यक रहेको उनको भनाई छ ।
लेखापरीक्षक र सञ्चालकबीच घ्यू सम्बन्ध हुन नहुने र केही मात्रामा भए पनि घर्षण आवश्यक रहेको उनले जनाए । संस्थाका कतिपय व्यवस्थापकले सफ्टवेयरको गलत प्रयोग गरेर अनाधिकृत नाफा लिने गरेको समेत भेटिएको उनले जनाए । सहकारी संस्थाले हाइरिक्स भएका र हरेक प्रडक्टका ५ वटा खाता जाँच गर्दा समस्या पत्ता लगाउन सक्ने उनले बताए ।
उक्त प्रस्तुतीकरणमा संघका कोषाध्यक्ष बसन्त मालीको अध्यक्षता रहेको थियो भने बागमती प्रोस्कुनकी उपाध्यक्ष कल्पना श्रेष्ठले कार्यपत्र माथी टिप्पणी गरेकी थिइन् । संस्थाका पदाधिकारी भएर हिड्ने तर सहकारी ऐन नियममा भएको कानुनी व्यवस्था ख्याल नगर्दा सहकाीकर्मीले ठगको सज्ञा खेप्नु परेको उनले बताइन् । आन्तरिक विधिहरु र प्रचलित कानुनमा के छ भन्ने विषयमा कोषाध्यक्ष सचेत हुनुपर्नेमा उनको जोड छ । वित्त व्यवस्थापनमा जहिले पनि कोषाध्यक्षको भूमिका महत्वपूर्ण हुनुपर्ने उनले बताइन् । आर्थिक बर्ष सकिएको ३ महिना भित्र अडिट गरि सक्नुपर्ने कानुनी व्यवस्था भएकाले लेखापरीक्षकले पनि समय अभावले हिसाब किताव राम्रोसँग जाँच नगरी रिपोर्ट तयार गर्दा त्रुटी भएको घटना सहकारीमा भेटिएको उनले बताइन् ।संस्थामा कम त्रुटी गराउन र नियतबस हुने वदमासीलाई रोक्न कोषाध्यक्ष चनाखो हुनुपर्नेमा उनको जोड छ ।
नेपालपत्र संवाददाता