ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले यहि जेठ १८ र १९ गते साकोस कोषाध्यक्षहरुको गोष्ठी गर्न लागेको छ । सहकारी संस्थामा कोषाध्यक्षको के कस्तो भूमिका हुन्छ, संस्थामा कामकाजी कोषाध्यक्ष मात्र नभएर अहम् भूमिका निर्वाह गर्न सक्ने कोषाध्यक्ष हुनपर्छ भन्ने सन्देश दिनका लागि यो गोष्ठी गर्न लागेका हौं ।
जुन जुन संस्थाका कोषाध्यक्ष गोष्ठीमा सहभागी हनुहुनेछ, उहाँहरुले गोष्ठीबाट संस्थामा आफ्नो भूमिका यस्तो रहेछ भनेर पूर्ण रुपमा जानकारी पाउनुका साथै बचत तथा ऋणलाई कसरी परिचालन गर्नुपर्ने रहेछ भन्ने बारेमा पनि सिक्न सक्नुहुनेछ । यसर्थ सबै संस्थाका कोषाध्यक्षहरुलाई गोष्ठीमा सहभागी भएर आफ्नो काम, कर्तव्य र अधिकार के रहेछ भनेर जान्न, बुझ्न र सिक्न हाम्रो आग्रह छ । कतिपय संस्थाहरुमा अहिले नाम मात्रको कोषाध्यक्ष भएर काम गरिरहेका छन् । संस्थामा अध्यक्ष वा व्यवस्थापकले जहाँजहाँ हस्ताक्षर गर भन्छन् , त्यहाँ हस्ताक्षर गर्ने र साधारण सभामा कसैले लेखिदिएको प्रतिवेदन वाचन गर्ने भन्दा बढी भूमिका कोषाध्यक्षको पाईंदैन । यस्तो अवस्थामा सहकारी संस्थामा कोषाध्यक्षको भूमिका के हो भन्ने कुरा गोष्ठीले प्रष्ट पार्नेछ ।
त्यसैगरी सहकारी ऐन र नियमावलीमा भएको व्यवस्थालाई बुझेर सोही अनुरुप कोषाध्यक्षले भूमिका निर्वाह गर्न गोष्ठीले सहयोग पु¥याउने हाम्रो विश्वास छ । हामीले यस अघि अध्यक्षहरुको गोष्ठी गरिसकेका छौं । संस्थामा अध्यक्षहरुको भूमिका के के हुनसक्छ भनेर विभिन्न व्यक्तिबाट कार्यपत्र प्रस्ततु गर्नुका साथै गहन छलफल समेत गरेर मार्गप्रशस्त गर्ने काम गरेका थियौं । संस्थामा अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा सुपरीवेक्षण समिति हुन्छ । सबैले आ–आफ्नो भूमिका बुझ्नु भयो भने मात्र संस्थालाई राम्रोसँग अगाडि बढाउन सकिन्छ । अध्यक्ष र व्यवस्थापक मात्र राम्रो भएर संस्थालाई राम्रोसँग सञ्चालन गर्न सकिँदैन । संस्थालाई नीति, विधि र प्रविधिमा सञ्चालन गर्नको लागि सबै पदाधिकारीहरुको उत्तिकै भूमिका रहन्छ । सबै पदाधिकारीहरुलाई संस्थामा कसको भूमिका के हुन्छ भनेर बुझाउनका लागि एक–एक गरेर गोष्ठी गर्दै गएका हौंं । संघले सदस्य संस्थाहरुलाई सबल र सक्षम बनाउनको लागि विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको छ । जुन जुन संस्थाका सञ्चालक तथा व्यवस्थापकहरु तालिम तथा गोष्ठीमा सहभागि भएर सहकारी के हो भन्ने बुझेर संस्था सञ्चालन गरेका छन्, ति संस्थाहरु राम्रोसँग सञ्चालन भइराखेका छन् । ती संस्थाहरुमा तरलता लगायत अन्य कुनै समस्या देखिएको छैन । सदस्यहरुले विश्वास गरेका छन् र नियमित रुपमा कारोबार भइराखेको छ । तर जुन संस्थामा अध्यक्ष र एकाध सञ्चालकको हालीमुहाली छ ती संस्था अहिले समस्यामा परेका देखिएको छ । तसर्थ सबै पदाधिकारीहरुलाई सक्रिय बनाउन, संस्थालाई सुशासन र पारदर्शी रुपमा सञ्चालन गर्न टेवा पु¥याउन कोषाध्यक्षको गोष्ठी गर्न लागेका हौं । गोष्ठीमा सहभागी भएपछि कोषाध्यक्षहरुले अहिले गरिरहेको काम र साच्चिकै के काम गर्नु पर्ने रहेछ भनेर फरक थाहा गर्न सक्नुहुनेछ । गोष्ठीमा सहभागीले आफुले जानेका कुरा अरुलाई सिकाउने र नजानेको कुरा सिक्न लागि सहयोग मिल्नेछ ।
