सोमबार, कार्तिक १० गते २०८३

‘सहकारीमै लामो समय बिताएँ, जसअपजस पनि अभियानबाटै लिन्छु ’ अध्यक्ष उप्रेती


बैशाख २५, २०८१ मंगलबार
‘सहकारीमै लामो समय बिताएँ, जसअपजस पनि अभियानबाटै लिन्छु ’  अध्यक्ष उप्रेती

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार भएको गुनासो गरेका छन् । नेफस्कूनले आयोजना गरेको लेखा समितिको दोस्रो राष्ट्रिय गोष्ठीमा बोल्दै उनले आफ्नो जीवनको महत्वपूर्ण समय सहकारीमै बिताएको र  जसअपजस पनि सहकारीबाटै लिने बताए ।

उनले सहकारीको समस्या समाधानका लागि काम गरिरहने धारणा राख्दै आफूमाथि राजनीति भएको पनि जानकारी गराए । उनले भने,‘ सहकारीमा राजनीतिकरण भयो, पार्टीभित्र पनि गुट उपगुट भयो र खुट्टा तान्ने काम गरे । यसले अभियानलाई फाइदा पुग्दैन । जीवन नै सहकारी अभियानमा बिताएकाले जसअपजस पनि अभियानबाटै लिन्छु ।’ ‘म उपचारका लागि भारत गएको थिएँ । तर, मलाई भागेको भनेर चर्चा भयो, जुन दुःखद हो,’ उनले गुनासो गर्दै भने ।

उनले  सहकारीको  समस्या समाधानका लागि सबैले पहल गर्नु पर्ने धारणा राखे । सरकारले सहकारी बचाउन एउटा कोष गठन गर्न सकेको भए यसले सदस्यमा सकरात्मक सन्देश दिने बताए ।  सरकारले कोष बनाएर सहकारीलाई सहयोग गर्यो,  सरकारले पनि सहयोग गर्ने रहेछ भन्ने  सकरात्मक सन्देश सदस्य माझ पुग्ने उनले धारणा राखे । सहकारीमा विश्वासको वातावरण सृजना गर्न राज्य र अभियानसँगै जानु पर्नेमा उनको जोड छ ।