भक्तपुर जिल्लामा चार वटै नगरमा एकै समयमा नगर प्रमुखहरुको प्रमुख अतिथ्यितामा नगरस्तरीय प्रभातफेरी कार्यक्रम सहित ६७ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । संघको नगर सहकारी समन्वय उपसमिति समतेको समन्वयमा मध्यपुर, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाहरुको आयोजनामा प्रभातफेरी सम्पन्न भएको हो । भक्तपुर नगरपालिकामा संघको नगर सहकारी समन्वय उपसमितिको आयोजनामा भक्तपुर नगरपालिकाको समन्वयमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले जनताले सहकारीलाई अपनत्व ग्रहण गरी समाज समुदायको विकासमा टेवा पु¥याएको बताए । तर केही सहकारीमा आएको समस्याले सहकारी क्षेत्रलाई बदनाम गरेको उनको भनाई थियो । सहकारीमा भ्रष्टाचार विरोधी आन्दोलन शुरु गर्ने भक्तपुर जिल्ला रहेको बताउदैं उनले तुलनात्मक रुपमा भक्तपुरको सहकारी राम्रो भएपनि केही सहकारीमा समस्या रहेकाले निरन्तर अनुगमन गर्दै आएको जनाए । उदाहरणीय हुनको लागि शिक्षा, स्वास्थ्य, कला सँस्कृती मात्र राम्रो भएर हुर्दैन समग्र सबै क्षेत्र उदाहरणीय हुुन आवश्यक भएकोले सहकारी क्षेत्र पनि उदाहरणीय हुनुपर्ने उनको भनाइ छ । उनले सहकारीसमेतको सहयोगले भक्तपुरमा अक्सिजन प्लान स्थापना भएको स्मरण गर्दै भक्तपुर नपाले निःशुल्क अक्सिजन र रगत उपलब्ध गराईरहेको बताए ।
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले २०१३ चैत्र २० गते चितवनको बखानपुर ऋण समिति दर्ता भएको दिनलाई आधारित भएर राष्ट्रिय सहकारी दिवस मनाउदैं आएको कु्रा बताउदै यस बर्ष ६७ औं राष्ट्रिय सहकारी दिवस “सहकारीमा सुशासनः प्रविधि र एकीकरण“ भन्ने नाराका साथ मनाइएको बताए । सहकारी सुशासनमा संचालनको प्रत्यभुती तथा प्रतिवद्ध गराई सहकारी प्रविधिका आधारमा संचालनमा जोड दिनुपर्ने उनको भनाई छ । संघले स्वभाभिक एकिकरणलाई समर्थन गर्दै आएको तर फोर्स मर्जले सहकारीको मर्म मर्ने भएकोले उक्त पक्षमा संघ नरहेको उनले जनाए ।
संघका सचिव एवं नगर सहकारी समन्वय उपसमितिका संयोजक जगनाथ प्रजापतिले स्वागत गर्दै सहकारी अभियान र नियमन निकाय फरक भएकोले सहकारी अभियानले गर्नुपर्ने काम अभियानबाट नै गर्न÷गराउन नियमन निकायले साथ सहयोग गर्नुपर्ने बताए । नियमक निकायले सहकारीमा ठग्नेलाई नियमन अनुसार कार्वाही गरी सदस्यको बचत रकम सुरक्षित गर्नुपर्नेमा उनको जोड छ । समाज विकासमा सहकारीले खेलेको भुमिकाको चर्चा गर्दै उनले हालको सहकारी समस्या समाधान गर्न नियमन निकाय गम्भिर भएर लाग्नुपर्ने बताए । प्रभातफेरी कार्यक्रमको संचालन उपसमितिका सदस्य राजन जतिले गर्नु भएको थियो । प्रभातफेरी कार्यक्रममा ७१ वटा संस्थाहरुबाट दुइ हजार भन्दा बढी सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।
नेपालपत्र संवाददाता