अहिले सहकारीमा समस्या आउनुको कारण सहकारी मुल्य, मान्यता र सिद्धान्त विपरित गएर एक जनाले संस्था सञ्चालन गर्दा हो । सहकारी ऐन नियममा के व्यवस्था छ, संस्था कसरी सञ्चालन गर्दा सफल हुन्छ र सदस्यको बचत सुरक्षित रुपमा परिचालन गर्न सकिन्छ भन्ने कुरालाई बिर्सेर अरुको देखासिखी गरेर संस्था सञ्चालन गर्दा समस्या आएको हो । ऐनले सञ्चालक, अध्यक्ष, कोषाध्यक्ष, लेखा समिति र व्यवस्थापकको लागि के कस्तो व्यवस्था गरेको छ भन्ने कुरा बुझेर संस्था सञ्चालन गरेको भए सायद सहकारी क्षेत्रमा यति धेरै समस्या आउने थिएन । अहिले समस्यामा परेका संस्थाका सञ्चालक र कोषाध्यक्षहरुले कसैले भनेको भरमा आफु त्यो पदमा बसेको र त्यहाँबाट बाहिरिन के गर्नुपर्छ भन्दै हामी कहाँ सोध्न आउने गरेका छन् । लहलहैमा भन्दा पनि आफनो काम, कर्तव्य र अधिकार बुझेर मात्र सहकारी संस्थाको पदाधिकारीमा बस्न म अनुरोध गर्छु । यस्ता गोष्ठीले आ–आफ्नो जिम्मेवारी बोध गर्न र संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्न थप टेवा पु¥याउँछ ।
बचत तथा सहकारी संस्थाको मुख्य काम वित्तीय कारोबार गर्ने हो । वित्तीय कारोबार गर्ने संस्था भएकाले कति शेयर पुँजी छ, कति बचत छ र त्यो बचत कहाँ र कसरी परिचालन भएको छ, कोष बाँडफाँडको अवस्था के छ, पल्र्स अनुसार संस्था सञ्चालन भएको छ कि छैन । यी सबै कुराको विश्लेषण कोषाध्यक्षले गर्न सक्नुपर्छ । त्यसैगरी संस्थामा कति आम्दानी र खर्च भएको छ । जगेडा कोषमा रकम छुट्याइएको छ कि छैन । संस्थाले दैनिक रुपमा कसरी कारोबार गरिराखेको छ भन्ने कुराका बारेमा कोषाध्यक्ष अपडेट हुनुपर्छ । संस्थाको कारोबार पल्र्स अनुसार छैन भने सञ्चालक समितिसँग छलफल गरेर सोही अनुसार कसरी मिलाउन सकिन्छ भनेर पहल गर्नुपर्ने हुन्छ । त्यसका लागि अल्पकालिन र मध्यकालिन योजनाहरु ल्याउनुपर्ने हुन्छ । यी सबै काम गर्न कोषाध्यक्षहरुसँग ज्ञान र सिपको अभाव हुनसक्छ । त्यसैले यी कुरालाई मध्यनजर गरेर हामीले साकोस कोषाध्यक्षहरुको गोष्ठी आयोजना गर्न लागेको हौं ।
पल्र्सको ज्ञान छैन भने कोषाध्यक्षले संस्थालाई कसरी राम्रो बनाउन सक्छन् ? जुन जुन संस्थाका पदाधिकारीहरुले आफ्नो भूमिका राम्रोसँग खेले, ती संस्था आज पनि राम्रोसँग सञ्चालन भइराखेका छन् । ठुला संस्थाले नीति नियम मिचेर आफ्नो फाइदाको लागि मात्र काम गर्दा समस्या आएको हो । साकोेस कोषाध्यक्ष गोष्ठीमा जो जति सहभागी हुनुहुनेछ उहाँहरुले धेरै नयाँ कुरा सिक्न सक्नुहुनेछ । गोष्ठीपछि संस्थालाई थप व्यवस्थित र वित्तीय अनुसाशनमा सञ्चालन गर्नको लागि सघाउ पुग्ने हाम्रो विश्वास छ । गोष्ठीमा सहभागी भएर संस्थामा के के परिर्वतन भयो भनेर त्यसको अनुगमन पनि हामी गर्छौं । संस्थामा के कस्ता परिर्वतन भए र परिर्वतन गर्न खोज्दा के कस्ता समस्या आए त्यसको पनि अध्ययन गर्छौ र आवश्यकता परे थप तालिम तथा सीप प्रदान गर्छौं । संघमा आवद्ध सदस्य संस्थाका कोषाध्यक्षहरुलाई गोष्ठीमा सहभागी भएर नयाँ विषयवस्तु र सीप सिकेर संस्थालाई सबल बनाउन लाग्न म अनुरोध गर्दछु ।