सोमबार, कार्तिक १० गते २०८३

महासंघले सहकारीको यकिन तथ्याङ्क संकलन गर्ने

जेठ १८, २०८१ शुक्रबार
महासंघले सहकारीको यकिन तथ्याङ्क संकलन गर्ने

राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले महासंघले सहकारीको वास्तविक तथ्याङ्क संकलन गर्ने बताएकी छिन् । ललितपुर बचत संघको आयोजनामा सुरु भएको कोषाध्यक्ष गोष्ठीको विशेष अतिथिको रुपमा बोल्दै अहिलेको असहज कारणले कति संस्था बन्द भए र कति संस्था राम्रोसँग सञ्चालन भएका छन्, त्यसको यकिन तथ्याङ्क संकलन उनले  बताइन् ।

सदस्यले ५ लाखसम्मको बचत फिर्ता पाउने कुरा बजेटमा आउनु राम्रो पक्ष भएको उनको भनाई छ । सन् २०३० सम्म एकीकरण मार्फत ३० हजार सहकारीलाई १० हजारमा झार्ने लक्ष्य महासंघले लिएको र बजेटले पनि एकीकरणमा जाने संस्थालाई प्रोत्साहनको प्याकेज ल्याउने कुरा आउनु सकरात्मक भएको मल्लले बताइन् । सहकारीमा समस्या आउनुमा घर जग्गामा गरेको लगानी नै मुख्य हो कि अन्य कारण पनि रहेको छ भन्ने विषयमा अध्ययन गरेर सहकारीको वास्तविक समस्या पत्ता लगाउने उनले बताइन् ।

त्यसका साथै सातै प्रदेशमा सहकारी गोष्ठी गरेर सहकारीमैत्री वातावरण निमार्ण गरी स्थानीय अर्थतन्त्र निर्माणमा सहकारीले योगदान गर्नसक्छ भन्ने सन्देश दिने मल्लले जानकारी दिइन् । युवालाई सहकारीप्रति आकर्षित गर्न प्रविधि प्रयोग बढाउन आवश्यक रहेको उनको भनाई छ ।  बचत फिर्ता नपाएको भन्दै सदस्यहरु सडकमा पुगेका कारण सहकारीप्रति नकरात्मक भावना विकास भएको उनले जनाइन् । यस्ता गोष्ठीले अभियानलाई सुद्धिकरण गर्न सघाउनले उनको भनाई छ । सहकारीमा कोषाध्यक्षको गोष्ठी नयाँ भएको उनले बताइन् । सिकेका कुरालाई व्यवहारमा लागु गर्दै संस्थालाई राम्रो बनाउन सबै सहभागिलाई उनको आग्रह छ । कोषाध्यक्ष कोषको अध्यक्ष भएकाले आफ्नो भूमिकालाई बुझेर संस्थालाई सुशासनमा लैजान उनको सुझाव छ ।