आइतबार, आश्विन १८ गते २०८३

काँग्रेसको आरोपः ‘सरकार सहकारीका ठग जोगाउने खेलमा लाग्यो’

जेठ ४, २०८१ शुक्रबार
काँग्रेसको आरोपः ‘सरकार सहकारीका ठग जोगाउने खेलमा लाग्यो’

 

नेपाली काँग्रेसको आज बसेको संसदीय दलको बैठकले सरकार सहकारीका ठग बचाउने कार्यमा लागेको आरोप लगाएको छ। सरकार सहकारी ठगीबाट पीडित भएका नागरिक प्रति गैरजिम्मेवार र संवेदनहिन हुँदैगएको उसले ठहर गरेको छ । सरकार र सत्ता पक्षलाई जनहित विरोधी यस्ता कार्यमा नलाग्न उसले चेतावनी दिएको छ । 

बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ ‘ लाखौं नेपाली नागरिकले सहकारी संस्थामा बचत गरेको अरबौं रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको र यस्ता अपराधजन्य कार्यमा नेपाल सरकारका उपप्रधान तथा गृह मन्त्री माननीय रवि लामिछाने संलग्न रहेको विषय निरन्तर उठिरहेको छ । सहकारीका बचतकर्ताहरुले राखेको रकमको सुरक्षाको ग्यारेण्टी गर्न, वचत हिनामिना भई पिडित भएका बचतकर्ताहरुको रकम फिर्ता गर्न र हिनामिना, ठगीमा संलग्न माथि छानविन गरी कारवाही गर्ने सुनश्चितताको लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने विषय नेपाली कांग्रेस सहित संघीय संसदमा धेरै दलहरुले उठाई रहेका छन् । यो विषय सम्पूर्ण नेपाली जनताको चासो र सरोकारको विषय भई संसद वाहिर पनि गम्भीर रुपले उठिरहेको छ । संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रुपले पुष्टी हुदै आएको छ । नेपाली कांग्रेस संसदीय दलको यो बैठक संसदीय छानविन समिति गठन गर्न पुनः जोडदार माग गर्दछ ।’

त्यसैगरी प्रतिनिधि सभामा २०८१ जेठ ३ गते घटेको घटनालाइ गम्भीरतापूर्वक हेरिरहेको जनाउँदै संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनु पर्नेमा जोड दिएको छ । प्रमुख सचेतक रमेश लेखकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर विरोध जनाउँदा पनि बैठक अवरुद्ध भएको मानिन्छ । सम्माननीय सभामुखले प्रमुख विपक्षी दल वेलमा नारा लगाउँदा र अन्य सवै विपक्षी दल उभिएर विरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको यो बैठक ठहर गर्दछ । संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनु पर्दछ । तटस्थताको लागि सभामुखले आफू निर्वाचित भएको दलसँगका सबै सम्बन्ध र पद समेत स्थगित गर्ने परम्परा रही आएको छ । सभामुख सिंगो सदनको सभामुख हुनु पर्दछ । तसर्थ नेपाली कांग्रेस संसदीय दलको यो बैठक सम्माननीय सभामुखलाई सभामा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरी संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासलाई कायम राख्न अनुरोध गर्दछ ।’