सत्ता साझेदार प्रमुख दल ने.क.पा. एमालेले सहकारी संस्थाको बचत रकम अपचलनका गम्भीर अपराधलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याउन सरकारसँग माग गरेको छ । पार्टीको हालै सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद् बैठकबाट १४ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै एमालेले सहकारीका बचतकर्ताको रकम सुरक्षित फिर्ता गराउन माग गरेको हो ।
केहि सहकारी संस्थामा गम्भीर समस्या र बेथिति देखिएको भन्दै एमालेले बचतकर्ताको रकम सुरक्षितरूपमा फिर्ता गराउन र अपचलन गर्नेलाइ कानुनको कठघरामा उभ्याउन सरकार समक्ष माग गरेको हाे।
जनताले दुःख गरेर जम्मा गरेको अर्बौं रकम सीमित व्यक्तिले हिनामिना गरेर फरार हुने र बचतकर्ता सडकमा अलपत्र पर्ने स्थिति पैदा भएको, लघुवित्तका ऋणीहरू पनि समस्यामा परेका, मिटरब्याज पीडितका समस्या पनि पूर्ण रूपले समाधान नभएको प्रस्तावमा उल्लेख छ । सहकारीमा पैदा भएका यस प्रकारका गम्भीर समस्या र सर्वसाधारणको रकम अपचलनका गम्भीर अपराधलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा ल्याउन र बचतकर्ताको रकम सुरक्षित फिर्ता भनेको बैठकले माग गरेको छ।