राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले व्यवस्थापन प्रमुखलाई नै कोषाध्यक्षको भूमिका दिने वा पदाधिकारीहरुलाई जिम्मेवार बनाएर जाने भन्ने विषयमा छलफल गर्न आवश्यक रहको बताए । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा धुलिखेलमा आजबाट सुरु भएको साकोष कोषाध्यक्ष गोष्ठीमा उनले कोषको गतल प्रयोगका कारण सहकारीमा समस्या आएको बताए । उनले संस्थागत सुशासनका लागि वित्तीय पारदर्शी कायम गर्न सके सहकारीको समस्या हल हुने बताए ।
अहिले ९० प्रतिशत सहकारीका सञ्चालकलाई चोरको सज्ञा दिएको गुनासो उप्रेतीको छ । गलत प्रचार गरेको कारण सहकारीमा समस्या बढरे गएको उनको भनाई छ । गलत गर्नेलाई कारवाही गनुपर्छ तर सबै सहकारीका सञ्चालकलाई एउटै दृष्टिकोणले हेर्न नहुने उनको धारणा छ । उनले भने, ‘अहिले संसदमा समेत सहकारीका विषय मात्र उठेको र सञ्चार माध्यमले पनि सहकारीले गलत गरेको भन्ने प्रचार गर्नु गलत हो । सहकारीको स पनि नलेख्ने ठुला मिडियाको मुख्य समचार नै अहिले सहकारी बनेको छ ।’ परिस्थितिका कारण समस्यामा परेका सहकारीलाई बचाउन सरकारले सकरात्मक वातावरण बनाउनु पर्नेमा उनको जोड छ । उनले थपे,‘ जुन संस्थाका सञ्चालकले सदस्यको बचत अपचल गरेका छन्,ती सहकारीलाई कानुनी कारवाही गर्नुपर्छ । तर अफवाहका कारण समस्यामा परेका सहकारीको संरक्षण सरकारले गर्नुपर्छ । सहकारीलाई सच्चिनका लागि पनि समय दिनुपर्छ ।’सहकारीको समस्यामा राज्यले अभिभावकको भूमिका नखेलको उनको गुनासो छ। सहुलियत ऋण दिन नसके पनि सहकारीको पक्षमा बोलिदिएर सहयोग गर्न सरकारसँग उनको माग छ ।
कार्यक्रममा काभ्रे बचत तथा ऋण सहकारी संघका अध्यक्ष उदयराम कायस्थले गोष्ठीको सफलताको शुभकामना व्यक्त गर्दै अहिले सहकारी अभियान्ता भन्न नै अप्ठ्यारो भएको बताए । सहकारीप्रति गलत भावना विकास भएको भन्दै उनले त्यसको समाधानका लागि सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने जनाए । मुलुकमा आएको आर्थिक मन्दीका कारण सहकारी अभियानलाई समस्यामा परेको भन्दै कायस्थले सहकारी शिक्षा तथा तालिमका माध्यमबाट सञ्चालक र सदस्यहरुलाई सहकारीको महत्पपुर्ण बुझाउने काम सुरु गरेको बताए । बनेपा नगरपालिकाको सहकार्यमा समस्याग्रस्त सहकारी संस्थाहरुको अनुगमन गरेको र ती संस्थाहरुलाई व्यवस्थित गराउन पहिलो चरणमा १ सय संस्थाका अध्यक्ष, कोषाध्यक्ष र लेखा समितिलाई तालिम दिएको उनले जानकारी दिए । संघले हरेक हप्ता संंस्थाका पदाधिकारी र विभिन्न समितिहरुलाई लक्षित गरी निःशुल्क तालिमको सुरु गरेको उनले जानकारी दिए ।
नेपालपत्र संवाददाता