बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले जनतामा सहकारीप्रति गलत धारणा विकास भएकाले त्यसलाई चिर्न सबै पक्ष लाग्नुपर्ने बताए । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा साकोस कोषाध्यक्षको गोष्ठी २०८१ को प्रमुख अतिथिको रुपमा बोल्दै सहकारीको समस्या समाधानमा इमान्दारिता आवश्यक रहको र त्यो भएन भने समस्या बढेर जाने उनको दावी छ । सहकारीप्रति सकरात्मक भावना विकास भएन भने त्यसको प्रभाव अर्थतन्त्रमा पर्ने उनले जनाए ।
अर्थतन्त्र धरासायी हुँदा त्यसको प्रभाव सबै क्षेत्रमा पर्ने भन्दै उनले समस्या समाधान गरेर जानुको विकल्प नरहेको बताए । बागमती प्रदेशमा ३२ सय सहकारी संस्था रहको र त्यस मध्ये ११ वटा सहकारी सिआईवीमा,२१६ सहकारी संस्था प्रहरीमा उजुरी परेको र ११५ संस्था आपसी छलफल र सल्लाहबाट समस्या समाधान उन्मुख रहेको उनको भनाई छ । १\२ प्रतिशत सहकारीमा समस्या आएको भए पनि त्यसको प्रभाव सिङ्गो अभियानमा परेको उनको बुझाई छ । केही ठुला सहकारीमा आएको समस्याले समग्र अभियानलाई नै समस्यामा पारेकोर सहकारीमा सबै क्षेत्र जोडिएकाले समस्या समाधानका लागि अभियानले साथ दिनुपर्ने बताए । सहकारीका समस्या समाधानमा आफु लागि परेको र धेरै सहकारीका सञ्चालकलाई भेटेर समस्या समाधानको लागि पहल गर्दै आएको उनले जानकारी दिए ।

सहकारीको प्रवद्र्धनका लागि आगामी बजेटमा ३ गुणा बजेट बढाउने गरी लागि परेको उनले सुनाए । सहकारीले गरेको ऋण लगानी उठेन भने सरकारले सघाउने भन्दै उनले सहकारीकर्मीले पनि सामुहिक हित खोज्नुपर्नेमा जोड दिए । कतिपय सहकारीले नाफा कमाउन घर जग्गा लगायतका अनुत्पादक क्षेत्रमा लगानी गर्दा पनि समस्या आएको उनले बताए । सहकारीका समस्या समाधानमा भन्दा पनि इन्टरनल नेगोेशनमा लागेका कारण समस्या समाधान हुन नसकेको उनले प्रष्ट पारे । सहकारीका समस्या समाधान फास्टट्रयाकमा गर्न मन्त्रालय अगाडि बढाएको उनले जानकारी दिए । सहकारीले उत्पादन र सेवाको क्षेत्रमा काम गरेको भए पनि त्यसको प्रचारप्रसारमा कमी भएको उनको भनाई छ । समुदाय र सदस्यको हितको लागि राम्रो काम गरेका सहकारीले गरेका राम्रा कुरा प्रचारप्रसार नहुँदा नकरात्मक भावना मात्र बढेको उनको भनाई छ ।
संघका अध्यक्ष रामहरी बजगाईको अध्यक्षतामा आजबाट सुरु भएको गोष्ठीमा सहकारी संस्थाहरुलाई व्यवस्थित र मर्यादित बनाउन कोषाध्यक्षको गोष्ठी आयोजना गरिएको बताए । कोषाध्यक्षहरुको काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराई संस्थाहरुलाई थप व्यवस्थित गर्न गोष्ठीले सघाउने उनको भनाई छ । संघका बरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले स्वागत मन्तव्य राख्दै कोषाध्यक्षको भूमिकाका बारेमा बृहत छलफल गरी सांकोस अभियानलाई व्यवस्थित गर्न सघाउने उदेश्यले गोष्ठीको आयोजना गरेको बताए । संस्थामा कोषाध्यक्षको भूमिका महत्वपुर्ण हुने भन्दै उनले संस्थागंत सुशासन कायम गर्दै सदस्यको बचतको सुरक्षाको प्रत्याभुति दिलाउन गोष्ठीले सघाउने विश्वास व्यक्त गरे । कार्यक्रमको सञ्चालन संघका सचिव श्याम महर्जनले गरेका थिए । गोष्ठीमा ललितपुरमा रहेका बचत तथा ऋण सहकारी संस्थाका ८० कोषाध्यक्ष सहित एक सय जनाको सहभागिता रहेको छ ।
नेपालपत्र संवाददाता