पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले सहकारी सीमित भौगोलिक क्षेत्रमा आधारित हुनुपर्ने भए पनि सेवा केन्द्रको नाममा देशभर कार्यक्षेत्र लिएर कारोबार गर्दा समस्या आएको बताएका छन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको साकोस कोषाध्यक्षहरुको गोष्ठीमा विश्व अर्थ व्यवस्थाको चित्रण÷सहकारीमा पारेको प्रभाव र समाधानको विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले अर्थतन्त्रको व्यवस्थापकिय कम्जोरी र सहकारी क्षेत्रको आन्तरिक समस्याले सहकारी अभियान अप्ठ्यारोमा परेको बताए ।
‘सहकारीमा जस्तै गरी बैंकमा पनि पैसा फिर्ताको लागि ग्राहक लाइन लागे भने बैक पनि आजै ढल्छन्’उनले भने । बैंक सदस्यमा आधारित संस्था होइन र उसको पछाडि सपोट गर्ने निकाय छ तर सहकारीलाई छैन । सदस्यको विश्वास गुम्यो भने सहकारी ढल्ने हो,ग्राहकको विश्वास धरमरायो भने बैक डुब्ने हो । ’ सहकारीले पनि सदस्यलाई ग्राहक ठानेर व्यवहार गर्ने हो भने सहकारी र बैंक कुनै फरक नहुने उनको भनाई छ । वित्तीय जानकारी नराख्ने समाज र चेतनाको अभावले पनि सहकारीमा समस्या आएको खतिवडाले उल्लेख गरे । सामाजिक पुँजी निमार्ण गरी उत्पादनको साधनको रुपमा सहकारीलाई बढाउन आवश्यक रहेको उनको ठहर छ । सहकारी अभियानले चेलिबेटी बेचबिखन, मानब ओसारपसार,लागु पदार्थको कारोबार र हातहतियारको कारोबार बाहेक जे पनि गर्नहुन्छ भन्ने भाष्य विकास गरेकाले सहकारीमा समस्या आएको उनको भनाई छ । ति बाहेकका क्षेत्रमा लगानी गर्दा हुने रहेछ भन्ने गलत धारणाको विकास हुुँदा सहकारी अहिलेको समस्यामा फसेको उनले प्रष्ट पारे । आफु राष्ट्र बैंकको गभर्नर हुँदा घर जग्गाको समस्या भोगेको र समाधान पनि गरेर आएको भन्दै खतिवडाले विश्वमा आर्थिक संकट रियल स्टेटमा अधिक लगानी गर्दा नै आएको बताए ।
खासगरी यसियाली राष्ट्रहरुमा आएको आर्थिक संकटको मुख्य कारण घर जग्गा रहेको उनले जनाए । सदस्यको हित नखोज्ने र संस्थाको ब्यालेन्ससिट मात्र फुलेको सहकारी समाजले नखोजको उनले प्रष्ट पारे । उनले भने,‘ संस्थाको ब्यालेन्ससिटसँगै सदस्यको आर्थिकस्तर पनि माथी उठेको संस्था खोजिएको हो तर सञ्चालक मोटाउँदै जाने र सदस्य दुब्लाउँदै जाने अवस्था कसरी आयो।’सञ्चालकहरुलाई नाफा बढी चाहिएको भन्दै उनले १५ प्रतिशतले नपुगेर १८ प्रतिशत नाफा बाढ्न पाउने व्यवस्था ऐनमा गर्नु गलत भएके खतिवडाले बताए । नाफा मात्र कमाउने हो भने सहकारी सामाजिक व्यवसाय नहुने उनको भनाई छ । १८ प्रतिशत नाफा दिन्छौं भने हो भने किन छुट चाहियो भन्ने प्रश्न उनको छ । १५ प्रतिशत नाफा भए पुग्छ, त्यो भन्दा बढी नाफा चाहिए कम्पनी मोडलमा जान उनको सुझाव छ । राष्ट्र बैकले सहकारीको नियमन गरिदिए ईज्जत बढ्छ भन्नु गलत भएको भन्दै उनले सहकारी ईज्जत नभएको प्रणाली हो र भन्र्दै प्रतिप्रश्न गरे । सहकारी समाजिक व्यवसाय भएको र कतिपय अवस्थामा सदस्यको मुख हेरेर पनि लगानी गर्नु पर्ने भएकाले सय रुपैया तलमाथी हुँदा पनि राष्ट्र बैंकले समाउन सक्ने उनले प्रष्ट पारे ।
नेपालको ठुलो व्यापार भारतसँग जोडिएको र भारतमा मन्दी आउँदा त्यसको असर नेपालको अर्थतन्त्रमा समेत परको पूर्व अथमन्त्री खतिवडाले बताए । हरेक दश बर्षमा आर्थिक मन्दी आउन थालेकाले साबधानी अपनाएर आर्थिक कारोबार गर्न उनको आग्रह छ । बैंकका ग्राहकबीच चिनजान नहुने तर सहकारीमा एउटा सदस्यले अर्को सदस्यलाई चिन्ने र मैले पैसा झिकेर ल्याए है भन्ने बितिकै सदस्यहरु लाइन लाग्ने गरेकाले तरलता व्यवस्थापनमा समस्यामा भएको उनको भनाई छ । सहकारी संस्थाले सदस्यको आर्थिकस्तर वृद्धि हुने क्षेत्रमा मात्र लगानी गर्नु पर्नेमा उनको जोड छ । सदस्यले लिएको ऋणको सदुपयोगिताका बारेमा समेत संस्थाहरुले चनाखो भएर र्हेनुपर्ने र घर जग्गा जस्ता क्षेत्रमा लगानी कम गर्दै जानु पर्ने खतिवडाले बताए ।
नेपालपत्र संवाददाता